बुधबार, साउन ०७, २०७७ || 772  पटक पढिएको

मौखिक युध्दविराम भङ्ग गर्दै शनिबार नेकपाका दुई अध्यक्ष सचिवालय बैठकमा एकै स्वरसहित उपस्थित हुँदाको तरङ्गस्वरुप आइतबार बिहान खुमलटारमा बसेको बैठकमा चार जनाको मात्र उपस्थिति रह्यो । पूर्वगृहमन्त्री वामदेव गौतम र वर्तमान गृहमन्त्री रामबहादुर थापा ‘बादल’ भने दुई ‘टार’ मध्ये बालुवाटारलाई जिस्क्याइरहने मुडमा नगएकै देखियो ।

गौतमका अनुसार यसबेला प्रधानमन्त्रीलाई हटाउँदा भारतीय दलालको बिल्ला भिर्नुपर्ने अवस्था आयो । अर्कोतिर कोरोना र बाढी–पहिरोको महामारी पनि भएकाले केही समय रोकिनु बुद्धिमानी हुने उनको तर्क छ । गौतमले भनेका छन्, ‘अलि पछि त नहटाई हुँदैन । अहिले नै हटाउनु त्यत्ति उपयुक्त देखिएन ।’ उनले प्रचण्डले सहमतिचाहिँ नगरेको तर विगतको अडानबाट एक कदम पछाडि हटेको स्वीकारेका छन् ।

प्रचण्डको सबैभन्दा ठूलो आशा भनेकै आगामी दिनमा चुनावी सरकारको नेतृत्व गर्नु देखिन्छ । पछिल्लो दिनको अडान पार्टीभित्र अर्को समूहको भरथेगमा आधारित थियो । पूर्वमाओवादीका कतिपय प्रभावशालीहरूले साथ छाड्दै गएको अवस्थामा आफूले आड पाइरहेको समूहलाई नै धोका दिएर उधारो कारोबार गरेको आशंकाले यसबीच राम्रै घर गरेको पाइन्छ ।

प्रचण्डले ‘सुगरकोटेड’ भाषामा जे भने पनि विकसित पछिल्लो घटनाक्रमले माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठको विश्वासमाथि निर्मम प्रहार भएकै हो । यसअघि पार्टी एकीकरणदेखि प्रदेश प्रमुख, प्रादेशिक मन्त्री र विभिन्न नियुक्तिमा माधव नेपाललाई देखाउँदै अवसर प्राप्त भएकै हो । गत मंसिरमा पूर्वएमालेकै जोडबलमा कार्यकारी अध्यक्षको जिम्मेवारी मिलेको पनि हो । दुई अध्यक्षले स्थायी समितिको बैठक रोकेर झण्डै ‘कागजी तमसुक’ समेत मिलाइसकेको अवस्थामा शीतलनिवासबाट व्यक्त ‘सबैजना मिलेर जानुस्’ भन्ने धारणा सतही औपचारिकता मात्रै थियो भनेर विश्लेषण हुन थालेको छ ।

नेकपाको संसदीय दल, सचिवालय, स्थायी र केन्द्रीय समिति सबैतिर प्रचण्डको बहुमतको टेको पूर्वएमालेकै एक खेमासँग कार्यगत एकताको प्रतिफल हो भन्ने जगजाहेर नै छ । उहाँका लागि ती सबै कमिटीमा आफूसँग नजिक भनिएकाहरूले भन्दा माधव नेपाल निकटहरूले आवाज बुलन्द पार्दै आएका थिए । हिजो जनयुद्धको समयदेखि कुम जोडेर हिँडेकाहरूले आज मन्त्री बनेपछि ‘फ्लाइङ म्यारिज’ गरेका छन् । घनिष्ट र विश्वासपात्रहरूले समेत साथ छाड्न थालेको पनि देखिएकै हो ।

यतिखेर आएर प्रचण्डले किन कोल्टो फेर्नुभयो होला ? गोकुल बाँस्कोटाकै पालामा भागबण्डाबाट स्याटेलाइट र सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको काम गर्न खोजिएकै थियो ।

उता, नेकपाको विवाद मिलाउने नाममा केही दिनपछि मन्त्रिमण्डल पुनर्गठन र राष्ट्रिय सभामा रिक्त एक जना सांसद मनोनीतको काम हुनसक्ने बताइएको छ । तर, यो विषय सहायक प्रयोग मात्र हो । पार्टीभित्र विवादको चुरो झन् भुसको आगो बनेर अघि बढ्ने निश्चित छ ।

प्रचण्डको कोमल हृदयका कारण अन्ततः पूर्वएमालेलाई नै ढिलो–चाँडो एउटै कित्तामा ल्याउन मार्गप्रशस्त गर्ने आशंका छ । पार्टीभित्रको पछिल्लो विवादसँगै ओली, नेपाल र झलनाथले प्रचण्डलाई भित्रैबाट चिन्ने मौका पाउनुभएको बताइन्छ । यसबाट आगामी महाधिवेशनसम्म पुग्दा प्रचण्ड समूह स्वतः अरु बढी खिइने खतरा पनि उत्तिकै छ !

– राजकुमार राय

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!