नेपालको सर्वांगिण विकासमा त्यसमा पनि मुख्यरुपले उद्योग र व्यापारको क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउंदै आएको मारवाडी समाज आफ्नो विविधताले भरिएको रंगिचंगी संस्कृतीका लागि प्रख्यात रहेको छ । वर्षभरी प्रत्येक महिना कुनै न कुनै धार्मिक व्रत त्यौंहार मनाउने यस जातिको विशिष्ट सांस्कृतिक उत्सव ” गणगौर ” एउटा महत्वपूर्ण धार्मिक पर्व रहेको छ ।
नेपालको सुदुर पश्चिममा परापूर्वकालदेखी मनाउंदै आइएको गौरा पर्व र गणगौर दुवैमा गौरां अर्थात पार्वतीको पूजाको प्रधानता रहेकोले दुवै पर्वमा निकै सामिप्यता र समानता रहेको कुरा निम्न बुंदाहरुबाट स्पष्ट हुन्छ ।
आस्थाको केन्द्रमा शिव पार्वती
गौरा सुदुर पश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व हो । गौरा पर्वमा शिव र गौरीको पूजाअर्चना गरिन्छ । त्यस्तै गणगौर मारवाडी समाजको महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व हो । यस पर्वमा माता पार्वती र शंकर भगवानको पूजा गरिन्छ । शंकरलाई ईशर तथा पार्वतीलाई गौर भनेर पूजा गरिन्छ । ईशर गौर अर्थात शंकर पार्वती सँग बिहे नगरेकी कन्याहरुले राम्रो पतिको कामना गर्छिन् त्यस्तै बिहे गरेकी महिलाहरु आफ्ना पतिको सुस्वास्थ्य दीर्घायु अर्थात आफ्नो अटल सौभाग्यको कामना गर्दछिन्।
प्रतिमा (मूर्ति) बनाउनमा समानता
गौरापर्वमा सामूहिकरूपमा महिलाहरू धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमा (मूर्ति) बनाई गौराघरमा भित्र्याउँछिन् । गणगौर पर्वमा कुमारी र नवविवाहित मारवाडी महिलाहरु कुमाले कहाँ गीत गाउँदै गएर माटो ल्याएर मूर्तिहरु बनाउन्छिन् । ती बनाइने पाँच मूर्तीहरु इसर, गौरां, कानीराम, रोवां र मालणी को हुन्छ । “इसर” शंकर भगवान र “गौरां” माँ पार्वती हुन्। कानीराम इसरजी को भाइ र रोंवा इशरजीकी बहिनी हुन। उनीहरु संगै मालण ( मालिनी) को पूजा हुन्छ ।
पूजन विधीमा समानता
गौरा पर्वमा गहुँ, केराउ, गहत, मास र गुराँस मिसाएर तामाका भाँडामा भिजाईने अन्नको समिश्रणलाई बिरुडा भन्ने गरिन्छ । महिलाहरुले गौरा पर्व सुरु भएको दोस्रो दिन भोली पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामुहिक रुपमा बिरुडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन छ । त्यस्तै शिव पार्वतीलाई विशेष सम्मान समर्पित गर्न “बिन्दोरा” को रूपमा पूजा हुन्छ । जसमा चना र गहूंलाई रातभरी पानीमा राखेर पछि उमालेर चिनी मिसाएर बनाएको प्रसादी जसलाई “घुघरी” भनिन्छको प्रसाद अर्पित गरिन्छ संगै काँचो आटामा घ्यु चिनी मिसाएर बनाइएको प्रसादी जसलाई ” मोइ” भनिन्छ अर्पित गरिन्छ ।
पानी पँधेरोको महत्व
