आइतबार, आषाढ ०७, २०७७ || 2453  पटक पढिएको

सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा रहेका गुरुबा (प्रशिक्षक) ले व्यक्तिगत मोटरसाइकल धुन लगाउँदा शनिबार बिहान एकजना तालिमे सिपाही जीवनभरिका लागि अपाङ्ग भएका छन् ।

प्राप्त जानकारीअनुसार बैतडी जिल्ला घर भएका २२ वर्षीय तालिमे सिपाही जितेन्द्र चन्दलाई प्रशिक्षकले आफ्नो निजी मोटरसाइकल धुन लगाउँदा मोटरसाइकलको चेनमा परेर दाहिने हातको एउटा औंला छिनेको (काटिएको) छ । औंला छिनेपछि बेहोस भएका चन्दको दिपायल पिपल्लास्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ । चन्दको दाहिने हातको औंला छिनालिएका कारण जोड्न नसकिने र जीवनभरिका लागि अपाङ्गसरह भएको उपचारमा संलग्न अस्पतालका चित्किसकहरुले बताएका छन् ।

दाहिने हातको औंला प्रहरीको सलामी दिने तथा फायरिङ गर्नेदेखि अन्य काममा बढी प्रयोग हुने भएकाले औंला काटिएपछि उनलाई भविष्यमा निकै समस्या उत्पन्न हुने प्रहरी अधिकारीहरुले बताएका छन् । उक्त तालिम केन्द्रका प्रशिक्षक तथा अधिकृतको लापरवाही तथा व्यक्तिगत सरसामान तालिमे सिपाहीलाई धुन लगाउने गरेका कारण निज तालिमे प्रहरी जवानको औंला काटिएको आरोप लागेको छ ।

आफ्नो नाम नछाप्ने सर्तमा तालिम केन्द्रका एक जना प्रहरीले नेपाल प्रहरीको नीति, नियम तथा नियमावलीअनुसार दाहिने हातको औंला काटिएका कारण निज तालिमे सिपाही प्रहरी सलामी दिने कार्यमा अपाङ्गका रुपमा गनिने छन् । ‘जागिर अवधिमै औंला काटिएकाले उनको जागिर कायम रहन्छ तर सलामीदेखि अन्य कुरामा उनलाई समावेश गरिँदैन अपाङ्गसरह गनिन्छन्,’ उनले भने ।

उता सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलका प्रमुख तथा प्रहरी वरिष्ठ अधिकृत प्रदीपकुमार श्रेष्ठले गुरुबाहरुको असावधानी र लापरवाहीले दुःखद् घटना भएको स्वीकार गँर्दै दोषीलाई कारवाही गरिने बताए । उनले भने, ‘लापरवाहीका कारण एउटा योग्य जवान जिवनभरिका लागि अयोग्य भएको छ, घटनाको छानबिनका लागि टोली गठन गरेको छु, दोषीजति सबैलाई कारवाही हुन्छ ।’ ती सिपाहीले कुन गुरुबाको मोटरसाइकल धुँदै थिए, त्यो भने उनले खुलाउन चाहेनन् ।

दिपायलस्थित उक्त तालिम केन्द्रमा केही दिनपहिले आँखामा पट्टी बाँधेर दगुराउँदा एक जना तालिमे सिपाही रुखमा ठोक्किएर बेहोस भएकाले उनलाई नजिकैको सुदूरपश्चिम क्षेत्रीय प्रहरी अस्पताल दिपायलमा उपचार गर्दा दुई घण्टापछि होस आएको बताइएको छ ।

त्यसैगरी शुक्रबार मात्रै बिहान आफूले धोएको लुगा घाममा सुकाउने क्रममा एक जना अर्का तालिमे सिपाहीको टाउकोमा बाँसको टाँगो खस्दा गम्भीर घाइते भएका थिए । उनको पनि अहिले क्षेत्रीय प्रहरी अस्पताल दिपायलमै उपचार भइरहेको छ । तालिम केन्द्रका प्रमुख तथा प्रशिक्षकहरुको असावधानी तथा तालिमे सिपाहीको कामप्रति ध्यान नदिने गरेका कारण उक्त तालिम केन्द्रमा पटक–पटक यस्ताखाले घटना हुँदै आएको आरोप लाग्दै आएको छ ।

मोटरसाइकल धुने क्रममा आफू घाइते हुनुका साथै अपाङ्ग भएपछि निकै पीडाबोध भएको तालिमे सिपाही चन्दले गुनासो गरे । उनले भने, ‘मोटरसाइकल धुन लगाउँदा आफू जीवनभरिका लागि अपाङ्ग भए, योभन्दा ठूलो पीडा अरु के होला र !’ उक्त तालिम केन्द्रमा तालिम गरिरहेका तालिमे सिपाहीको रिग्रुट तालिमको पासआउट हुने समयावधि सकिए पनि कोरोना भाइरसको त्रासका कारण तालिमको पासपाउट हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!