बिहिबार, पौष २४, २०७६ || 2005  पटक पढिएको

हिपमत डटकम
भूमिका पाख्रिन
लेटाङ,पौष २४ :टमाटर खेती बाटै पनि लाखौ आम्दानी हुन्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर उत्तरी मोरङको लेटाङ नगरपालिका वडा नं. ९ जाँतेका कृषकहरुले यसलाई प्रमाणित गरिदिएका छन् । मोरङको लेटाङ नगरपालिका वडा नं. ९ जाँतेमा वि.सं. २०६५ सालमा सोही क्षेत्रका महिलाहरुको पहलमा स्थापित उत्तरी मोरङ कृषि सहकारी संस्थाले स्थानीय स्तरमा हाल रोजगारीको प्रशस्त सिर्जना गरिदिएको छ । स्थापनाको १० वर्ष वित्दा सहकारीमा आवद्ध किसानहरुले कृषि पेशाबाट सन्तुष्टी मात्र प्राप्त गरेका छैनन्, पारिवारिक आर्थिक अवस्था समेत फेरिएको बताउछन् । आफ्नो परिवारलाई पुग्ने टमाटर लगाउने बारीमा हाल व्यवसायिक रुपमा टमाटर उत्पादन हुन थालेको छ । एक थुकी सुकी, हजार थुकी नदि भन्ने उखानलाई उत्तरी मोरङ कृषि सहकारी संस्थाका सेयर सदस्यहरुले प्रमाणित गरिदिएका छन् भन्दा फरक नपर्ला । कृषि पेशाबाट व्यवसायिक रुपमै तरकारी खेतीबाट मनग्ये आम्दानी गर्न थालेपछि हाल कृषकहरु पनि हर्षित छन् । विशेष गरी टमाटर खेतीलाई प्रमुख प्राथमिकता दिने गरेका यहाँका स्थानीय कृषकहरुले काउली, बोडी, सिमी लगायतका तरकारीहरु समेत उब्जाउने गरेका छन् । सहकारीमा आबद्ध कृषकहरुले यति बेला टमाटर उब्जाउने मात्र हैन, सहकारीले बजार व्यवस्थापनको चाँजोपाँजो समेत मिलाइदिदा अहिले टमाटरले राम्रो बजार पाएसँगै उचित मुल्य पाँउदा कृषकहरु खुसी छन् । सहकारीले आफ्ना सेयर सदस्यहरुलाई विउ विजन प्रदान गर्ने, तालिम दिने मात्र नभई बजारको समेत व्यवस्था गरेपछि कृषकहरु ढुक्क साथ टमाटर उत्पादनमा होमिएका हुन् । त्यसो त कृषक घनश्याम खतिवडा यति बेला आफ्नो जग्गामा मात्र हैन, जग्गा लिजमा लिएर समेत टमाटर खेती मै आफ्नो सम्पूर्ण समय खर्चिरहेका छन् । खतिवडा भन्छन् – “वर्षौसम्म साउदीमा पसिना बगाएर पनि परिवार पाल्न धौ धौ भएपछि गाँउ फर्किएको थिएँ, परिवारले गर्दै आएको पुरानै पेशा कृषि तर्फ नै होमिए । तर सहकारीमा आवद्ध भएसँगै अहिले मेरो आर्थिक अवस्था फेरिएको मात्र छैन, परिवार सँगै बस्न पाएको छु । मेहेनत त गर्नु पर्छ नै तर विदेशमा भन्दा त स्वर्ग छ ।” सहकारीको साथ पाएपछि न त बजारको डर छ, न त अन्य मै । टनेलको व्यवस्था, ट्याक्टर, कृषि औजार, उपकरण मात्र हैन सिचाईको सुविधा भए अझ व्यवसाय गर्न सहज हुनेमा दुइ मत छैन । धान र मकै लगाउने बारीमा खासै उब्जनी नभएर हैरान भएका यहाका कृषकहरु सहकारीले आफ्नो पेशालाई थप फराकिलो पार्दै आम्दानी बढाउन समेत सहयोग गरेको अर्का कृषक गोपाल अधिकारी बताउछन् । स्थानीय युवा निर्मल बोहोराले आफु सहकारीमा आवद्ध भएसँगै २ वर्ष मै आफुले टमाटर खेतीबाट मनग्गे आम्दानी गर्न थालेको बताउछन् । १ विगाहमा फैलिएको उनको टमाटर खेतीले हाल ८ लाख रुपैया नगद आम्दानी गरिसकेको छ भने अझै आम्दानी भई नै रहेको छ । “हिजो पकेट खर्च जुटाउन बुवालाई १÷२ सय माग्नु पर्ने अवस्था थियो, अहिले घर खर्च जुटाउन बुवालाई म आर्थिक सहयोग गर्छु ।” उनी गर्व साथ सुनाउछन् । लगभग साढे तीन सय सेयर सदस्य रहेको यस सहकारीका कृषकहरुले हाल करीब डेढ सय विगाह क्षेत्रफलमा टमाटर खेती लगाइ रहेका छन् ।

साथै कुराकानीका क्रममा लेटाङ नगर उपप्रमुख कृष्ण कुमारी पोखरेल निरौलाले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत जिल्ला कृषि कार्यालयबाट २०७३ सालमा ३ वर्षे तरकारी पकेट कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा विउ विजन, टनेल, स्प्रे मेसिन लगायत विभिन्न सामाग्री उक्त सहकारीका सेयर सदस्य किसानहरुलाई वितरण गरिएको बताइन् । तरकारी पकेट कार्यक्रम ३ वर्षसम्म सञ्चालन भइसकेकोमा हाल ब्लकको कार्यक्रम सञ्चालन गर्न सके यहाँका किसानहरुलाई अत्यन्तै फाइदा पुग्ने उपप्रमुख पोखरेलको भनाई छ । साथै किसानको माटो परीक्षणसमेत नभएकाले उक्त समस्याको समाधान गर्न नगर प्रतिवद्ध रहेको पोखरेलले बताइन् । विदेश पलायन हुने युवा पुस्ता मात्र हैन, स्वदेशमा कमाउन सकिदैन भन्ने हरेक मानिसलाई यहाँका युवाहरुले गतिलो उदाहरण पेश गरेको वडाध्यक्ष कृष्ण लुइटेल बताउछन् । त्यसो त वडाले कृषकहरुलाई थप सहजता प्रदान गर्न जैविक मलका लागी अनुदान समेत दिएको लुइटेलको भनाई छ । आखिर कडा मेहेनत, काम प्रति लगनशील र थोरै मात्र ज्ञान हुने हो भने कृषिबाटै पनि राम्रै आम्दानी हुने पक्का छ । सम्बन्धित सबै पक्षबाट अथवा सरकारी निकायहरुबाट उचित सरंक्षण सम्वद्र्धन हुने हो भने कृषिमा सम्भावना प्रशस्त छ भन्ने कुरा जाँतेका कृषकले प्रमाणित गरिदिएका छन् । यस सहकारीमा आवद्ध किसानले आफुहरुमात्रै आम्दानी गरेका छैनन्, अरुलाई पनि बाटो देखाइदिएका छन् । टमाटर बाटै मासिक लाखौ आम्दानी हुन्छ, आखिर गरे के हुन्न र ?

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!