हिपमत डटकम
बिर्तामोड,२६ पौष : डेराको साघुँरो कोठा । तीन जनाको परिवार अट्न मुस्किल । भित्र ठाउँ नभएपछि ७० वर्षीय बयोवृद्ध टंकप्रसाद चौधरी बरन्डामा सुत्छन् । ओढ्ने, ओछ्याउने गतिलो छैन । पुसको चिसोले चौधरीको कम्मरको बिराम झन बढेको छ । दैनिक औषधि नखाई हुँदैन । आम्दानीको स्रोत छैन । आफ्नो नाममा एक धुर जमिन छैन ।

बुढेसकालमा कमाएर खुवाउने छोरा पनि छैन । ‘झापा विद्रोह’ मा ९ वर्ष ३ महिना कठोर जेल जीवन बिताएका टंकप्रसाद हाल बिर्तामोड नगरपालिका ४ मा एउटा सानो कोठामा कष्टले दिन बिताइरहेका छन् ।

श्रीमतीले दुई–चार गाउँ डुलेर साग–सब्जी किनेर ल्याउँछिन् अनि नजिकैको बिर्ता बजारमा बेच्छिन् । त्यो आम्दानीले तेल–नुन किन्न सघाउ पुग्छ । कान्छी छोरी सन्ध्यावतीले मिस्त्री काम गरेर चामल र डेराभाडा धानेकी छन् ।
०२८ सालको झापा विद्रोहकै अर्का योद्धा केपी शर्मा ओली मुलुकको प्रधानमन्त्री बनेका छन् । सीपी मैनालीसहितका कैयन् नेता मन्त्री, सांसद बने । उनीहरूले श्रीमती, छोरा–छोरी र आफन्तहरूलाई समेत सांसद तथा राज्यको उच्च ओहोदामा पुर्‍याए । तर, टंकप्रसादसँग शिर लुकाउने छानो छैन । जेल बसेर आएको हुँ भनेर उनले कुनै नेतासँग सहयोग पनि मागेनन् । चुपचाप बसे ।जसरी जीवन चल्यो, चलाए ।

२३ वर्षका लक्का जवान थिए, टंकप्रसाद । विवाह गरेको एक वर्ष पुग्दै थियो । ०२९ मंसिर महिना थियो । उनी बुबा रामदुलालसँगै खेतमा धान काटिरहेका थिए । अचानक हतियारसहित आएका प्रहरीले बुबाछोरालाई नै नियन्त्रणमा लिए । गाडीमा हालेर चन्द्रगढी पुर्‍याए ।

चन्द्रगढीमा प्रहरीले यातना दिंदै कबुल गराउन थालेपछि मात्रै टंकप्रसादले थाहा पाए, ‘कम्युनिस्ट पार्टी’ मा लागेको भनेर गिरफ्तार गरिएको रहेछ । ‘हामीले हात जोडेर अनुनयविनय गर्‍यौं । कुनै पार्टीमा नलागेको भन्यौं,’ टंकप्रसादले भने, ‘प्रहरीले हाम्रो कुरा सुन्दै सुनेन । उल्टै हामीलाई थाहा छ भन्दै यातना दिएरहे ।’ विपन्न परिवारका
उनीहरू मालिकको खेत अधियाँ गर्थे ।

गिरफ्तारीको एक वर्षसम्म चन्द्रगढीमा चरम यातना दिइएको उनले सुनाए । ‘पाइतलामा घाउ नै घाउ भएको थियो । शरीरमा चोट नलागेको ठाउँ थिएन,’ उनले भने, ‘खुर्सानी–पानी नाकमा हालेर कुट्थ्यो । हातका औंलामा सियोले घोच्थ्यो ।’

एक वर्षसम्म चरम यातनापछि चौधरी बुबाछोरालाई वीरगन्ज कारागार चलान गरियो । जीवनको ऊर्जाशील उमेर कारागारको चिसो छिँडीमा बिताएका टंकप्रसादलाई कुनै कम्युनिस्ट नेताले खोजीगरेनन् । हालत सोध्न गएनन् ।
‘जेल बसेको ९ वर्ष ३ महिनापछि तिमीहरू निर्दोष रहेछौ भनेर हामी बाबुछोरालाई छोड्यो,’ मंगलबार बिर्तामोड नगरपालिका कार्यालयमा भेटिएका उनले विगत सम्झिए । फर्किएर तत्कालीन गरामनी गाविस–८ नडियाबारी आइपुग्दा घरमा पत्नी थिइनन् ।

गाउँको परिवेश फेरिएको थियो । तर उनले गाउँ छोडेनन् । ज्याला–मजदुरी गरेर जीवन चलाए । जेलमुक्त भएको तीन वर्षपछि बुबा बिते । एक्लो बनेका उनले बौरीदेवीसँग दोस्रो विवाह गरे । दुई छोरीका बुबा टंकप्रसादले
जीवनभरि पैसा कमाएर एउटा टहरासम्म उभ्याउन सकेनन् । अहिले बस्दै आएको कोठाको मासिक १२ सय रुपैयाँ तिर्नुपर्छ ।

कम्युनिस्ट आन्दोलनमा कठोर जेल जीवन बिताएको भन्दै टंकप्रसादलाई नेकपा, बिर्तामोडका स्थानीय कार्यकर्ता विदुरप्रसाद तिवारी (भक्ति) ले साढे ५ धुर जमिन निःशुल्क दिएका छन् । उनले टंकप्रसादलाई जग्गाधनी पुर्जा नै दिइसके । उक्त जमिनमा बिर्तामोड नगरपालिकाले घर निर्माण गरिदिन लागेको मेयर ध्रुवकुमार सिवाकोटीले जानकारी दिए । कान्तिपुर दैनिकमा अर्जुन राजवंशीले यो समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!