कसैको बास्तविक जिवनसँग मेल खान गएमा संयोग मात्र हुनेछ , यो कथा उस्को हो र यो कथा उन्को हो । उ र उनी हामी मध्य जो कोही पनि हुनसक्छौँ , हाम्रो समाजमा धेरै उ र उनिहरु छन् र आज सबै उ र उनिप्रति यो कथा समर्पित गर्न चाहन्छु ।

यो एउटा यस्तो सामान्य र औसत प्रेम कथा हो जुन नेपालको हरेक गाँउ शहरमा हुने गरेको छ, दोहोरिरहेको छ, तेहरिरहेको छ तर पुरानो पक्कै पनि भएको छैन ।

उसको सम्झना
त्यतिबेला कच्याक-कुचुक्क पारेर हत्केलामा लुकाइराखेको कापीको पन्ना जसमा हुन्थे प्रेमका भावना, उसले पनि प्रेम गर्न त फिलिम हेरेरै सिकेको हो । स्कूलमा सर्वत्र शंका थियो उ र उनिको सम्बन्धको बिषयमा, अलिहेका केटाकेटीले जस्तो डेट जान कहाँ पाउनु र उ सम्झिन्छ र थकथक मान्छ, यदि त्यतिबेला जुकरबर्गले फेसबुकको आविष्कार गरिदिएको भए प्रेमालाप गर्न कत्ति सजिलो हुनेथियो ?

पहिलो प्रेम प्रस्ताव उसले डराई डराई सरस्वती पूजाको दिन राखेको हो, उत्तर आएको थिएन । अनुत्तरित प्रेम लगभग स्विकार गरेकै बराबर हो भन्ने मानेर उ पछाडी हटेन । बिहिबार हाटमा उनि आउथिन भनेरै उ पनि जान्थ्यो तर कुनै बातचित, अकंमाल या भेटघाट गर्न हैन केवल देखादेख गर्नकालागी । अरुहरुलाई शनिबार र बिदाको दिन भनेपछि खुशीको सिमा हुन्नथियो तर उसलाई स्कूल लाग्ने दिन नै प्यारो थियो, उनिलाई हेर्न पाउँथ्यो….

शुरु त्यतिबेला भयो जब उ र उनि दुबैजना स्कूलमा पढ्थे । आधा रङ्ग खुईलिसकेको उसको साइकल थियो जसलाई उसले बिभिन्न प्रकारले चलाउन सक्थ्यो जस्तै एउटा हात छोडेर, पछाडी बसेर, उभिएर र दुबै हात नि छोडेर चलाउँथ्यो, अलि खुल्ला बाटो पाउँदा । क्लासमा लुकामारी चल्थ्यो दुबैको आखाँको र उसको साइकलको पाइडल संगसँगै उनिसंगको प्रेम कथा पनि अगाडी बढिरहेको थियो । एकफेरको नयाँ बर्षमा उसले उनलाई बजारमा पाइने बलिउडिया हिरोहिरोइनको फोटा भएका पोष्टकार्डमा नयाँ बर्षको शुभकामना अग्रेंजीमा लेखेर दिएको थियो, “वान ग्लास अफ वाटर टु ग्लास अफ बियर, ओ माई डियर ह्याप्पी निँउ यिएर ।”

यो छोटो प्रेमकथामा उनले उसलाई छोडिन् जसका कारणहरु थुप्रै हुन सक्छन जुन मैले यहाँ कोट्याउन चाहिन । उनि उसको जुलियट बन्न सकिनन या भनौ उ उनको ज्याक बन्न सकेन र उनिहरुको प्रेमको टाइटनिक त्यसै डुबेर गयो । उ र उसकी उनिको बिछोड भयो, सपना तुहिए । उनको बिहेको निम्तो उसको घरमा पनि आएको रहेछ तर उ गएन । बुवा जानुभयो रे अनि कस्तो धुमधामसँग भएको बिहे भनेर घरमा सुनाउनुभएको थियो, के होला त यो भन्दा बढी दशाको कुरो ?

