आइतबार, आषाढ २१, २०७७ || 812  पटक पढिएको

आफूलाई हटाउन बहुमत-अल्पमतको जोड घटाउ तीव्र भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ सबै मन्त्रीलाई बालुवाटार डाकेर सोधे, ‘तपाईंमध्ये को-को मेरो नेतृत्वमा विश्वास गर्नुहुन्छ ? को-को गर्नुहुन्न ? अहिल्यै जवाफ दिइरहनु पर्दैन। मैले सोधेको बेला भने हुन्छ। तर, मेरो नेतृत्वमा विश्वास नगर्नेले जहाँ मन लाग्छ, जानुहोला।’

अध्यक्ष र प्रधानमन्त्री दुवैबाट राजीनामा नदिने अडान ओलीले मन्त्रीहरूमाझ पनि दोहोर्‍याए। राष्ट्रियता र कम्युनिस्ट आन्दोलन कमजोर पार्ने गरी आफूले अहिले कुनै पनि हालतमा राजीनामा नदिने उनको भनाइ थियो। ‘राष्ट्रपतिमाथि पनि महाभियोग लगाउने तयारी भएको कुरा आएको छ’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै मन्त्री रामेश्वर राय यादवले भने, ‘विकास, ऐतिहासिक उपलब्धि र स्थिरता विरोधी शक्ति सक्रिय भएका छन्। तिनलाई निस्तेज पार्नु अहिलेको मेरो आवश्यकता हो।’

ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवैबाट हटाउन स्थायी समितिका बहुमत लागेपछि नेकपा एकता संकटमा परेको छ। एकीकरणको २६ महिनामै पार्टी फुटको संघारमा पुगेको छ।

‘राष्ट्रियता र कम्युनिस्ट आन्दोलनमाथि नै अहिले धावा बोल्ने काम भइरहेको छ। गाह्रो छ अहिलेको अवस्था। राष्ट्रियता र कम्युनिस्ट आन्दोलन जोगिन्छ भने मैले राजीनामा दिने हो। अहिले त दुवै कमजोर अवस्थामा छन्। यस्तो बेला मैले आफ्नो दायित्वबाट भाग्न मिल्दैन। म राजीनामा दिन्नँ, प्रतिवाद गर्छु’ प्रधानमन्त्री ओलीले भने।

समसामायिक राजनीतिक घटनाक्रमका विषयमा जानकारी दिन आफूले मन्त्रीहरूलाई बालुवाटार बोलाएको भन्दै आफ्नो सम्बोधन सुरु गरेका प्रधानमन्त्री ओलीले पार्टी एकता कठिन मोडमा पुगेको र त्यसले स्थितिलाई अत्यन्तै नाजुक बनाएको बताएका थिए। ‘स्थिति अब कस्तो हुन्छ, के हुन्छ भन्न गाह्रो हुने भयो। मैले मात्र चाहेर पार्टी अब एक रहन सक्ने स्थिति रहेन।’

प्रधानमन्त्रीले आफू र राष्ट्रपतिका विरुद्धसमेत षड्यन्त्रहरू भइरहेको बताएका थिए। ‘मेराविरुद्ध षड्यन्त्र भएको छ। म मात्र होइन, सम्मानित राष्ट्रपतिविरुद्ध पनि महाअभियोग लगाउने जस्ता कुरा आइरहेको छ। कानुनी परामर्श लिएरै कतिपय साथीहरू लागेको देखिएको छ। त्यस्तो अवस्थामा मैले पनि कदम चाल्नुपर्ने हुन सक्छ’, प्रधानमन्त्रीले भने।

प्रधानमन्त्रीको भनाइ थियो ‘सम्मानित राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध भइरहेका षड्यन्त्रलाई बाइफोर्स, बाइस्टेप नियन्त्रण गर्नुपर्ने हुन सक्छ। म बाइस्टेप, बाइफोर्स कदम चाल्दै छु, तपाईंहरू कता लाग्ने हो निर्धारण गर्नुस्। हुल्लडहरूको समूह स्थायी कमिटीले गरेको निर्णय म मान्दिनँ।’

ओलीले मन्त्रीहरूसँग बालुवाटारमा छलफलअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेर आएका थिए। भण्डारीसँग झन्डै पौने दुई घण्टा छलफल गरेर निवास फर्किएका ओलीले पार्टीका नेताहरूले संवैधानिक दृष्टिले पनि अनुपयुक्त हुने गरी कदम चाल्न खोजेको र त्यसको प्रतिवाद आफूले गर्ने बताएका थिए।पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत बहुमत स्थायी समिति सदस्यले ओलीको राजीनामा माग गर्दै आएका छन्।

प्रधानमन्त्री ओलीले मदन भण्डारीको जन्मदिनमा आयोजित कार्यक्रममा आफ्नो सरकारविरुद्ध भारतीय राज्य संयन्त्र सक्रिय भएर लागेको र त्यसमा नेपालका नेताहरू पनि परिचालित भएको अभिव्यक्ति दिएका थिए। त्यसलाई लिएर स्थायी समिति यसमै केन्द्रित भई प्रधानमन्त्रीलाई अप्ठ्यारोमा पार्दै आएको छ।

