रुकुम पश्‍चिमको चौरजहारी नगरपालिका-८ सोतीमा गत जेठ १० गते ६ जना युवाको ज्यान जाने गरी भएको घटनामा जोडिएकी किशोरीकी आमाले साविती बयान दिएकी छन्। जिल्ला सरकारी वकिलकहाँ दिएको बयानमा उनले छोरीका प्रेमी नवराज विकसहित ६ जना युवकको हत्या आफ्ना पति र वडाध्यक्ष डम्बरबहादुर मल्लको योजनामा भएको बताएकी छन्। उनले छोरीलाई लिन भनेर जाजरकोटबाट आएका नवराज विकसहितका युवाहरुलाई आफूले जातीय विभेद हुने शब्द डुमसमेत भनेर गाली गरेपछि उनीहरु त्यहाँबाट फर्किएर गएको बयान दिएकी छन्। त्यसपछि श्रीमान् र वडाध्यक्ष मल्लसमेतलाई बोलाएर पिछा गर्दै गएपछि चौरजहारी नगरपालिका-८ औल जिउला भन्ने स्थानमा फेला पारेर छेका हाली हत्या गरिएको उनले स्वीकार गरेकी छन्। ‘नबराज बिकसमेतका केटाहरु मेरो घरमा आएको अबस्थामा निज नबराज बिकलाई मैले जातीय बिभेद हुने शब्द डुमसमेत भनि गाली गरेपछि निजहरु फर्केर गए। नबराज बिकसमेतका केटाहरुलाई मार्ने पूर्बयोजना मेरो श्रीमान् परिबर्तित नाम ५४ रुकुम पश्चिम (३६) १, र डम्बर बहादुर मल्ल (वडाध्यक्ष) समेत जाहेरी दरखास्तमा उल्लेखित ब्यक्तिहरुलाई बोलाई पिछा गर्दै जाने क्रममा जिल्ला रुकुम चौरजहारी नगरपालिका वडा नं.८ औल जिउला भन्ने स्थानमा फेला पारी छेका हाली ढुङ्गा हँसिया समेतले प्रहार गरी भेरी नदीको किनारमा पुर्याई नबराज बिक समेतलाई कर्तब्य गरी मारी भेरी नदीमा बगाएको र सुदीप खड्का समेतलाई कुटपिट गरी नियन्त्रमा लिई घटना घटाएको ठिक हो’, उनले बयानमा भनेकी छन्। उनले आफ्नी भतिजी सुस्मा मल्ल ठकुरीसँग नवराज बिकले छोरीलाई घरबाट थुतेरै लैजान्छु भनेर खबर गरेपछि उनीहरुको मार्ने योजना बनाएको बयान दिएकी छन्। ‘मेरी भतिजी नाता पर्ने सुस्मा मल्ल ठकुरीसँग नबराज बिकले मेरी छोरीलाई घरबाटै थुतेर लैजान केटाहरु लिएर जान्छु भन्ने कुरा गरेको थाहा पाई भतिजीलाई मैले फोन गरी बुझ्दा निज नबराज बिकले मेरी छोरीलाई लैजान केटाहरु ल्याएर आउँदैछ भन्ने थाहा पाई निज दलित भएकोले छोरीलाई बिवाह गरी लिएपछि बेइज्जत हुने भएकाले बेइज्जत हुनुभन्दा केटाहरु लिएर आए निजहरुलाई मारी दिए विवाह हुन नपाउने भएकोले निज नबराज बिकले केटाहरु लिएर आए मारीदिने भनि घरपरिवारले सल्लाह गरि योजना बनाएका थियौं’, किशोरीकी आमाले बयानमा भनेकी छन्। उनले हत्याको पूर्वयोजना बनाएर बसेको अवस्थामा जाजरकोटबाट युवाहरु आएको बताएकी छन्। ‘हामीले योजना बनाई बसेको अवस्थामा मेरो छोरी घर भित्र टिभी हेरी बसिरहेको र म घर बाहिर आँगनमा रहेको अबस्थामा नबराज बिकसमेतका केटाहरु आएको देखी नवराज बिकलाई ‘तँ डुम फेरि किन आईस आज मर्छस् भनि धम्की दिई’ गालिगलौज गरी कराउँदै मेरो श्रीमानलाई फोन गरी नबराज बिकसमेतका केटाहरु घरमा आएका छन् भनि खबर गरेपछि निज केटाहरु घरदेखि तल तिर गएको र पूर्बयोजना बमोजिम मेरो श्रीमानले वडाअध्यक्ष डम्बर बहादुर मल्ललाई खबर गरेपछि वडाअध्यक्षले पूर्बसल्लाह र योजान बमोजिम गाउँमा खबर गरेको हो’, बयानमा उनले भनेकी छन्, ‘मैले नबराज बिकसमेतका केटाहरुलाई तलसम्म निगरानी गरेको थिएँ। केही समयपछि मेरो श्रीमान, छोरा, मोहन पुनसमेत घरबाटसँगै केटाहरुलाई पिछा गर्दै गएका थिए भने केही तल वडाअध्यक्ष डम्बर बहादुर मल्लले बोलाएका अन्य जाहेरी दरखास्तमा उल्लेखित प्रतिबादीहरु समेतका गाउँका मानिसहरु आई हातमा लाठी ढुङ्गा ,हँसिया समेत लिई मेरो घरदेखि तलको सडकतर्फ नबराज बि.क. समेतका केटाहरुलाई नियन्त्रणमा लिई मार्नको लागी चारैतिर बाट घेरा हाली लखेट्दै गएका थिए । त्यस पछि म घर फर्किएँ।अन्य के भयो मैले देखिनँ । नबराज विकसमेतका केटाहरुलाई लखेट्दै भेरी नदी पुर्‍याई लखेट्दै गएका ब्यक्तिहरुले कुटपिटसमेत गरी नबराजसमेत ६ जनालाई मारी भेरी नदीमा बगाएको र अन्य १२ जनालाई घाईते बनाएको थाहा पाएकी हुँ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!