विदेशमै बस्ने केटा महिनाको यति कमाँउछ, गएको चार बर्षमा त बाटो छेउको दश कठ्ठा घडेरीपनि किनिदियो रे आमाको नाँउमा, जुन विदेशीले उसको माया लग्यो त्यहि विदेशीको गुणगान पनि उसले राम्रैगरि सुनेछ । खुशी त उ पक्कै खुशी होली, मैले भएको भए ६ महिनाको कमाईले पनि एक तोला सुन किनिदिन सक्दिनथिएँ होला बरु ठिकै भयो अहिलेसम्म त विदेशीले उनलाई धेरै सुन किनिदिसक्यो होला ? तर फेरि यहाँ मसँगै भएकी भए उनी आफ्नै माटामै हुन्थिन, केहि किन्न नसके पनि माया त गर्थे नि म उनलाई । के थाहा! विहे गरेर हामी दुबैजनानै विदेश पो जान्थ्यौं कि ? संभावनाका यस्ता कुरामा उ अझै अल्झिरहन्छ ।

उसको बर्तमान
अगाडीका सबैकुराहरु फ्लाशब्याक हुन् । उ आज पनि माथी आकाशमा विदेशबाट आएका ठूला पिलेनको आवाज निको मान्दैन जसको उसँग आफ्नै कारणहरु छन् । हरेक पिलेनमा विदेशमा बसेका नेपाली दाजुभाइहरु सफा लुगा लाएर, सुटकेश र झोला बोकेर गाउँ-शहर छिर्छन र खोजी गर्छन एउटा सुशील, सभ्य र मायालु श्रीमती जसलाई आफैसँग लिएर जान्छन विदेश उनिलाई लिएर गए जस्तै… उसको मुख अमिलो भयो ।

अनि त्सपछि उ जस्तै धेरै स्वदेशी रोमियोहरु आधा रङ्ग खुईलिएको साइकल, यादहरु र केहि फाटफुट चिठ्ठिपत्रको सहारामा बाँच्नुपर्ने हुन्छ, गाह्रो छ उसले थप्दै गयो ।

उसको मुटुले अझै भन्छ कि उनले उसलाई नै माया गर्थिन रे, अझैपनि उसलाई सम्झिएर विदेशमा धेरै रुन्छिन जस्तो लाग्छ रे उसलाई ।

उसको एउटा बिन्ती छ, कृपया ठूला प्लेनमा आएर उ जस्ता साना मान्छेहरुको मायालु खोसेर नलगिदेओ रे ? विदेश जान्छौ, उतै कमाउछौ, बस्छौ बरु उतैनै कोही विदेशी या त्यहाँ भएका स्वदेशी विहे गरे भईगो नि । यहाँ आएर अर्काको माया खोसेर नलगिदेउ, कृपया…

यो संसार गोलो छ, यहाँ धेरै दोबाटाहरु छन् र जीवन लामो छ । एकदिन उसले उनलाई त्यस्तै कस्तै दोबाटोमा भेटेर सोध्नेछ रे ! आखिर किन यस्तो गर्यौ भनेँर ? हुन त उन्ले जति नाँईनास्ती गरेपनि मान्नेले मानिदिए पो ? उनका बुवाआमा आफ्नी एउटैमात्र छोरीलाई विदेश पठाउन र लाहुरेलाई अन्माएर दिन पाएकोमा बेजोड खुशी थिए रे तर पोहोर साल उनकी आमाको पुरानो गानो दुख्ने बेथालाई ओखतीले नि नभेटेर डाक्टरकैमा लगेर चारदिन त सलाइन पानी दिएरै राखेको । अस्पतालमा साह्रै हुनुन्छु भनेको सुनेपछि उनकी आमालाई पुर्याउन त्यहि साईकलमा उ पनि गएको थियो । छोरीलाई नभेटी मर्नेभएँ भनेर उसकी हुननसकेकी सासुआमा रुँदैथिईन । छोरी नजिकै होस भनेर चिताउनेले किन सात समुन्द्र पठाउनु ? अस्पताल कोठाको दैलोमा बसेर उ सोंच्दै थियो । बुढी अलिक बिसेक भएर घरमा आएकी छिन तर बेलाबेला अभर पारिरहन्छ रे ! विहेगरेर गएपछि चार वर्षमा प्रथम पटक उनि आउने रे भन्ने सुनियो यस्पाला वैशाखमा

भावना उर्लेर आएपछि प्रश्न बिनानै जवाफ आउने रहेछ, उ क्रमश: प्रश्न बिनाको जवाफ प्रस्तुत गर्दै गयो….

