विदेशमा अलपत्र परेका नेपालीलाई आजदेखि नेपाली एयरलाइन्सको चार्टर्ड उडानमार्फत स्वदेश फर्काइँदैछ । विभिन्न मुलुकमा अलपत्र नेपाली ल्याउन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी लगानीको हिमालय एयरलाइन्सका जहाज प्रयोग हुनेछन् । नेपाल एयरलाइन्सले आज बङ्गलादेशको ढाकाबाट अलपत्र नेपाली नागरिक ल्याउने कार्यतालिका छ । नेपाल एयरलाइन्सको वाइडबडी ए–३३० जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०ः३० बजे ढाका उड्ने छ भने उताबाट दिउँसो २ः३० बजे काठमाडौँ अवतरण गर्नेछ । निगमका प्रवक्ता अर्चना खड्काले विदेशमा अलपत्र नेपालीलाई निगमका जहाजले आजदेखि स्वदेश ल्याउन शुरु गर्ने जानकारी दिनुभयो । नेपाली लिन विभिन्न मुलुकका गन्तव्य पुग्ने निगमका जहाज यताबाट प्रायः रित्तै जानेछन् । तथापि निगमका जहाज जाने गन्तव्यमा यात्रु जान चाहे लगिदिनेछ । निगमका प्रवक्ता खड्काले नेपालबाट फर्कन चाहने यात्रुलाई सम्बन्धित मुलुकको दूतावास वा नेपालको परराष्ट्र मन्त्रालयको लिखित कागजातका आधारमा लैजान सकिने व्यवस्था मिलाइएको बताउनुभयो । सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करिब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेसँगै निगमले जुन महिनाभर विभिन्न देशबाट गरिने चार्डर्ड उडानको कार्यतालिका बनाइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एयरलाइन्सलाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो । त्यस्तै २४ वटासम्म विदेशी एयरलाइन्सलाई उडान अनुमति दिइएको छ । नेपाल एयरलाइन्सका दुई वाइडबडी र दुई न्यारोबडी गरी चार जहाजले उडान गर्नेछन् भने नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी लगानीको हिमालय एयरलाइन्ससँग चार न्यारोबडी जहाज छन् । निगमको अपरेशनल विभागका अनुसार नेपाल एयरलाइन्सले जुन १४ तारिखमा बङ्गलादेशको ढाका, जुन १५ मा माल्दिभ्सको माले र मलेशियाको क्वालालम्पुरमा उडान गर्नेेछ । त्यसैगरी जुन १६ मा दुबई र कतारको दोहा, जुन १७ मा अष्ट्रेलियाको सिङ्नी, थाइल्याण्डको बैंकक र बहराइनबाट नेपाली ल्याइनेछ । जुन १८ मा साउदी अरेबियाको रियाद र दुबई, जुन १९ मा जापानको नारिता र कुवेत, जुन २० मा साइप्रस, क्वालालम्पुर र दोहा उडान हुनेछ । त्यसैगरी जुन २१ मा दक्षिण कोरियाको सोल र ओमानको मस्कट, जुन २२ मा सम्भावित मेल्बर्न, बैंकक, जुन २३ मा नारिता र माले, जुन २४ मा सम्भावित साउदी अरबको जेद्दाह, कुवेत र जुन २५ तारिखका दिन सम्भावित अमेरिकाको लसएन्जलस या डालस उडान गर्ने योजना रहेको निगमले उल्लेख गरेको छ । हिमालय एयरलाइन्सले पनि बङ्गलादेश, श्रीलङ्का, मलेशिया, कतार, साउदी अबर, युएई, कुवेतलगायत मुलुकबाट चार्टर्ड उडान गरी नेपाली स्वदेश ल्याउनेछ । चार्टर्ड उडानको भाडा घट्यो मन्त्रालयले विदेशमा अलपत्र नेपाली ल्याउन गरिने चार्टर्ड उडानको भाडा घटाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले शनिबार सिंहदरबारमा नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सका अधिकारीसँग गर्नुभएको छलफलपछि हवाई भाडादरमा पुनरावलोकन गरिएको हो । छलफलमा पर्यटनमन्त्री भट्टराईले हालको प्रस्तावित हवाई भाडा समायोजन गर्न दुवै एयरलाइन्सलाई अनुरोध गर्नुभएको थियो । सोहीबमोजिम निगमले हवाई भाडादरमा पुनरावलोकन गरेको जनाइएको छ । कूल लागतको २० प्रतिशत वा १०० डलरसम्म भाडा घटाउने निर्णय भएको छ । “यसभन्दा अगाडि जारी गरिएको भाडादरका सम्बन्धमा आएका गुनासालाई सम्बोधन गर्न गरिएको अधिकतम प्रयासस्वरुप हवाई भाडादर घटाउने निर्णय लिइएको हो”, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ । सरकारको अनुरोधबमोजिम खाडी राष्ट्रलगायत नेपालीहरुको मुख्य श्रम गन्तव्य मुलुकबाट नेपाली नागरिकलाई नेपाली विमानमार्फत स्वदेश फर्काउन भाडा घटाइएको मन्त्रालयले जनाएको छ । घटेको नयाँ भाडादरअनुसार मलेशियाको भाडा ४६५ डलरबाट ३७२ डलर कायम भएको छ । त्यसैगरी दोहाको ४९० डलरबाट घटाएर ३९२ डलर बनाइएको छ । दुबईको ३६० डलर भाडा लाग्नेछ भने साउदी अरेबियाको दमामका लागि ४३० र ५९० डलर कायम गरिएको छ । ओमानको ३६८, बहराइनको ३९२ डलर भाडादर कायम गरिएको छ । कुवेतको भाडा ४१०, जोर्डनको ६७५ र साइप्रसको ७३० डलर भाडादर तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!