खबर ठुलो छ

आगलागी सुन्दा, भोग्दा देख्न र सुन्न नपरोस्जस्तो लाग्छ तर यस्ता घटनाले नचाहेर पनि हामीलाई बाध्यतावश स्विकार्न, भोग्न विवश बनाउँछ । प्रकोपले हामीलाई भित्रैदेखि कोपर्छ र वर्षौं लगाएर सम्पूर्ण परिवार लागेर आर्जेको श्रीसम्पत्ति क्षणभरमै प्रकोपले सहजै कोपर्छ र हामीलाई आर्थिक रुपमा शून्य अवस्थामा पु¥याउँछ तैपनि त्यसलाई स्विकार्नैपर्छ, हामी बाध्य छाँै ।

ताप्लेजुङ जिल्लाको फुङलिङ बजारमा बारम्बार आगोलागी हुने र त्यसको पीडाले बजारबासीलाई प्रताडित बनाउने गरेको छ । आधिकारिक प्रमाण नपाइए पनि १९९४ र १९९५ साल २००६ साल र २०१३ सालमा हालको वीरेन्द्रचोक क्षेत्रमा आगलागी भएको र १३ सालमा ७ वटा घर जलेका थिए भने १९९४ र १९९५ साल २००६ सालको के कति क्षति भयो स्पष्ट छैन त्यस समयमा काठ, टाटी, चित्रा, फुस खर बाट बनेका सामान्य घर, टहरा र पसल रहेका व्यापारका लागि आएका मारबाडी समुदायका व्यापारीसमेत यी तीन वटै आगलागीको मारमा परेका जानिफकार तुलसीप्रसाद दाहालले बताएका छन् । तर, त्यहाँ कति संख्यामा क्षति भयो र कति मूल्यको क्षति भयो केही खुलेको छैन । २०१८ मा कांग्रेसले गरेको सशस्त्र विद्रोहमा जिल्ला अदालत ताप्लेजुङ तथा न्यून संख्यामा रहेका सरकारी कार्यलयमा आगजनी गरी कारागारसमेत तोडेर कैदी बन्दीलाई छाडिएको बताइन्छ । ०३५ सालदेखि यताका केही प्रतिनिधिमूलक आगलागीका घटनालाई यहाँ समेट्ने प्रयत्न गरिएको छ ।

२०३५ साल जेठमा हालको शान्तिटोल जोरधारा जिमीपोखरी गणेशथान हुँदै भानु तथा दोभान जाने बाटोको चोक माथिल्लोपट्टि माधव प्रधानहरूको घर, कैलाश मादेन, कीर्तिमान मादेनहरूको लामो घरसहित (४) चार घर जलेर नष्ट भएका थिए तर यसको महिना र गते यकिन गर्न र क्षतिको तथ्यांक पाउन कठिन भएको स्वयं अग्निपीडितहरू बताउँछन् । त्यसबेला स्पष्ट तथ्यांक राख्ने चलन नभएको देखिन्छ ।
२०६० चैत्र १५ गते साँझ ६ः४५ बजेतिर वीरेन्द्रचोक क्षेत्रमा आगलागी हुँदा ४५ घर जलेर नष्ट भएका ती घरमा बस्ने १२९ परिवार विस्थापित भएका थिए यस प्रकोपमा तत्कालीन मूल्यअनुसार ५५ करोड ५४ लाख ६४ हजार १ सय ४८ रुपैयाँ बराबरको क्षति भएको थियो । यसै क्षेत्रमा धेरै पहिले निकै ठूलो आगलागी भएको र धेरै मानिस विस्थापित भएको भन्ने एकाध मानिस पाइए पनि स्पष्ट आधार, तथ्यांक र मिति पाउन सकिएको छैन ।
२०६९ साल माघ २६ गते शेर्पाटोलमा आगलागी हुँदा ८ घर जलेर नष्ट भए ती घरमा बस्ने १८ परिवार विस्थापित भएका थिए ।
२०७० साल कात्तिक १८ गते टुक्रेबजार क्षेत्रमा आगलागी हुँदा ५ घर जलेर नष्ट भए र अग्नि नियन्त्रणका लागि भत्काइएका घरमा बस्नेसमेत १७ परिवार विस्थापित भएका थिए ।
२०७१ साल चैत ९ गते बेलुकी फुङलिङ ४ तोक्मेडाँडा क्षेत्रमा आगलागी हुँदा ३७ घर जलेर नष्ट भए ७ घर अग्नि नियन्त्रणका लागि भत्काइएका थिए । यीसमेत ४४ घर नष्ट हुँदा १४५ परिवार विस्थापित भएका थिए ।
२०७७ बैशाख १९ गते पुरानो बैंक लाइन, ट्याक्सी काउन्टर क्षेत्रमा आगलागी हुँदा ७ घर जलेर नष्ट भए १ घर अग्नि नियन्त्रणका लागि भत्काइएको समेत ८ घर पूर्ण क्षति हुँदा ती आठ घरमा बस्ने २९ परिवार विस्थापित हुँदा ७ करोड ६५ लाख ७२ हजार ७ सय बराबरको क्षति भएको तथ्यांक छ ।
ताप्लेजुङ जिल्लाको आगलागीका विगतका घटना हेर्दा फुङलिङ बजारको सामूहिक र ठूलो क्षतिबाहेक प्रत्येक वर्ष हुने छिटफुट घटनामा समेत यस जिल्लाको ५ वर्षको तथ्यांक हेर्दा प्रत्येक वर्ष ५० घरको हाराहारीमा आगलागी हुने गरेको देखिन्छ ।
२०६१ साल ६१ घर, २०६२ साल ५१ घर, २०६३ साल ३९ घर, २०६४ साल ४८ घर २०६५ साल ४६ घर जम्मा २४५ घर आगलागी भएको देखिन्छ ।

