
काठमाडौं। झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह बालेनले आज आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेका छन् । वाचापत्रमा आफ्नो निर्वाचन क्षेत्रका सुकुम्वासी समस्या समाधानका लागि काम गर्ने प्रतिबद्धता जनाएका उनले झापा ५ का भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको दिगो समाधानका लागि आफ्नो नेतृत्वमा सरकार बनेको १०० दिनमा आयोग गठन गरी १००० दिनमा समाधान गर्ने नीति अपनाउने सङ्कल्प गरेका हुन् ।

वाचापत्रमा भनिएको छ, ‘झापा–५ का भूमिहीन, सुकुम्वासी था अव्यवस्थित बसोबासको समस्यालाई न्यायोचित र दिगो समाधान गर्न रास्वपा सरकार गठन भएको १०० दिनमा आयोग, १००० दिनमा समाधान नीति अवलम्बन गरी अधिकार सम्पन्न आयोगमार्फत समयसीमाभित्र कार्य सम्पन्न गरिनेछ।’
त्यस्तै उनले राष्ट्रिय नीति तथा बजेटमा झापा ५ का विकासका मुद्दाहरु सशक्त रुपमा उठाउने, सम्बन्धित मन्त्रालयसँग समन्वय गरी संघ, प्रदेश र स्थानीय तहका विकास योजनाको प्रभावकारी अनुगमन गर्ने, स्थानीय जनताको समस्या तथा आवाज संसदमा निरन्तर रूपमा प्रस्तुत गर्ने, स्थानीय तथा प्रदेश सरकारका योजनाहरु संघीय तहबाट छिटो, सहज र परिणाममुखी रूपमा कार्यान्वयन हुने वातावरण सिर्जना गर्ने, नेपालको संविधानले सुनिश्चित गरेका गाँस, आवास, स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगारी, सामाजिक सुरक्षा र स्वच्छ वातावरण जस्ता आधारभूत आवश्यकता सबै नागरिकसम्म व्यवहारिक रूपमा पुर्याउन आवश्यक कानुन, बजेट र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने वाचा गरेका छन् ।
त्यस्तै, राष्ट्रहित विपरीत कुनै पनि सम्झौता नगर्ने, सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउन प्रभावकारी भूमिका निर्वाह गर्ने, विकाससँगै प्रकृति संरक्षणमा विशेष ध्यान दिने वाचा गरेका छन् । त्यस्तै, राजनीतिलाई पेशा होइन, सेवा बनाउने, मतमा अभिव्यक्त नागरिकको विश्वासलाई काममा रुपान्तरण गर्ने वाचा गरेका छन् ।
त्यस्तै, गरिब तथा विपन्न परिवारका बालबालिकाले पनि गुणस्तरीय शिक्षा पाउनु पर्ने अधिकार व्यवहारमै सुनिश्चित गर्ने, काठमाडौं महानगरमा लागू भए जस्तै ‘शिक्षामा सीप कार्यक्रम’ कार्यान्वयन गरी विद्यार्थीहरुको विदेश जान पर्ने बाध्यतालाई न्यूनिकरण गर्ने, गौरीगञ्जस्थित ऐतिहासिक त्रिभुवन पुस्तकालय पुनर्निर्माण गरी डिजिटल अध्ययन अनुसन्धान केन्द्रका रुपमा सञ्चालन गर्ने, ‘कोशी आयुर्वेद प्रतिष्ठान’ स्थापना गरि प्रादेशिक आयुर्वेद अस्पताल, कमल (लखनपुर) लाई सो मातहत संचालन गर्ने वाचा गरेका छन् ।