गौरा पर्वमा पानी पंधौरामा जानुनै पर्छ । त्यस्तै गणगौरमा पनि पानी खुवाउन चेलीबेटीहरु पहिले गाउंभरिका सबै कुवांमा पुग्छिन र त्यहींको पानी इशर गौरालाई खुवाउँछिन् ।
हरियो दुबोको अनिवार्यता
गौरा पर्वमा गौरा देवीलाई नजिकको मठ–मन्दिरमा भित्रयाएर पुजा–अर्चना गरी महिलाहरुले दुबधागो चढाउने गर्छन । अष्टमीका दिन त्यहि दुबधागो अभिषेक गरेर घाँटीमा लगाएर देवीको पुजा गर्ने परम्परा रहेको छ । महिलाले लगाउने दुबिधागोको र पुरुषले लगाउने जनैको जस्तै महत्व रहेको छ । गणगौरपर्वमा पनि हरियो दुबो चढाउन अनिवार्य छ । हरियी दुबो न भै गणगौरको पूजा असम्भव छ । आइतवार बाहेक प्रत्येक दिन दुबोको दातुन चढाउनु नै पर्छ । बिहानै नुहाइ धुवाइ केटीहरु हरियो दुबो ल्याउन बगैचामा गएर मालीलाई गीत सुनाइ आग्रह गरेर बाडी बगैँचा बाट हातभरी पोको पारेर समूहगत रुपमा दुबो संकलन गरेर ल्याउंछिन् । त्यसका लागि मालीलाई दुबो दिन अनुरोध गर्न मिठो गीत नै गाइन्छ । ” बाडीवाला बाडी खोल छोर्यां आई दूब नै” मीठा लोकगीत सुनाउने प्रचलन ।
गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरु छुट्टाछुट्टै रुपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् । त्यस्तै चैत्र कृष्ण प्रतिपदा देखि चैत्र शुक्ला तीज सम्म मनाइने यो पर्वमा प्रत्येक दिन बिहानै महिलाहरुले गणगौर मातालाई मीठा मीठा गीत सुनाउँछिन् ।
अमावस्या पछि को तीन दिन महिलाहरुलाई विभिन्न भेटी दिएर राम्रो राम्रो पकवान खुवाएर लुगा दिएर माया स्नेह दिंदै ” सिंधारा” गरिन्छ । हांसो ठट्यौली गरिंदै नाचगान गरि रमाइलो गरिन्छ । गणगौरका बखतका यी सुनौला पलहरु प्रत्येक मारवाडी महिला जीवन पर्यन्त आफ्नो सम्झनामा राखेकी हुन्छिन् । माइतीघरको बाल्यकालका यी क्षणहरुलाई सम्झदै आँखाहरु खुसीले स्वत: रसाउँछन ।
प्रतिमा विसर्जन
गौरापर्वमा अनुकूल तिथि हेरी पूजा विसर्जन गरिन्छ । त्यस्तै गणगौर प्रतिमाहरुलाई पनि नजिकको नदी तलाउ कुवाँमा लगेर विसर्जन गर्ने गरिन्छ । यसरी गौरां र गणगौर एउटै आस्था विश्वस श्रद्धाको पूजा रहेको प्रष्ट हुन्छ । हामी सबै एकार्काका धार्मिक पर्व त्यौंहार एकापसमा मिलेर सुन्दर नेपालको सृजना शृंगारमा सामाजिक सद्भावको वृद्धिमा सहयोगी बनौं यही समयको मांग पनि छ ।
आज नेपालका विभिन्न गाउँ सहरमा बसेका मारवाडीहरु आफ्नो संस्कृतीका प्रति पूर्ण सचेत रहेर आफ्ना सबै व्रत त्यौंहारहरु स्थानीय सबै जातजाती समूदाय संग मिलेर मनाइ आफ्नो संस्कृती को जगेर्ना गर्न दत्तचित भै लागिपरेका छन् । हामी सबैलाई गौरां माताले आफ्नो संस्कृती प्रति समर्पित रहने प्रेरणा देवोस यही प्रार्थना गर्दै आफ्नो लेखनीलाई विश्राम दिंदैछु ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!