तनहुँमा आएको बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । एक जना अझै बेपत्ता छन् । पहिरोमा परी आइतबारदेखि बेपत्ता रहेका व्यास नगरपालिका–११ ओडारेका ५२ वर्षीय पदमबहादुर भुजेलको शव मंगलबार दिउँसो भेटिएसँगै मृतकको संख्या बढेको हो ।
पहिरो डोजरले हटाएपछि मंगलबार दिउँसो ४ बजेतिर भुजेलको शव भेटिएको जिल्ला प्रहरी जिल्ला प्रहरी कार्यालयका उपरीक्षक अरुण पौडेलले जानकारी दिए । यस्तै, घर माथिबाट आएको पहिरोले पुरिएका व्यास–९ माझफाँटका २० वर्षीय राजेश थापा भने अझै बेपत्ता छन् । उनको खोजी भइरहेको प्रहरी उपरीक्षक पौडेलले बताए ।
पहिरोमा व्यास–९ माझफाँटका ७० वर्षीया मैतकुमारी घर्ती, माझफाँटका एकै परिवारका ४० वर्षीया कमला थापा, उनका छोरा २४ वर्षीय मनोज, २१ वर्षीया बुहारी अन्जना थापाको शव सोमबार नै भेटिएको थियो । त्यस्तै म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडाकी १७ वर्षीया लक्ष्मी बिकको उपचारका क्रममा मृत्यु भएको छ ।
रिसिङ गाउँपालिका–८ भैंसीलिकेमा पहिरोमा पुरिएर अनबहादुर थापाको परिवारका ५ जनाको मृत्यु भएको छ । घाइतेहरुको पोखरास्थित गण्डकी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।