लाखौंका लागि उजाड छ यो देश

गरिबहरु भोक-भोकै

शुक्रबार, जेठ ३०, २०७७ || 767  पटक पढिएको

सरकार भन्छ, ‘घरभित्र बस्नुहोस् । घरभित्रै सुरक्षित हुन्छ ।’ सरकारको यो सम्बोधनले ती तमाम सर्वसाधारणलाई समेट्दैन, जसको घरै छैन ।

कतिपय बनिबुतो गरेर अर्काको छानोमा जेनतेन ओत त लागेका छन् । तर, हप्तौंलाई भरपेट पुग्ने खानेकुरा उनीहरुको भान्सामा छैन । यी लाखौं सर्वसाधारण रोग र भोकसँग एकसाथ जुधिरहेका छन् ।

यो पनि पढ्नुहोस
राहत नपाउँदा रौटहटका विपन्नहरू भोकभोकै
गरिबहरु भोक-भोकै

सरकारले भन्छ, ‘हामी राहत दिन्छौँ।’ जबकी सरकारले दिने राहतको डाडुपन्युँ पार्टी कार्यकर्ताको हातमा हुन्छ । उनीहरुकै हालीमुहाली चल्छ । राहतको रकम खल्तीमा हालेका छन् । आफन्त, चिनेजानेकालाई बाँडेका छन् । वास्तविक गरिबले राहत पाएकै छैनन् । पाउनेले पनि कुहिएको चामल वा एक प्याकेट नुन मात्र ।

यो पनि पढ्नुहोस
राहतको रमिता : एक डाडु तेल, दुई मुठी मुसुरोको दाल !
जसको चुलो बल्दैन

सहरमा लाखौं छन्, जो मजदुरी गरेर दुःखका साथ दुई छाक जुटाउँछन् । सहरको गल्लीमा रात कटाएर वा खोला किनारमा त्रिपालमुनि ओत लागेर कष्टपूर्वक बाँच्छन् । बिहान पसिना नचुहाएसम्म साँझ उनीहरुको पेटमा अन्न पर्दैन ।

सहरमा भारी बोकेर गाउँका लालाबाला पाल्नेहरुको आफ्नै व्यथा छ । गोदाममा रात कटाएर दिनभरि भारी बोक्छन् । आधा पेट खाएर दुई चार पैसा जोहो गर्छन्, घर-परिवारका लागि । ज्यामी, मजदुरी गर्नेहरुले काम गरेको पारिश्रमिकविना ठेकेदारहरु भागेका छन् । सामान्य रोजगारी गर्नेहरु कामबाट निकालिएका छन् ।

सिमेन्ट-बालुवा ओसार्ने काम गरेर, अर्काको घर बनाउने ज्यामी काम गरेर, रंग-रोगनको काम गरेर, इनार–शौचालयको ट्याङ्की सफा गरेर, ठेलामा चटपटे बेचेर, गल्लीमा केही मुठा साग बेचेर बाँच्नेहरुको गरिखाने मेलो हराएको छ ।

यो पनि पढ्नुहोस
मजदुरलाई रोगभन्दा भोक सहन गाह्रो
अर्काको जग्गा भाडामा लिएर खेती-किसानी गर्नेहरु, ऋणपान गरेर कुखुरा–सुँगुर पाल्नेहरु ‘न गरिखानु, न मरिजानु’को बाध्यतामा छन् । चर्को ब्याजमा ऋण लिएर विदेशमा श्रम बेच्न पुगेकाहरु बेतलबी कोठामा थन्किएका छन् । साँघुरो कोठाभित्र १०-१२ जना कोचिएर दिनहरु कटाउँदैछन् ।

लाखौं-लाख सर्वसाधारणको चुल्हो निभेको छ अहिले ।

शहर छाड्दै

भोक खप्नै नसकेपछि थुप्रै सर्वसाधारण शहर छाड्ने क्रममा छन् । रोगी बुढाबुढी डोहोर्‍याएर, काखे बच्चा च्यापेर उनीहरु निस्किएका छन् । कहाँसम्म पुगिन्छ ? के गरेर बाँचिन्छ ? टुङ्गो छैन । साथमा खनेकुरा छैन, बास बस्ने खर्च छैन । चर्को गर्मीमा भोको पेट हिँडिरहेका छन् । गाउँघरमा पुगेपछि ऐँचोपैँचो गरेर भएपनि पेट भर्न सकिन्छ । भोक-भोकै मर्न त पर्दैन । मनमा यस्तै आशा बोकेर उनीहरु सयौं किलोमिटरको दुरी छिचोल्न तयार भएका छन् ।

तर, उनीहरुमध्ये धेरैजसो सहरका गल्ली र सडकमै अलपत्र छन् । हिँड्दाहिँड्दा थाकेर कोही सडक किनारमा सुतेका छन् । किनभने ठाउँ-ठाउँमा उनीहरुले अवरोध छिचोल्नुपर्नेछ । कतै प्रहरीले रोकेको छ, कतै स्थानीयवासीले ।

कसले सुन्छ दुखेसो ?

आफ्नो कामधन्दा रोकिएको छ । साहु-ठेकेदारले पैसा नदिइ बेखर्ची बनाइदिएका छन् । खाने–बस्ने मेलो छैन । घण्टौं लाइनमा उभिएर लिएको राहतको चामल खाइसक्नु छैन । भोकले सताएपछि सहर छाड्नुपर्ने बाध्यता छ । तर, घर नजिक छैन । सयौं किलोमिटर हिँड्नु छ । त्यो पनि ठाउँ-ठाउँमा प्रहरीले रोक्छ ।

सडकमै अलपत्र पर्नुपरेको छ । सीमा क्षेत्रमै अलपत्र पर्नुपरेको छ । विदेशका साँघुरो कोठाभित्र कोचिनुपरेको छ ।

यो पनि पढ्नुहोस
खाडीका नेपालीको संकट : कसैको तलब आउन छाड्यो, कतिले खाना किन्न पाएनन्
उनीहरु कति पीडामा छन्, कति कष्टकर जीवन भोगिरहेका छन् भन्न सक्दैनन् । व्यक्त गर्ने ठाउँ छैन वा पहुँच छैन । न उनीहरुसँग त्यस्तो शक्ति नै छ । सत्तामा बसेकाहरु, धनीमानीहरु, बुद्धिजीवीहरु कसैले उनीहरुलाई देख्दैन । न उनीहरुसँग आफ्नो दुखेसो काठमाडौंसम्म, सिंहदरबारसम्म पुर्‍याउने माध्यम छ ।

लाखौंका लागि उजाड छ यो देश, मुठ्ठीभरका मानिसका लागि स्वर्ग।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!