अस्ट्रेलियामा कोरोना भाइरस (कोभिड–१९) का कारण रोजगार गुमाउनेमध्ये ६० प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थी रहेको एक अध्ययनले देखाएको छ । सिड्नीस्थित युनियन एनएसडब्लूले मार्चदेखि मेसम्मको तीन महिना लगाएर गरेको एक अध्ययनमा ६५ प्रतिशतले वर्तमान समस्याका कारण जागिर गुमाएका देखिएको छ । तीमध्ये ६० प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थी रहेको एनएसडब्लूले जनाएको छ ।
करिब ३४ प्रतिशत घरबारविहीन भएका र २३ प्रतिशतले घरभाडा तिर्न नसकेका कारण अर्कैसँग घर सेयर गरेर बस्न बाध्य भएका सर्वेक्षणलाई उल्लेख गर्दै स्थानीय समाचारमाध्यमले जनाएका छन् । यसैगरी ४६ प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीले खर्च नभएका कारण नियमित रूपमा खाने खाना छाड्नुपरेको बताइएको छ ।
अध्ययनमा नेपाली विद्यार्थीको तथ्यांक उल्लेख नगरिएको भए पनि नेपाली दूतावास र एनआरएनएले हजारौं विद्यार्थीले रोजगारी गुमाएको र आर्थिक समस्यामा रहेको बताएका छन् । निमित्त अध्यागमन मन्त्री एलन टजले स्थानीय सञ्चारमाध्यम एसबीएसलाई अस्थायी भिसामा यहाँ आएकाले आफ्नो खर्च आफैं धान्न सक्ने विश्वास रहेको बताएका छन् ।
यद्यपि उनीहरूलाई आफ्नो सुपरएनुएसन झिक्न दिने व्यवस्था मिलाएको र भिसा प्रक्रिया सहज बनाएको प्रतिक्रिया दिएका छन् । ‘हाम्रो मुख्य प्राथमिकता नागरिक र स्थायी बासिन्दा हुन्,’ उनले भनेका छन् । मेलबर्नको एक क्याफेमा काम गर्दै आएकी नेपाली विद्यार्थी रश्मिता आलेले केही साताअघि जागिर गुमाइन् । सरकारले एकपटकलाई दिने १ हजार ५ सय सहयोग पाए पनि उनले त्यसबाहेक कुनै सहयोग पाउन सकेकी छैनन् ।यसैगरी, केही दिनअघि दक्षिण अस्ट्रेलियाको एडिलेडमा नेपाली विद्यार्थी आफ्नै घरको ग्यारेजमा मृत फेला परे । उनको शवलाई नेपाल पठाउन र उनका परिवारलाई सहयोग पुर्याइरहेका एनआरएनका पदाधिकारीका अनुसार उनले कोरोना भाइरसका कारण सिर्जित समस्याका कारण जागिरसमेत गुमाएका थिए ।
एनआरएनए अस्ट्रेलियाका अनुसार भाइरसको समस्याका कारण अहिलेसम्म करिब ३ हजार विद्यार्थीले संस्थाबाट वितरण गरिएको सुविधा लिइसकेका छन् । जसमध्ये जागिर गुमाएका विद्यार्थीको संख्या उल्लेख्य छ । एनआरएनए अस्ट्रेलियाका महासचिव डा. ज्ञानेन्द्र रेग्मीले अहिले भिक्टोरियामा सबैभन्दा बढी नेपाली विद्यार्थी प्रभावित भएको बताएका छन् ।
‘हामीसँग कति विद्यार्थीले जागिर गुमाए भन्ने यथार्थ तथ्यांक नभए पनि १० हजाभन्दा बढी नेपाली विद्यार्थीले जागिर गुमाएको अनुमान छ ।’ उनले भिक्टोरियामा केही साताअघिदेखि देखिएको दोस्रो वेभले सामान्य हुन लागिरहेको जनजीवनलाई प्रत्यक्ष असर गरेकाले समेत सबैभन्दा धेरै विद्यार्थी मारमा परेको बताउँछन् । रेग्मीले कर्फ्युका कारण सहयोग सहज रूपले पुर्याउन नसकिएकामा एनआरएन र स्थानीय समुदायको सहकार्यमा करिब एक महिनासम्म पुग्ने ग्रोसरीको खर्च अनलाइनमार्फत दिने व्यवस्था मिलाइएको जानकारी दिए ।
समस्यामा रहेका विद्यार्थीले फोन, इमेल र सामाजिक सञ्जालमार्फत दूतावासलाई सहयोगको आग्रह गर्ने गरेका भए पनि दूतावासले कुनै सहयोग पुर्याउन सकेको छैन । क्यानबेरास्थित नेपाली दूतावासकी उपनियोग प्रमुख द्रुपदा सापकोटाले मुख्य गरेर आवास र जागिरको समस्या देखाउँदै विद्यार्थीले सम्पर्क गर्ने गरेको बताइन् ।