शनिबार, जेठ ३१, २०७७ || 673  पटक पढिएको

भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको मर्मतसम्भार गर्नुपर्ने भएपछि त्यहाँका सङ्क्रमितलाई भरतपुर अस्पताल सारिने भएको छ । भरतपुर महानगरपालिकाले स्थापना गरको कोरोना अस्पतालको व्यवस्थापन वैशाख १ गतेबाट भरतपुर अस्पतालले हेर्दै आएको छ । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार त्यहाँ रहेका सङ्क्रमितलाई आजै भरतपुर अस्पताल सारिने छ । कोरोना अस्पतालको शौचालयमा समस्या देखिएको छ भने पङ्खालगायतको मर्मतसम्भार गर्नुपर्ने भएको छ । सङ्क्रमित भएको ठाउँमा मर्मतसम्भारको काम गर्न नमिल्ने भएकाले सङ्क्रमित सार्न लागिएको हो । सो ठाउँलाई निर्मलीकरण गरेर मर्मतसम्भारपछि सङ्क्रमित राखिने छ । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार भरतपुर अस्पतालको हाडजोर्नी र सर्जरी विभागका सङ्क्रमितलाई स्थानान्तरण गरिँदैछ । हाडजोर्नीकालाई स्पाइनल र सर्जिकललाई मेडिकल वार्डमा सारेर ठाउँ खाली गरिएको छ । ती दुई वार्ड र क्याविनमा ६५ सङ्क्रमित राख्न सकिने तिवारीले जानकारी दिनुभयो । अस्पतालले कोभिड–१९ का लागि १० श्ययाको सघन उपचारकक्ष तयारी अवस्थामा राखेको छ । सङ्क्रमित अरु थप भएमा विभाग खाली गर्दै लगिने उहाँले जानकारी दिनुभयो । हाल भरतपुर अस्पतालमा रहेका नौमध्ये आज दुई घर फर्किँदैछन् । यस्तै कोरोना अस्पतालका २२ मध्ये चार डिस्चार्ज भई १८ जना भरतपुर अस्पतालमा सारिने उहाँले बताउनुभयो । माडीमा शुक्रबार सङ्क्रमण पुष्टि भएकामध्ये ज्वरो आएका एक जनालाई भरतपुर अस्पताल ल्याइएको छ भने अन्यलाई माडीकै बघौडा अस्पतालको आइसोलेसनमा राखिएको छ । पिसीआर नगरी छ सङ्क्रमितलाई घर पठाइँदै कोरोनाको सङ्क्रमण देखिएपछि भरतपुर अस्पताल र भरतपुर कोरोना विशेष अस्पतालमा राखिएका पाँच जनालाई अस्पतालले डिस्चार्ज गरेको छ । उनीहरुको डिस्चार्ज शुक्रबार भएको भए पनि आज घर जाँदैछन् । डिस्चार्ज हुनेमा नवलपुर देवचुली वडा नं १ र १२ का दुई, विनयत्रिवेणी–६ नवलपुरका एक र भरतपुर महानगरपालिका–६ का तीन छन् । भारतमा क्यान्सरको उपचार गराएर फर्किएका भरतपुर–६ केशरवागका एक वृद्ध, उनकी श्रीमती र छोरासमेतलाई डिस्चार्ज गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले जानकारी दिनुभयो । उनी भरतपुर अस्पतालमा २१ दिनदेखि बसिरहेका छन् । यस्तै देवचुली–१२ का ४९ वर्षीय सङ्क्रमित ३१ दिन र देवचुली नगरपालिका–१ का सङ्क्रमित १५ दिन र विनयत्रिवेणी नगरपालिका– ६ का सङ्क्रमित २० दिनदेखि अस्पतालमा बसिरहेका छन् । सरकारले गत जेठ २० गते जारी गरेको राष्ट्रिय जाँच परीक्षण निर्देशिकाअनुसार कोरोना सङ्क्रमित व्यक्तिमा सङ्क्रमण लक्षणमुक्त भएको तीन दिन र जम्मा भर्ना भएको १४ दिनपछि परीक्षण नगरी डिस्चार्ज गर्न निर्देशन दिएसँगै उनीहरुलाई डिस्चार्ज गरिएको तिवारीले जानकारी दिनुभयो । यस्ता बिरामीबाट कोरोना सङ्क्रमण अरुमा सर्ने सम्भावना न्यून भएको हुँदा परीक्षण नगरी घर पठाइने उहाँले बताउनुभयो । तिवारीले कुनै पनि सङ्क्रमण पुष्टि भएका बिरामीलाई दोहो¥याएर परीक्षण नगरिने बताउनुभयो । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले डिस्चार्ज भएका सबै जनालाई घरमा गएर थप १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने, सबै नियमको पालना गर्न सुझाव दिइएको बताउनुभयो । सङ्क्रमितलाई एक मिटरको दूरी कायम गरेर बस्न, साबुनपानीले पटकपटक हात धुन, पौष्टिक र सन्तुलित खानपान गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!