सोमबार, आषाढ २९, २०७७ || 911  पटक पढिएको

भविष्यमा नेपालले हिमताल विष्फोटबाट हुने विपत्ति बारम्बार भोग्नुपर्ने हुनसक्छ । यसको कारण हो– जलवायु परिवर्तन । पृथ्वीको तापक्रम बढिरहेको छ, जसले गर्दा उच्च हिमाली क्षेत्रमा विगतमा भन्दा धेरै हिउँ पग्लँदै छ । हिउँ धेरै पग्लनु भनेको हिमतालको संख्या बढ्नु हो । यति मात्र होइन, हिउँ धेरै पग्लँदा अहिलेका हिमतालको आकार पनि बढ्दै जान्छ ।

६ खतरनाक ताल

नेपालमा दुई हजार तीन सय २३ वटा हिमताल छ । ती मध्ये २१ वटा ताल फुट्ने खतरा छ । इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड) का अनुसार नेपालमा २१ मध्ये पनि ६ वटा ताल कति बेला फुट्छ, कसैले भन्न सक्दैन । अत्यन्तै जोखिमपूर्ण अवस्थामा छ ।

दोलखाको च्छो रोल्पा, सोलुखुम्बुको इम्जा र रुकुमको ठुलागी, मकालुमा रहेका चामलाङ, वरुण, लुम्दिङ हिमताल विष्फोटको जोखिममा रहँदै आएको छ । यीमध्ये इम्जा हिमतालको पानीको सतह नेपाली सेनाले घटाएको छ भने च्छो रोल्पाको पानीको सतह पनि सरकारी निकायहरु मिलेर घटाएका छन् ।

नेपालले हिमतालबाट हुने बाढी धेरै भोगेको छ । जलवायु परिवर्तनले गर्दा हिमतालहरु बढ्ने क्रम निरन्तर छ । विगत ६० बर्ष यता नेपालका उच्च हिमाली भेगमा रहेका हिमनदीहरु पग्लनाले हिमतालको संख्या बढिरहेको छ ।

हिन्दुकुश हिमालय (अफगानिस्तान, बंगलादेश, भुटान, म्यानमार, नेपाल र पाकिस्तान) क्षेत्रमा आठ हजार ७९० वटा हिमताल रहेको इसिमोडको अध्ययनले देखाएको छ । तीमध्ये दुई सय तीनवटा हिमताल विष्फोट हुने खतरामा रहेको भनी पहिचान गरिएको छ ।

तिब्बतमा हुने हिमताल विष्फोटको सिकार पनि नेपाल हुने गरेको छ ।

सुनकोशीको त्यो बाढी

सन् १९३५ मा सुनकोशी नदीमा ठूलो वाढी आएको थियो । पछि थाहा भयो– हिमताल विष्फोटका कारण वाढी आएको रहेछ । त्यसयता नेपालमा १४ वटा हिमताल विष्फोट भएर बाढी (ग्लफ) आएको छ । नेपालले भोगेको हिमताल विष्फोटको पीडा यति मात्र होइन ।

१९६४ मा भोटेकोशीमा र १९८१ मा सुनकोशीमा आएको बाढीले चीन जोड्ने अरनिको राजमार्ग २७ किलोमिटर भत्कायो । १९८१ मा पाँचजना मानिस मारिए, ४१ घर बगायो, दुईटा पूल भत्कायो । करिब चार मिलियन डलर (त्यसबेलाको मूल्यमा) को क्षति भयो । त्यो विपत पछाडि हिमताल विष्फोट जिम्मेवार थियो ।

तिब्बतमा भएका दस वटा हिमताल विष्फोटको असर नेपालले भोगेको छ ।

यसरी हुन्छ विष्फोट

नेपालमा सन् १९३५ बाट हिमताल विष्फोटको वैज्ञानिक रेकर्ड राख्न थालिएको हो ।

वास्तवमा हिमताल विष्फोट भनेको ताल भत्कनु हो । निरन्तर हिउँँ पग्लिएर पानी बढ्दै जाँदा बाँधको किनारमा दवाब बढ्छ र भत्कन सक्छ ।

हाम्रो हिमाली क्षेत्र ग्रेग्रान (खुकुलो ढुंगा माटो)ले बनेको छ । निरन्तर हिउँँले गर्दा माटो खुकुलो बन्दै जान्छ । त्यस्तो ठाउँमा ताल बन्न लायक भूभाग तयार हुन्छ । हिउँँ पग्लिएर पानी बन्छ, पोखरी बन्छ । हिमताल भन्दा माथिको भागको हिउँँ पग्लँदा बगेर आएको पानी तालमा थपिन्छ । तालको आकार बढ्दै जान्छ ।

भिरालो हिमाली क्षेत्रमा बन्ने त्यस्तो तालको एक भाग पहाडी भित्तातर्फ हुन्छ भने अर्काे भाग भिरालो तर्फ हुन्छ । भिरालो तर्फ रहेको तालको किनार पानीको दवाबले भत्कन सक्छ । यसलाई नै हिमताल विष्फोट भनिन्छ ।

