शुक्रबार, भाद्र १२, २०७७ || 499  पटक पढिएको

राष्ट्रियसभा सदस्य एवं राष्ट्रिय सरोकार समन्वय समितिका सदस्य शेखर सिंहले नदी नियन्त्रण तथा खेतीपातीका लागि सिँचाइको पूर्ण व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सप्तरीका विभिन्न नदीहरुको स्थलगत अवलोकन निरीक्षण पश्चात् सिंहले बर्सेनि बाढीजन्य प्रकोपका कारण भोग्दै आएको सप्तरीबासीको पीडालाई सम्बोधन गर्न पहल गर्ने बताएका हुन् ।

स्थलगत अवलोकन टोलीलाई सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम शर्मा र वडाध्यक्षहरुले नदीका कारण उत्पन्न समस्याका बारेमा जानकारी गराए । कमजोर तथा कम उचाइको बाँधको कारण त्रियुगा नदीको बाढीले सप्तकोशी नगरपालिकाको फत्तेपुर, बोचहीलगायतका पाँचभन्दा बढी वडाका बासिन्दालाई डुबाउने गरेको नगरप्रमुख शर्माले जानकारी दिए ।

सो क्रममा राष्ट्रियसभा सदस्य सिंहले कोशी क्षेत्रको जनताको पीडालाई आफूले संसद्मा उठाउँदै आएको र अझ बलियो ढङ्गले प्रस्तुत गरी सम्बोधन गराउन स्थलगत अवलोकन निरीक्षण अभियान सञ्चालन गरेको बताए ।

सप्तकोशी नदीका कारण उत्पन्न समस्याको समयमै भारत सरकारबाट सम्बोधन हुनुपर्ने जिकिर गर्दै सांसद सिंहले भारतको कुनौलीदेखि उदयपुरको बेलका नगरपालिकासम्मको कोशीको पश्चिमी तटबन्धलाई बलियो बनाउनुपर्ने आवश्यकतामाथि जोड दिए ।

सप्तरीको खाँडो, जिता, बलान, महुली, मुतनी, त्रियुगा, मयुरनी, बन्द्राहा, अमहा, गङ्गाजलीलगायतका दर्जनौँ खोलाले बर्सेनि बाढी तथा कटान गर्दै आएको छ । कोशी नदीका कारण पनि सप्तकोशी, कञ्चनरुप, हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिका प्रभावित बन्दै आएका छन् । हनुमाननगर कङ्कालिनी नगरपालिका, तिरहुत गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका बासिन्दालाई महुली खोलाले पनि प्रभावित बनाउँदै आएको छ । महुली खोलाले कटान गरेको क्षेत्रको समेत सांसद सिंहको टोलीले अवलोकन गरेको छ ।

अवलोकन निरीक्षण टोलीले सप्तकोशी नगरप्रमुख शर्मा, कञ्चनरुप नगरप्रमुख वसन्तकुमार मिश्र, तिरहुत गाउँपालिकाका अध्यक्ष मनोज बहडखेरसँग बाढीजन्य प्रकोप र त्यसबाट हुने गरेको क्षतिलगायतको बारेमा छलफल गरेको छ ।-रासस

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!