एक दिन बैठक स्थगित गरी सहमतिको खोजी प्रयास गरे पनि सहमति जुट्न नसकेपछि दुवै पक्ष आआफ्ना आन्तरिक तयारीमा लागेका छन्। त्यही क्रममा प्रधानमन्त्री ओलीले शनिबार राष्ट्रपतिलाई भेटेर फर्केपछि मन्त्रीहरूलाई बोलाएर बिफ्रिङ गरेका हुन्।

ओलीले निश्चित समय नदिई मन्त्रीहरूलाई समेत आफ्नो कित्ता प्रष्ट्याउन भनेपछि केही मन्त्रीहरूले भने पार्टी एकता जोगाइराख्न आग्रह गरेका थिए। कृषि मन्त्री घनश्याम भुसाल, ऊर्जामन्त्री वर्षमान पुन र महिला बालबालिका तथा समाजकल्याण मन्त्री पार्वत गुरुङले पार्टी एकता जोगाएर अघि बढ्नु अहिलेको आवश्यकता रहेकोमा जोड गरेका थिए।

‘वैधानिक बाटो भनेको दुई अध्यक्षको निर्णय र हस्ताक्षरबाट पार्टी चलाउने हो। नेकपामा बहुमत र अल्पतमतको कुनै वैधानिकता हुन्न। त्यसमाथि संकटका बेला नेतृत्वलाई सबैले सघाउनुपर्नेमा परिवर्तनको कुरा नाजायज हो’, मन्त्री पार्वत गुरुङले भने, ‘मन्त्रीहरूसँगको छलफलमा मैले प्रधानमन्त्रीज्यूलाई त्यही भनें।

मन्त्री पुनले अझै विवाद मिलाएरै जाने समय रहेकोले यसबारे छलफल गरेर जान आग्रह गरेका थिए। पुनले बैठकमा राखेको भनाइ उद्धृत गर्दै अर्का एक मन्त्रीले भने, ‘हामीसँग सिंगो पार्टी छ, संसदीय दल छ, यस्ता संस्थाहरूमा यसबारे छलफल गर्दाखेरि तर्कपूर्ण कुराहरू आउन सक्छन् र आशंका एवं समस्याहरूको समाधान हुन सक्छ। यसका लागि अझै समय छ। छलफल गरौं, पार्टी एकता बचाऔं।’

कृषिमन्त्री भुसालले पनि प्रधानमन्त्री ओलीलाई विश्वासको वातावरण बनाएर छलफल गरी एकता जोगाउन अपिल गरेका थिए। उनले दोस्रो विश्वयुद्धकालमा बेचिएका पोस्टरहरूको स्मरण गर्दै गलत सूचनामा नबहकिन नेताहरूलाई आग्रह गरेका थिए।

दिनभर रस्साकस्सी

नेकपाले १८ असारमा एक दिन प्रधानमन्त्री ओली र अध्यक्ष दाहालका बीचमा निर्णायक छलफल गर्ने र २० गते स्थायी समिति बैठक बोलाउने गरी बैठक स्थगित भएका थियो। तर दुई अध्यक्षको छलफल निष्कर्षमा नपुगेपछि ओली र दाहाल-नेपाल पक्ष आ-आफनो रणनीतिमा लागेका थिए। दुवै पक्षका नेताहरू अडानमा पछि नहटेपछि आआफ्नो तयारीमा लागेका थिए।

शुक्रबार ओली र दाहालबीच भएको छलफल निष्कर्षमा नपुगेपछि शनिबार थप छलफल गर्ने भने पनि हुन सकेन। ओली-दाहाल टेलिफोन संवाद भई थप दुई दिन स्थायी समितिको बैठक रोक्ने र छलफल गर्ने समझदारीपछि बैठक २२ असारसम्मलाई स्थगित गरिएको छ।

शनिबार हुन नसकेको ओली दाहालको छलफल आइतबार बिहान १० बजे बालुवाटारमा बस्ने गरी तय भएको दाहालको निजी सचिवालयले जनाएको छ। शनिबार प्रधानमन्त्री ओलीले बिहान आफू निकट नेता र मन्त्रीहरूसँग छलफल गरेका थिए। ओलीले बालुवाटारमा आफू निकट नेताहरूसँग छलफल गर्दै गर्दा दाहालले पनि आफ्नो निवासमा वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग छलफल गरिरहेका थिए। दिउँसो सचिवालयका ६ नेताबीच पनि खुमलटारमा छलफल भएको थियो। पार्टी एकता जोगाउने र त्यसका लागि प्रधानमन्त्रीसँग निर्णायक छलफल गरेर अगाडि जाने गरी छलफल भएको खुमलटारमा सहभागी एक नेताले बताए।

