ज्योति विकास बैंकमा हाम्रो विकास बैंक गाभिएपछि नयाँ लफडा शुरु भएको छ । त्यसपछि बैंकमा संस्थागत सुशासन ‘कुन चरीको नाम’ हुन थालेको हो । पछिल्ला दिनमा वित्तीय अनुशासनमै विचलन आउन थालेको धेरैवटा घटनाक्रमले समेत देखाइसकेको छ ।

स्रोतका अनुसार सीईओ रिक्त रहेको अवस्थालाई नुवाकोटको इमोर्टल कन्स्ट्रक्सनका ठेकेदार सुरेश खड्कासँग मिलेर अधिकतम प्रयोग गरिएको हो । कार्यवाहक सीईओ बनेलगत्तै विवादमा आएका पारसराज कँडेललाई अध्यक्षले डेपुटी सीईओको वचन दिएपछि बैंकमा १३ करोडको खेल भएको बताइन्छ । कँडेल र आईपीएस तथा एसएमई (क्रेडिट) चिफ विकास रानाभाटको प्रत्यक्ष संलग्नतामा अध्यक्ष हरिचन्द्र खड्काको ग्रीन सिग्नलबाट उक्त कन्स्ट्रक्सनलाई मूल्याङ्कनभन्दा झण्डै ६ करोड बढी ऋण प्रवाह गरेको बताइन्छ ।

कँडेल र रानाभाटले योजनामुताबिक एसबीआई बैंकमा रहेको ऋणलाई स्वाप गर्ने (सार्ने) गतिलो बहाना बनाएका हुन् । यसअघि हाम्रो विकास बैंकको केन्द्रीय कार्यालय नुवाकोटको बट्टारमा थियो । बैंकका अध्यक्ष र ऋणी सुरेश खड्का पनि नुवाकोटकै हुन् ।

सुरेशले एसबीआई बैंकबाट काठमाडौं,स्वयम्भू पछाडिको जग्गा धितो राखेर सात करोड ऋण लिएका थिए । अहिले त्यहि धितोको पुनर्मूल्याङ्कन गरेर ज्योतिले खड्कालाई १३ करोड रूपैयाँ कर्जा उपलब्ध गराएको हो । हाम्रो विकास बैंकमा पाँच हजार कित्ता संस्थापक सेयर स्वामित्वका कारण ज्योतिले कर्जा दिन नमिलेपछि त्यसबीचमा खड्काले उक्त सेयर आफ्नै भाञ्जालाई बिक्री गरेका थिए । सेयर बिक्री गरेको एक सातापछि बैंकले कर्जा सदर गरेको देखिन्छ ।

स्रोतका अनुसार ज्योतिको पहिलेको भ्यालुएटरले जग्गाको मूल्याङ्कन १४ करोड रूपैयाँ गरेको थियो । तर, उक्त मूल्याङ्कनले एसबीआईले झैँ बढीमा ७ करोड रूपैयाँ मात्र दिन मिल्ने देखिएपछि स्वाप प्रक्रिया नै रोकिएको थियो । पुनः नयाँ भ्यालुएटरबाट २६ करोडको मूल्याङ्कन गराएपछि खड्कालाई उही धितोबाट एसबीआईको भन्दा ६ करोड रूपैयाँ बढी कर्जा प्रवाह गर्न बाटो खुलेको हो ।

ज्योतिमा संस्थागत र वित्तीय अनुशासनको पालना हुन छाडेका समाचार नियमित रूपमा सार्वजनिक हुँदा पनि नियमनकारी नेपाल राष्ट्र बैंकले मौनता साँधेको छ । ज्योतिका केही कर्मचारीले आफूहरूले संस्थाभित्र मौलाएको गलत अभ्यासबारे विभिन्न माध्यमबाट केन्द्रीय बैंकका गभर्नर, नियमन र विकास बैंक सुपरीवेक्षण विभागका हाकिमलाई जानकारी गराए पनि उनीहरूले कानमा तेल हालेर बसेको भन्दै असन्तुष्टि पोखेका छन् । राष्ट्र बैंकका अधिकारीहरूले ‘लिखित उजुरी परेको अवस्थामा मात्रै छानबीन र सुपरीवेक्षण गर्न सकिने अन्यथा,केही नगर्ने’ भनेर दिएको ठाडो जवाफभित्रै पनि उनीहरूले आशंका गरेका छन् ।

सीईओ नियुक्तीमा चलखेल

ज्योतिले यो साता नयाँ सीईओ नियुक्त गर्दैछ । आईएमई लाईफ इन्स्योरेन्सका सीईओ श्रीचन्द्र भट्ट त्यता जान लागेका हुन् । दुई वर्षअघि पनि भट्टलाई ज्योतिको सीईओ बनाउन खोजिएको थियो । हालै बैंक छाडेका मनोज ज्ञवालीलाई केही सञ्चालकले डेपुटी र भट्टलाई सीईओ बनाउन खोज्दा ज्ञवालीले ‘डेपुटी भए आफूलाई चाहिएन’ भनेपछि रोकिएका भट्ट आईएमई लाइफमा गएका हुन् ।

अहिले तिनै भट्टलाई बैंक भित्र्याउने तारतम्य अध्यक्ष हरिचन्द्र खड्काले मिलाएका छन् । सीईओ नियुक्तीको निम्ति सञ्चालक समितिमा हाम्रो विकास बैंकका पूर्व अध्यक्षलाई विज्ञ बनाएर भट्टसँग रेडिमेड अन्तवार्ता लिइएको स्रोतको दाबी छ । मासिक तलब तय भइसकेकाले सोमबारको बोर्ड बैठकले भट्टलाई नियुक्ती गर्ने बताइएको छ ।

भट्ट आईएमई लाइफअघि मेगा बैंकमा डेपुटी सीईओ थिए । बैंकले दिएको टार्गेट पूरा गर्न नसकेपछि उनी ज्योतिमा छिर्न खोजेपनि नसकेपछि आईएमई लाइफ हानिएका थिए । आईएमईले पनि बीस महिनाको उनको कार्यक्षमताबाट आफूहरू अघाइसकेको गाईंगुईं चलाएपछि भट्टले सुरक्षित अवतरण खोजेका हुन् । मेगाअघि उनी इन्भेष्टमेण्ट बैंकमा थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!