आइतबार, आषाढ १४, २०७७ || 588  पटक पढिएको

भरतपुर महानगरपालिकाले गर्भवती महिलालाई प्रसूति गराउन भरतपुर अस्पताल ल्याउन सहज होस् भन्ने उद्देश्यले एउटा एम्बुलेन्स खरिद गरिदिने भएको छ । महानगरले आफ्नो छैटौँ नगरसभामा पेस गरेको नीति तथा कार्यक्रममा भरतपुर अस्पताललाई गर्भवती बोक्न एम्बुलेन्स खरिद गरिदिने उल्लेख छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गर्भवती महिलालाई प्रसूति गराउन आउन सहज होस् भन्ने उद्देश्यले एम्बुलेन्स खरिद गरिदिन लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आर्थिक अभावमा अस्पताल सम्म पुग्न असहज नहोस् भन्ने उद्देश्यले एम्बुलेन्स किनिदिन लागेका हौँ ।” दाहाल प्रमुख भएपछि पहिलो निर्णय भरतपुर अस्पतालको वहिरङ्ग सेवामा उपचार गर्न आउने महिला र ज्येष्ठ नागरिकलाई निःशुल्क टिकट व्यवस्था गर्नुभएको थियो ।

आउँदो वर्षबाट सबैखाले अपाङ्गको टिकट समेतको भुक्तानी महानगरले गर्ने भएको छ । प्रमुख भए लगत्तै आफू भरतपुर अस्पतालको स्तर वृद्धिमा लागि परेको भन्दै उहाँले केन्द्रीयस्तरको भएसँगै यस क्षेत्रका जनताले थप सुविधा पाउने बताउनुभयो । गत वर्ष महानगरपालिकाले भरतपुर अस्पताललाई आर्थिक सहयोग गर्दै आएको छ । दाहालले थप्नुभयो, “चितवनसहितका १९ जिल्लाका बिरामीको उपचार गर्ने यस अस्पतालको बिकासका लागि जस्तो सुकै सहयोग गर्न महानगर तयार छ ।” प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूति गराउने अस्पतालको रुपमा परिचित यस अस्पतालमा वर्षमा १४ हजार हाराहारी गर्भवतीले बच्चा जन्माउँछन् ।

अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले महानगरपालिकाले विभिन्न काममा अस्पताललाई सहयोग गर्दै आएको भन्दै थप एक एम्बुलेन्स अस्पतालले खरिद गर्ने बताउनुभयो । महानगरले दिएको एम्बुलेन्समा गर्भवती मात्र बोक्ने र अर्कोमा अन्य बिरामी बोक्ने उहाँले जानकारी दिनुभयो । अस्पतालका प्रमुख मेडीकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीले महानगर प्रमुख अस्पतालको विकास समितिमा हुने भएकाले अस्पताललाई आवश्यक पर्दा सहयोग माग्ने ठाउँ महानगर बनेको बताउनुभयो ।

महानगरले अस्पतालमा सङ्कलन भएका बेवारिसे शव व्यवस्थापनमा पनि सहयोग गर्दै आएको तिवारीको भनाइ छ । महानगरमा प्रमुख र उपप्रमुख दुवै जना महिला भएकाले उहाँहरुको ध्यान महिलाको उपचारमा बढी केन्द्रित हुने गरेको छ । प्रसूति उपचारमा भरतपुर अस्पताल उत्कृष्ट भएको भन्दै तिवारीले एम्बुलेन्स आएपछि बिरामीलाई थप लाभ पुग्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!