बुधबार, आषाढ १०, २०७७ || 2729  पटक पढिएको

काठमाडौं निर्वाचन क्षेत्र नं. १०, (क) प्रदेशका प्रत्यक्ष निर्वाचित सांसद पुकार महर्जन र उनका निजी सचिव विजय विष्टले प्रयोग गरेको गाडी तस्करीको आशंकामा प्रहरीले समातेको छ । बहुमूल्य पत्थर काइनाइट र रंगीन पत्थर टुर्मालिनको चोरी, निकासी गरेको विशेष सुराकीको आधारमा दुईवटा भिआईपी पास झुण्डाएका गाडीलाई सशस्त्र प्रहरीको गस्ती टोलीले बिहीबार राती सुर्खेतमा नियन्त्रणमा लिएको हो ।

महँगो पत्थर तस्करीमा संलग्न भएको आशंकामा प्रहरीले बा १५ च ३५०५ को स्कोर्पियो र बा १८ च ७६२१ नम्बरको हाइलक्स गाडीलाई भेरीगंगा नगरपालिकाको छिन्चुस्थित मनकामना होटलबाट नियन्त्रणमा लिएको बताइन्छ । सो क्रममा अर्को एउटा गाडी भने हालसम्म फरार छ । हाइलक्स सांसद महर्जनले प्रयोग गर्दै आएको गाडी हो भने स्कोर्पियो उनकै ठूलो बाको नाममा दर्ता रहेको देखिन्छ । महर्जन नेपाली काँग्रेसका सांसद हुन् ।

काठमाडौंबाट गएका दुईवटै ‘भिआइपी गाडी’ मा चोरी, निकासीको लागि बहुमूल्य पत्थर काइनाइट र टुर्मालिन रंगीन पत्थर लुकाई छिपाई ओसारिने गरेको आशंका छ । जाजरकोटमा मात्र पाइने काइनाइट र टुर्मालिनको बजारमूल्य गुणस्तरअनुसार प्रति किलोग्राम ५ सयदेखि २५ हजार रूपैयाँ पर्छ । सरकारले उत्खनन् स्वीकृति दिएपनि पाँच वर्ष अघिदेखि काइनाइट र टुर्मालिनको विदेश निकासीमा भने रोक लगाएको छ । मुलुकभित्र प्रशोधन उद्योग नभएकाले पछिल्लो समयमा चोरी, निकासीबाटै भारत,चीन र अमेरिकासम्म पुग्ने गरेको छ ।

सशस्त्र प्रहरी सुर्खेतको गस्ती टोलीले पक्राउ गरेको दुईवटै गाडी र नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको थियो । प्रहरी स्रोतकाअनुसार घटनाको विषयमा विस्तृत अनुसन्धान गर्दै नियन्त्रणमा लिइएकाहरूसँग आवश्यक सोधपुछ तथा प्रारम्भिक बयानसमेत लिइएको छ ।

सचिव विष्टले दुबै गाडीमा गृह मन्त्रालयले उपलब्ध गराएको भीआईपी पास टाँसेर लकडाउनको समयमा पनि पटक पटक काठमाडौं सुर्खेत ओहोर दोहोर गरेका थिए । उनको आउजाउ शंकास्पद देखिएपछि स्थानीयले कीर्तिपुर नगरपालिका वडा नं ४ का अध्यक्ष राजेन्द्र बानियाँसँग बिष्टलाई क्वारेण्टिनमा राख्नुपर्ने माग राखेका थिए । तर बानियाँले स्थानीयको मागलाई एउटा कानले सुनेर अर्कोले उडाइदिए । तस्करीमा प्रयोग भएको गाडीका निम्ति सांसद महर्जनले गृह मन्त्रालयबाट ‘ट्राभल एण्ड टुर्स’ को नाममा भीआईपी पासको बस्दोबस्त मिलाएका थिए ।

जन आस्था

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!