गोरखापत्रको एक सय २० वर्षको इतिहासले यसलाई पुष्टि गर्छ
नेपालमा पत्रकारिताको इतिहास लामो छ । गोरखापत्रको झण्डै एक सय २० वर्षको इतिहासले यसलाई सजिलै पुष्टि गर्छ । यति लामो इतिहास बोकेको नेपाली पत्रकारिताबारे टिप्पणी कस्नको लागि सम्बन्धित विषयमा दखल हुनुपर्छ र गहिरो अध्यनको आवश्यक्ता पनि उतिकै हुनु आवश्यक हुन्छ ।
यद्यपी कुनै विधाको सैद्धान्तिक इतरका पक्षबारे बुझ्न र टिप्पणी गर्न आम जीवनको भोगाई र पात्रहरुको व्यवहारिकतालाई नियाल्दा सहज हुन्छ । अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रलाई अभ्यासमा ल्याएको धेरै समय भएको छैन् । नेपालको संबिधानको परिकल्पना अनुसार नेपालमा नयाँ शासनव्यवस्था संचालनमा छ । राज्यको तीनवटै तहमा जनताको सरकार सक्रियपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।
व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका राज्यको प्रमुख तीन अङ्ग हुन् भने प्रेस जगत अर्थात पत्रकारिता जगतलाई व्यवहारतः चौथो अङ्गको रुपमा स्वीकार गरिएको छ ।
नेपालको संविधानमा कयौँ कमजोरी रहेपनि संविधानको प्रस्तावना मा स्वतन्त्र प्रेसलाई आत्मसात गर्नु गौरवको विषय रहेको छ ।
नेपालको संविधानले नै नागरिकको अधिकार र कर्तव्यबारे प्रस्ट पारेको छ । राज्यको चौथो अंगमा क्रियाशील पत्रकार पनि समान नागरिक हुन तिनको पृथक विशेषाधिकार हुँदैन तर पेशा, भूमिका र क्षेत्रका आधारमा आम नागरिकले पत्रकारलाई छुट्टै दर्जाको विशिस्ट नागरिक ठान्छन् । सायद पत्रकारको कार्यलाई लिएर नै होला नागरिकले तिनलाई सम्मान गर्छ । यही जनसम्मानलाई बुझेर या नबुझेर हामी कतिपय पत्रकार आफुलाई अरु भन्दा ठूलो, जान्ने विशिस्ट सर्वज्ञानीका रुपमा हेर्छौ, र ठूलो भुल गरिरहेका हुन्छौ । पत्रकार भएपछि विशेषाधिकार पाउनैपर्छ, देशको नीति नियमभन्दा माथि छु भन्ने जस्तो प्रवृत्ति चौथो अङ्गका कितपय सदस्यमा प्रकट भइरहेका छन् । यस्तो हुनु र सोच्नु अल्पज्ञान होला की ? आफ्नो मात्र नभएर सम्पूर्ण नागरिकको अधिकार रक्षाको लागि पहरेदारी र खबरदारी गर्ने सचेतक हो पत्रकार । आवाज विहीन नागरिकको आवाजलाई मुखरित गर्ने सचेत नागरिक हो पत्रकार ।यसरी देशको नागगरकको अधिकारप्रति सचेत रहँदै राज्यका अन्य तीनवटा अङ्गसंग जनतालाई जोडने पुलको काम गर्नु पनि पत्रकारको काम हो । यसैकारण पत्रकार विनयशील, अध्यनशील र सचेत हुनु अतिआवश्यक छ ।
हामीले हेक्का राख्नुपर्ने कुरा के हो भने अधिकारका साथै कर्तव्य जोडिएको हुन्छ । र यो आम नागरिक देखि हरेक ओहदामा बिराजमान व्यक्तिहरुको पक्षमा लागु हुनुपर्छ । पत्रकारिताको लामो गौरवपूणर् इतिहास पार गरेर यहाँसम्म आइपुग्दा पनि हामीले आफ्नो कर्तव्यप्रति सचेत भएका छौँ वा छैनौँ? राजनीतिक संस्था र तिनको नेताहरु सत्तामा रहँदा पत्रकारका कर्तव्यप्रति चासो राख्ने र फेरि तिनै संस्था र तिनको नेता विपक्षमा रहँदा अधिकारको मात्र वकालत गर्ने द्वैध चरित्र या परम्परागत मनोरोग यसको प्रमुख कारण हो की ?