आखिर विदेशका सुकुमार आएपछि हामी गाँउका गुईठे हरुवा-चरुवालाई पर्खिने कोही नहुँदो रहेछ ? खै किन हो विदेशबाट आएको भनेपछि सबैजनाको मन पगालिंदो रछ प्लस टु को रिजल्टनै नआई उ गई ।

उनि गइन अनि उसको जिवन शुन्य भयो तर समय त नरोकिने रहेछ । हरेक दिन विहान सूर्य उनि भएका बेला जस्तै उदाइरह्यो र साँझमा अस्ताइरह्यो, जाडो गर्मी यावत रुपले समय ब्यतित भइरह्यो, दशैँ आयो, तिहार आयो केवल उनि आइनन र उसको मनबाट गइनन ।

बिर्सन त झन गाह्रो बरु संझिन सजिलो, उ लामो श्वाँस फेर्छ…

उसले गाँउमै बसेर पनि गरि खाएको छ । डलर साटेजति त कहाँ पाउनु तर खान पुग्छ । उनि आएपछि उस्ले उनिलाई सम्पर्क गर्न चाहेको पनि छैन उहि एकचोटी फेसबुकमा उनलाई एड गरेको थियो रे! तर उता एसेप्पट भएन ?

उनीको बानीनै यस्तै हो, जे पनि पेन्डिङ्गमा राख्ने । पहिलो चोटी प्रस्ताव राख्दा पनि उत्तर नआई पेन्डिङ्ग थियो र अहिले पनि रिक्वेस्ट पेन्डिङ्ग नै छ, उ मुस्कुरायो । अब म चाँही पेन्डिङ्गमा बस्दिन, उनीले छोडिन तर केहि छैन । उ अब अर्की उनिको खोजीमा थियो ।

यहाँ धेरै उहरु उनिको वियोगमा बसेका छन्, धेरै उनिहरु विदेशबाट आएका तेस्रो पक्षसँग अन्मिएका छन् र यस्ता यस्ता कथाहरु जन्मिएका छन् । कसैको जीवनसँग मेल खान गएमा संयोगमात्र हुनेछ । उनिले के भएर त्यसो गरिन् ? किन उसलाई छाडिन ? यो कथामा उनिका भावनाहरु समेट्न सकिएको छैन, म लेखक भएका नाताले उनिसँग यो कथाको आधा भाग खोतल्न चाहिरहेको छुँ, एकदिन उनिसगँ भेट भएपछि या भेटेर म यो कथालाई पूर्ण बनाउनेछु । यदि तपाइले उनिलाई ठम्याउन सक्नुभयो भने मलाई खबर गर्नु ल ? आखिर उनि अहिले कस्तो जीवन बाँचिरहेकी छिन ? गाँउ भन्दा पर, ठूला शहरमा सुकिली मुकीली भएर के उनिले उसलाई बिर्सि सकिन, कि अझै बिर्सिन बाँकी छ ?

यता उसको जिन्दगी अनेक कथा र पात्रहरुले भरिएको छ अरे! आजभोली उ मेरो असल साथी भएको छ, दिन-दिनै भेटने गरेको छु उस्लाई, उसका कथाहरु अब म लेख्छु । एकदिन फेरि उसको कथा लिएर म आइपुग्छु त्यतिन्जेलसम्म “सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला, यो कथा बैकुण्ठै जाला, भन्ने बेलामा शुरुरुरु आइजाला ।”

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!