तर उक्त छलफलमा स्थायी समितिको बैठक अब नरोक्ने र विधानअनुसार निर्णय प्रक्रियामा सहभागी हुने विषय उठेको थियो। प्रधानमन्त्री ओलीले पनि आफू निकटहरूसँग छलफल गरेर साँझ राष्ट्रपतिसँग भेट गरे। त्यसपछि मन्त्रीहरूलाई बोलाई राजनीतिक घटनाक्रममा बिफ्रिङ गरेका हुन्। मन्त्रीहरूको बिफ्रिङपछि पनि ओली निकट मन्त्रीहरू अबेरसम्म बालुवाटारमै थिए।

मेलमिलापका लागि दबाब

नेकपाका दोस्रो र तेस्रो तहका नेताहरूले पार्टी नेतृत्वलाई एकता जोगाउन दबाब दिन थालेका छन्। स्थायी समितिको बैठकमै दुई अध्यक्षको दुई मुख भएपछि बल्झिएको विवाद अन्ततः पार्टी एकतामै खतरा पर्न सक्ने बिन्दुसम्म पुगेपछि उनीहरू यस्तो अभियानमा जुट्न थालेका हुन्।

यो अभियानमा अध्यक्ष ओली, दाहाल र वरिष्ठ नेता नेपाल तीन ओटै पक्षका नेताहरूको प्रतिनिधिमूलक सहभागिता छ। स्थायी समिति सदस्य तथा कृषिमन्त्री घनश्याम भुसालको निवास पुल्चोकमा शुक्रबार बसेको बैठकले नेताहरूलाई विगतका सहमतिलाई आधार मान्दै नयाँ शिराबाट एकता कायम गरेर जान नेतृत्वलाई दबाब बढाउने निष्कर्ष निकालेको थियो।

यो निष्कर्षपछि यो समूहका नेताहरूले प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपालसम्मका नेतालाई भेट गरी आफूहरूको छलफलको निष्कर्ष सुनाएका छन्। यस्तो छलफलमा नेताहरू योगेश भट्टराई, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, विष्णु रिमाल, मणि थापा, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, वर्षमान पुन, शक्ति बस्नेतलगायत सहभागी थिए। उनीहरूले पार्टीका दुवै अध्यक्षलाई पार्टी एकताको अघिल्लो दिन २ जेठ २०७५ को पाँचबुँदे सहमति र २०७६ मंसिर ४ को दुई अध्यक्षबीचको कार्य विभाजनभन्दा माथि उठेर सहमति खोज्न, एकता संघर्ष र रूपान्तरणको बाटोमा अगाडि बढ्न आग्रह गरिरहेका छन्।

तेस्रो पुस्ताबाट पनि नेताहरू माथि दबाब बढेको छ। महिला बालबालिका तथा समाज कल्याणमन्त्री पार्वत गुरुङको निवासमा केन्द्रीय सदस्य रहेका सात ओटै प्रदेशका दुई-दुई सदस्य भेला भई नेतृत्वलाई पार्टी एकता जोगाइराख्न दबाब बढाउने निष्कर्ष निकालिएको केन्द्रीय सदस्य तथा सांसद गणेश पहाडीले बताए।

‘कुनै पनि समूहको पक्षधरता नदेखाई पार्टी एकतालाई जोगाउनकै लागि हामीले सामूहिक अभियान बनाऔं भन्ने गरी अभियान चलाउन सुरु गरेका हौं,’ पहाडीले अन्नपूर्णस“ग भने, ‘यो हाम्रो पहिलो चरणको अभियान हो। हामी स्थायी समितिको बैठक अगाडि दुवै अध्यक्ष र वरिष्ठ नेतालाई भेटेर एकताका लागि आग्रह गर्न लागेका छौं।’

छलफलमा गुरुडका अतिरिक्त पहाडी, खिमलाल भट्टराई, सुरेश राई, यज्ञ सुनुवार, टेकबहादुर बस्नेत, झपट रावल, लीलानाथ श्रेष्ठ, श्याम श्रेष्ठलगायत नेताहरूको सहभागिता थियो।

नेकपाका युवा केन्द्रीय सदस्यले केन्द्रीय कार्यालयमा जारी राखेको धर्ना कार्यक्रम दोस्रो दिन पनि भयो। नेताहरू जगन्नाथ खतिवडा, डा. विजय पौडेल, ठाकुर गैरे, हिमाल शर्मा, रामकुमारी झाक्री, दिलुकमारी पन्तलगायतले पार्टीलाई विभाजनवाट रोक्नुपर्ने, विधि प्रक्रियावाट पार्टी चलाउनुपर्ने भन्दै धर्ना जारी राखेका छन्। जिल्लाजिल्लाका कार्यालयमा पनि धर्ना कार्यक्रम सुरु भएको छ। एकताका लागि पहल कदमी लिन र जनता र नेता कार्यकर्ताको भावनामा चोट पुग्ने गरी अप्रिय बाटो नरोज्न जिल्ला जिल्लाबाट नेतृत्वलाई दबाबसमेत बढेको छ। तर नेतृत्वले यस विषयमा खास केही टिप्पणी गरिसकेको छैन। यो खबर आजको अन्नपुर्ण पोष्टले छापेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!