हिमताल विष्फोट भनिए पनि हिउँँ भएको बेला ताल भत्कँदैन । वर्षायाममा हिउँँ पग्लन्छ र पानीको तालमा परिणत हुन्छ हिमताल । हिउँँदमा हिउँँ जम्छ । त्यसैले हिउँँदमा ताल विष्फोट हुँदैन । तर, वर्षा याममा भने पानीले किनारमा दवाब सिर्जना गर्छ र भत्काउन सक्छ । अर्काे कारण– वर्षा याममा माथिल्लो भूभागबाट पानी बगेर तालमा थुप्रंँदा तालको किनारमा उच्च दवाब सिर्जना हुन्छ र ताल भत्कन सक्छ ।

जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम बढ्दा हिउँ नपग्लनुपर्ने उच्च हिमाली भेगमा पनि हिउँ पग्लन थालेको छ । जसका कारण तलका हिमतालमा वर्षायाममा पानीको मात्र बढ्छ ।

हिमताल विष्फोटको अर्काे कारण हो– पहिरो । हिमतालमा माथिबाट ठूलाठूला चट्टान र ढिस्को खस्न सक्छ । जसले गर्दा पानी तिब्र गतिमा छछल्कन्छ र किनार भत्काइदिन्छ । त्यसैगरी माथिल्लो भेगबाट हिम पहिरो आएर ताललाई विथोल्छ । फलस्वरुप तालको किनार भत्कन सक्छ ।

विगतका विपत्ति

कास्कीमा २०१२ मा सेती नदीमा अचानक वाढी आयो । वाढी आउनुपर्ने गरी पानी परेकै थिएन । कसरी आयो वाढी ? वाढी सामान्य थिएन । सेती नदीको खोंच भरिने गरी र फाँटलाई तहसनहस पार्ने गरी आएको वाढीले ३१ जनाको ज्यान लियो ।

माछापुछ्रे हिमाल आसपास हिमपहिरो गएको र त्यसको प्रवाहले तलका हिउँ बगाउँदै ल्याउनाले सो वाढी सिर्जना भएको निष्कर्ष निकालियो ।

कास्कीले भोगेको यो विपत्ति नयाँ थिएन ।

आजको पोखरा उपत्यकाले चार सय ५० वर्ष अघि ठूलो विपत्ति भोगेको थियो । त्यसबेला सेती नदीमा अकल्पनीय वाढी आएको थियो । इसिमोडको एक अध्ययनले चार सय ५० वर्ष अघि आएको त्यो भयानक वाढी पत्ता लगाएको हो ।

चारसय ५० वर्षपछि पनि प्रमाण फेला पर्नेगरी आएको त्यो वाढी निश्चय पनि विनाशकारी थियो भन्न सकिन्छ ।

त्यसपछि पनि पटक–पटक नेपालमा हिमताल विष्फोट भएको अनुमान गर्न सकिन्छ तर, आधिकारिक प्रमाण पाउन सकिएको छैन । च्छो रोल्पा नजिकै रहेको छुवुङ ताल १९९१ मा भत्कँदा रोलवालिङ उपत्यकामा रहेको वेदिङ गाउमा क्षति पुगेको थियो । सन् २०१६ जुनमा हिमताल फुटेर भोटेकोशीमा ठूलो वाढी आएको थियो । हिमताल फुटेको थियो तिब्बतमा ।

डिग च्छोले खोलेको आँखा

हिमताल विष्फोट कति विनाशकारी हुनसक्छ भन्ने नेपालीले भोगेको सन् १९८५ मा हो । त्यसबेला सोलुखुम्बुमा डिग च्छो हिमतालको किनार भत्कियो । किनार भत्कँदा तालको पानी एकमुष्ट बाहिर निस्कियो । फलस्वरुप ताल तलको भागमा अचानक बाढी आयो ।

डिग च्छोका कारण आएको वाढीमा चार जनाको ज्यान गयो । त्यसले सोलुखुम्बुलाई तहसनहस बनाइदियो । जिल्लाका १४ वटा पुल भत्कायो, केही जलविद्युत आयोजना ध्वस्त भए । ठूलो भौतिक क्षति भयो । त्यसबेलाको मूल्यमा एक दशमलव पाँच मिलियन डलर बराबरको भौतिक क्षति भएको विवरण गृह मन्त्रालयले संकलन गरेको थियो ।

क्षति ठूलो थियो । त्यो घटनापछि हिमताल विष्फोटको खतराप्रति नेपाल सचेत बन्यो र सरकारले ठोस कदम चाल्न सुरु गर्यो ।

अर्थात्, डिग च्छो विष्फोटले हिमतालको जोखिमप्रति नेपालको आँखा खोलिदियो ।

खुल्न बाँकी आँखा

डिग च्छोले नेपालको आँखा खोलिदियो तर खुल्न बाँकी कुरा धेरै छ । हिमताल हाम्रा लागि रहस्यको चिज भएको छ । नेपालमा हिमताल सम्वन्धमा पर्याप्त अध्ययन भइसकेको छैन । निर्जन भूगोलमा हिमताल हुने भएकाले पनि हामी हिमतालसँग कम परिचित छौं । आगामी दिनमा हिमतालको जोखिम बढ्दै जाने निश्चित छ । माथि नै लेखियो, जलवायु परिवर्तनका कारण हिमताल जोखिमपूर्ण बन्दै गइरहेको छ र आगामी दिनमा झन चुनौतीपूर्ण बन्नेछ । हिमतालका बारेमा हामीले जान्न धेरै बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!