नेपालको हरेक राजनीतिक परिवर्तनमा नेपाली पत्रकारको योगदान उच्च रहदै आएको सत्यतालाई कसैले गलत साबित गर्न सक्दैन, यत्न पनि गर्नु हुँदैन । परिवर्तनको बिभिन्न कालखण्डमा यथास्थितीवादी सत्ताले बिभिन्न मिडिया हाउस माथि गरेको ʹआक्रमण’ले के प्रमाणित गर्छ भने नेपाली पत्रकारीता जहिले पनि अग्रगमनको पक्षमा चट्टान झैँ उभिदै आएको छ । साथसाथै अर्को पाटो के पनि हो भने, केही पत्रकारले प्रतिगमनकारी शक्तिको पृष्ठपोषण गरी शक्तिकेन्द्रलाई आफ्नो प्रभावमा राख्ने गरेको पनि पाइएको छ । राजतन्त्र वा पंचायतको वकालतकर्ताको रुपमा प्रस्तुत भएका पत्रकार, लेखक साहित्यकार पनि हामीले आवश्य देखेको हुनुपर्छ । यस्तो हुनु अस्वभाविक पनि होईन । व्यक्तिगत मत र मान्यताको वकालत गर्ने छुट लोकतन्त्रमा सबैलाई हुन्छ र हुनुपनि पर्ने हो ।
पत्रकारीता क्षेत्र बाहिर रहेका हामी जस्ता मानिसको सामान्य बुझाइमा पत्रकारको परम धर्म भनेको समाजमा घटेका कुनै पनि घटनालाई तथ्यपरक ढंगले बाहिर ल्याउनु हो । राज्यको कुनै निकायमा वा राजनीतिक वृतमाअप्रत्याशित घटना हुँदा त्यसको तथ्यपरक अध्यन अनुशन्धान गरी आम नागरिकलाई सुचित गराउनु हो । समग्रमा भन्दा समाज र देशलाई जवाफदेही बनाउन पत्रकारको भूमिका अति महत्वपूर्ण हुन्छ । पत्रकार बिनाको समाज कल्पणा गर्दा स्थिती अँध्यारो लाग्छ ।
पत्रकारले तथ्यमा आधारित समाचार तयार गर्दा हरेक निकायले त्यसलाई गम्भिरतासाथ लिने गर्छ नै । तर पत्रकारले कुनै विषयमा न्यायशिले फैसला सुनाए झै “जजमेन्टल” बन्नु हुँदैन । हरेक प्रकृतिको मुद्दामा कानुनी प्रक्रिया अगाडी बढाउने निकाय हुन्छ । हरेक को आफ्नो कानुनी दायित्व हुन्छ ।
समाचारलाई हतारको साहित्य भनिन्छ । तर पत्रकार हतारको साहित्यकार बन्नु उचित नहोला की ? पत्रकारिता एक संबेदनशिल विधा हो । यसको संबेदनशिलतालाई सहजरुपमा लिनु हुँदैन । संबेदनशिलतामा थोरै पनि चुक भयो भने अर्थको अनर्थ लाग्न सक्छ । अहिले परिवर्तित परिवेशमा ʹअनलाईन पोर्टल’हरु च्याउ जस्तै उम्रिएको छ । यो खासमा अतिनै सकारात्मक आयाम हो । मिडीयाको आकार फैलिनु लोकतान्त्रिक समाजलाई चित्रित गर्छ । तर पत्रकारितामा देखिएको प्रतिशपर्धाको होडवाजीले गर्दा यसले बिभिन्न प्रकारको बेथितीलाई समेत निम्त्याएको अवस्थालाई नकार्न मिल्दैन । कतिपय बेला जिउँदै मानिसको मृत्युको घोषणा मिडीयामा भएकै हो । फितलो अनुशन्धानकै भरमा कसैलाई भ्रष्ट साबित गर्न तल्लिन देखिएको छ पत्रकारीता, जुनकी दुर्भाग्य हो ।
देशमा वर्षैको संघर्ष र बलिदानीबाट संघियता आएको बिदितै छ । संघियतालाई नरुचाउने शक्तिहरु पनि छन्, राजनीतिक दल र पत्रकारीता जगत मा ।देशमा संघियता आएता देखि नै यसका कमजोर पक्षलाई देखाउँदै संघियतामाथि प्रहार जारी छ । नावालिग अवस्थामा रहेको संघीयता माथि नै प्रहार गर्नु देशको संबिधानमाथि प्रहार गर्नु हो भने सत्यताप्रति कसरी अबुझ हुनसक्छन् कोही ?
संकुचित अधिकार सहितको संघियतालाई अहिले गोँडमेल गर्नुपर्ने बेला हो । आफ्नो क्षेत्राधिकार अनुसार प्रदेशहरुले आफ्नो प्रस्तुती देखाइ नै रहेको छ । अभ्यास नयाँ भएको कारण सामान्य भूलचुक हुनु अस्वभाविक होइन् । यदाकदा कुनै पक्षबाट कुनै किसिमको अनियमित्ता भएको हुनसक्छ । त्यसलाई पत्रकारले उजागर गर्नु समयको परम माग हो । यसले हरेकलाई सुधारको अवसर दिन्छ । तर भूलवस भएको कुनै गल्तीको कारण बलिदानी बाट ल्याइएको परिवर्तन र संघिय व्यवस्थालाई नै बदनामीको भूमरीमा धकेल्ने प्रयाशलाई किमार्थ स्वाभिवक भन्न सकिन्न । कुनै अमुक दलसंगको सामिप्यताको कारण या संघियता बिरोधी मानसिकता बोकेका कलमबाजहरुले आफ्नो कलमको मसीमा कुनै पूर्वाग्रही मसीकाे गन्ध त छैन् ?
लेखक यादव जनता समाजवादी पार्टी नेपालका नेता हुन् ।