यी घटनामा प्रतिघर औसत ८ लाख क्षति हुँदा पनि प्रत्येक वर्ष ४ करोड हाराहारीमा क्षति हुने देखिन्छ ।

ताप्लेजुङ जिल्लाको फुङलिङ बजार र ग्रामीण क्षेत्रमा यसरी ठूलो संख्यामा प्रत्येक वर्ष आगलागी हुनुका कारण के के हुन सक्छन् यसबारे अध्ययन र त्यसको निराकरणका लागि आवश्यक योजना बन्नुपर्ने कुरा बारम्बार उठे पनि घटनामा न्यूनता आउन सकिरहेको छैन, आगलागीका घटना बारम्बार दोहोरिने गरेका छन् । बजारबासी र समाजसेवी यस विषयमा आ—आफ्ना धारणा राख्ने गर्छन् तर ती धारण विचारमा मात्र सीमित हुने गरेका छन् । उनीहरूका धारणाअनुसार विशेष गरेर निम्न कारणबाट फुङलिङ बजारमा आगलागी हुने गरेको बताइन्छ ।

(क) आगोलाई सामान्य सम्झेर लापरबाही गर्नु ।
(ख) मैनबत्तीको प्रयोगमा लापरबाही गर्नु
(ग) होटल सञ्चालन गर्दा होटलमा प्रयोग भएका ग्यास र दाउरा बाल्दा लापरबाही गर्नु ।
(घ) खाना, चिया, पेयपदार्थ वा अन्य खानेकुरा बसालेर आगो (ग्यास, दाउरा) बालेर अन्य काममा लाग्नु त्यताको वा पहिलेको काम बिर्सनु ।
(ङ) आगोको काम सकेपछि तत्काल राम्ररी आगो ननिभाउनु ।
(च) छिटो आगोले टिप्ने कुरा चुलो छेउमा राख्नु ।
(छ) चुलोमा दाउरा सेकाउन राख्नु ।
(ज) ग्यासको रेगुलेटर बारम्बार चेक नगर्नु र पुरानो रेगुलेटर चलाइराख्नु ।
(झ) गाउँघरमा बस्तुभाउलाई खोले कुँडो पकाउदा लापरबाही गर्नु र ननिभाउनु ।
(ञ) खरानी फाल्दा आगो टिप्ने ठाउँ, बाख्राको खोर भित्र गोबर भएको ठाउँमा फाल्नु ।
(ट) यहाँका घरहरूमा काठ र टिन प्रयोग गरी बनाइएको हुँदा छिट्रटै आगो फैलने र नियन्त्रणबाहिर गई आगलागीले बृहत रुप लिने गरेको देखिन्छ ।

ताप्लेजुङ जिल्ला तथा फुङलिङ बजारमा आगलागीबाट बच्न उल्लिखित लापरबाहिलाई हटाउन सके मात्र पनि आगोलागी धेरै कम हुने समाजसेवीको धारणा छ । आगलागी कम गर्न चेतनामूलक कार्यक्रम गर्नुपर्ने र आगलागीका घटनालाई न्यून गर्न पूर्व तयारी र चेतनामूलक कार्य नै आगलागी न्यूनीकरणका उपाय हुन सक्ने समाजसेवीको धारणा छ ।

शुक्रबार, आषाढ ०५, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया