बिहिबार, पौष २४, २०७६ || 1686  पटक पढिएको

-भूमिका पाख्रिन
कुनै समय दैनिक प्रयोगमा आउने जाँतो हाल प्रयोग विहीन बन्दै गएको पाइन्छ । वर्तमान समयमा ग्रामिण एवम् विकट क्षेत्रमा मात्रै प्रयोगमा आइरहेको जाँतो सहरीकरणको प्रभाव भनौ वा प्रविधिको विकास संगसंगै लोप हुने क्रममा छ । जाँतोबाट नै नामाकरण भएको भनिने मोरङको साविक जाँते गाविसमा हाल संसार कै सबै भन्दा ठुलो जाँतो निर्माणको अन्तिम चरणमा पुगेको छ । हाल लेटाङ नगरपालिका वडा नं. ९ मा पर्ने साविकको जाँते गाविस त्यसो त गाँउ पञ्चायत हुँदा पनि अस्तित्व मै रहेको थियो । राज्य पुनर्संचनाका क्रममा जाँते गाविसका केही भु–भाग मिक्लाजुङ गाँउपालिका र बाँकी सम्पुर्ण भु–भाग लेटाङ नगरपालिकामा समाहित भएपछि जाँतेको नाम लोप हुने अवस्थामा आइपुगेको थियो । पहाडको फेदीमा रहेको जाँते देशको प्रमुख राजमार्गबाट ८ किलोमिटर मात्रै उत्तर तर्फ भएपनि विकासमा भनेजति फड्को मार्न सकेको छैन । साविक जाँते गाविसका अध्यक्ष उपेन्द्र प्रसाद घिमिरे हाल प्रदेश सांसद छन् । घिमिरे कै पहलमा हाल पथरी जाँते ज्यामिरे सडकखण्डको शिलन्यासको काम भइसकेको हुँदा विकासको क्रम अगाडि बढेको स्पष्ट छ । उक्त सडकखण्ड सम्पन्न भएपछि जाँते र जाँते आसपासका क्षेत्रले मुहार फेर्ने पक्का छ । त्यसो त सडक मात्र नभई विद्युत, पानी, शिक्षा, स्वास्थ्यका क्षेत्रमापनि कामहरु तीब्र गतिमा भई नै रहेका छन् । देशको प्रमुख राजमार्ग स्थित पथरीबाट जाँतेको प्रवेशद्वारमै जाँतो निर्माण भइरहेको छ । सांसद घिमिरे कै पहलमा प्रदेश सरकारले जाँतो निर्माणमा १० लाख रकम विनियोजन गरेको छ भने स्थानीयहरुबाट करीब ४ लाख बराबरको जनश्रमदान प्राप्त भएको हो । करीब १५ धुर क्षेत्रफलमा फैलिएको जाँतो बनाइएको क्षेत्रमा पार्क शैलीमा निर्माणको क्रममा छ । पार्क भित्र ५ फिट गोलाईको जाँतो निर्माण गरिएको छ । जाँतोको तल पटिको ढुङ्गा डेढ फिट उचाईको र माथिल्लो घुम्ने भाग पटिको ढुङ्गा ३ फिटको रहेको छ । जाँतो घुमाउन प्रयोग हुने काठको हातो निर्माण हुने क्रममा छ भने जाँतोमा ५ किलो फलामको मानी रहेको वडाध्यक्ष कृष्ण लुईटेल बताउछन् । त्यसो त जाँतो तत्कालीन समयमा अत्यन्तै प्रयोगमा आउनेमात्र नभई जाँतो विना मानिसको दैनिकी नै नचल्ने हुँदा जाँते नाम रहन गएको कथन बुढापाकाले गर्ने गरेको वडाध्यक्ष लुईटेल बताछन् । त्यसैगरी लेटाङको वडा नं. ८ मा पर्ने ज्यामिरे डाँडाबाट जाँतो आकारको देखिने भएकाले नै जाँते नामाकरण भएको कथन पनि सुनिने गरेको वडाध्यक्ष लुईटेलको भनाई छ । हाल पार्क भित्र रंगरोगन गर्ने काम धमाधम भइरहेको छ । त्यसैगरी पार्कलाई सजिसजाउ गर्न घेराबारा गर्ने, फूलहरु लगाउने काम पनि तीब्र रुपमा अगाडि बढेको छ । वि.सं. २०७५ चैतबाट निर्माण थालिएको जाँतो केही दिन भित्रै उद्घाटन गर्ने लक्ष्य साथ काम तीब्र गतिमा भइरहेको लुईटेल बताउछन् । साविकको जाँते गाविस हालको लेटाङ नगरपालिका ८÷ ९ भए पछि जाँतेले आफ्नो पहिचान गुमाउने क्रममा रहेको थियो । जाँतेमा जाँतो निर्माण सम्पन्न भएपछि जाँतेको पहिचान र अस्तित्व कायम रहनेमा लेटाङ नगर उपप्रमुख कृष्ण कुमारी पोखरेल निरौला आशा व्यक्त गर्छिन् । नेपाल भ्रमण वर्ष २०२० मा नेपाल सरकारले २० लाख र प्रदेश १ सरकारले ५ लाख पर्यटक भित्राउने लक्ष्य लिएको छ । राजमार्गबाट नजिकको दुरीमा हुनुका साथै यातायातको सुविधा पनि भएकाले प्रदेश १ मा घुम्नका लागी हालको लेटाङ ८ र ९ साविकको जाँते गाविस पनि उपयुक्त गन्तब्य हुन सक्ने उपप्रमुख पोखरेल बताउछिन् । संसार कै सबैभन्दा ठुलो जाँतो हेर्न मात्र हैन, तेली खोला, मोरङ्गी खोलाका आकर्षक पुलहरु र आसपासका झोलुङ्गे पुलहरु, कोलुङ झरना, धार्मिक पर्यटनको उच्चतम नमुना हेर्नका लागी पनि जाँते उपयुक्त हुने पोखरेलको तर्क छ । त्यति मात्र हैन, अत्यन्तै सुन्दर प्राकृतिक दृश्यावलोकन गर्नको लागी पनि जाँते एक आकर्षक गन्तब्य हुनेमा कुनै दुई मत छैन । जाँतो आसपास हिन्दू, बौद्ध, ईसाई, किराँत लगायत विभिन्न धर्मावलम्बीका आ–आफ्ना जातीय÷धार्मिक मूल्य मान्यता अनुसारका मठ मन्दिर, गुम्बा, चर्चहरु छन् । जसले गर्दा जाँतेमा धार्मिक पर्यटनको विकास हुने पनि स्पष्टै छ । प्रविधिको विकासले गर्दा हाम्रा दैनिक जीवनयापनका कतिपय अति आवश्यकताका सामाग्रीहरु आजका हाम्रा पुस्ताहरुले नदेखेका पनि हुन सक्छन् । संसारकै ठुलो जाँतो अब हेर्न जाँते जाने पो हो की ?

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!