शुक्रबार, जेठ ३०, २०७७ || 1020  पटक पढिएको

कोभिड–१९ रोकथाम र नियन्त्रणमा सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै राजधानी काठमाडौं, पोखरा, विराटनगर, चितवन र जनकपुरमा बिहीबार व्यापक प्रदर्शन भएको छ । संक्रमण पहिचानका लागि पीसीआर परीक्षण बढाउन र खर्च पारदर्शी बनाउन माग गर्दै युवाले स्वस्फूर्त प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्री निवास नजिकै बालुवाटार क्षेत्रमा बिहीबार युवाले गरेको प्रदर्शनमा सुरक्षाकर्मीले प्रहर गरेको पानीको फोहोरा । विराटनगर, पोखरा, चितवन, जनकपुर लगायत क्षेत्रमा पनि प्रदर्शन भएका थिए । तस्बिर : इलिट जोशी/कान्तिपुर

प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा ३ दिनयता सरकारविरोधी आन्दोलन भइरहेको छ । युवाले बिहीबार पनि त्यस क्षेत्रमा प्रदर्शन गरे । भाटभटेनी–बालुवाटार सडकमा बिहान पौने ११ बजेतिर हातमा प्लेकार्ड बोकेका युवा एकाएक उत्रिएका थिए । उनीहरू निषेधित क्षेत्रतर्फ अघि बढेपछि प्रहरीले भीड हटाउन खोजेको थियो । तर भीड बढ्दै सडक ढाकिएपछि प्रहरीले गाडीबाटै पानीको फोहोरा हान्यो । भीड तितरबितर नभएपछि ११ सेल अश्रुग्यास प्रहार गरिएको थियो । केहीलाई लाठी प्रहार गर्दै प्रहरीले नियन्त्रणमा लिएको थियो । पानीको फोहोरा र लाठी प्रहारबाट केही घाइते भएका छन् ।
सरकारविरुद्ध चर्को नाराबाजीमा उत्रिएका उनीहरू २० देखि ३५ वर्ष उमेर समूहका थिए । ‘केपी ओली सरकार असफल’, ‘समाधान लकडाउन होइन, अब पुग्यो’ जस्ता नारा लेखिएका प्लेकार्डसहित उनीहरू आएका थिए । युवा दिनहुँजसो प्रदर्शनमा उत्रन थालेपछि बालुवाटार क्षेत्रमा प्रहरी तैनाथी बढाइएको छ ।

महानगरीय प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेलले संक्रामक रोग नियन्त्रण ऐन, लकडाउन र संकटविरुद्ध सरकारले जारी गरेका नीति/निर्देशन उल्लंघन गरेकाले बल प्रयोग गर्नुपरेको बताए । ‘सामाजिक सञ्जालमा सम्पर्क र संगठित भएर एकाएक उनीहरू योजनाबद्ध रूपमा सडकमा आएको देखिन्छ,’ उनले भने, ‘तर अहिले सडकमा आन्दोलन, प्रदर्शन, नाराजुलुस गर्ने बेला होइन, जसले यस्ता गतिविधि गर्छन्, कानुनअनुसार बल प्रयोग गरेर वा अन्य माध्यमबाट नियन्त्रणमा लिइन्छ ।’

पोखरास्थित संवाददाताका अनुसार युवाले जिल्ला प्रशासन कार्यालय अगाडि बिहीबार एक घण्टा ‘मौन’ प्रदर्शन गरेका छन् । सयौंको संख्यामा उपस्थित युवा विभिन्न नारा अंकित प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । सामाजिक सञ्जालबाटै आह्वान गरिएको प्रदर्शनमा पोखराका विभिन्न स्थानबाट युवा सहभागी थिए । क्वारेन्टाइन व्यवस्थित गर्नुपर्ने, पीसीआर परीक्षण गर्नुपर्ने, आरडीटी परीक्षण पूर्ण रूपमा बन्द गर्नुपर्ने मागका प्रदर्शन गरिएको अभियन्ता सलिजा श्रेष्ठले बताइन् ।

प्रदर्शनका क्रममा विमलबहादुर पहारी र प्रेमबहादुर केसीले प्रहरीलाई ढुंगा प्रहार गरेपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता इन्स्पेक्टर नरहरि अधिकारीले जानकारी दिए । युवा समूहले विज्ञप्ति जारी गरेर ती युवाको आयोजकसँग कुनै सम्बन्ध नरहेको जनाएको छ । पक्राउ परेका पहारी पोखरा–६ का वडाध्यक्ष जगतबहादुर पहारीका छोरा र केसी नेविसंघका नेता रहेको खुलेको थियो ।

चितवनस्थित संवाददाताअनुसार त्यहाँ भरतपुर, नारायणगढ क्षेत्रका युवा, व्यवसायी र विद्यार्थीले स्वस्फूर्त रूपमा प्रदर्शन गरेका छन् । उनीहरू प्लेकार्ड बोकेर र अनुहारमा मुखौटा लगाएर प्रदर्शनमा आएका थिए । ‘सरकारले यो बेला जे गरेको छ, त्यो ठीक छैन । सटर भाडामा लिएर सानो व्यवसाय गर्ने हामीजस्ता सयौं मानिस मर्कामा छौं,’ प्रदर्शनमा सहभागी जीवन ढुंगानाले भने । सहभागीले चौबिसकोठी चोकमा बिहान ११ बजेदेखि डेढ घण्टासम्म सरकारविरोधी मौन प्रदर्शन गरेका थिए ।

जनकपुरस्थित संवाददाताअनुसार कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा ध्यान नदिई भ्रष्टाचारमा लिप्त भएको भन्दै त्यहाँ सरकारविरुद्ध प्रदर्शन भएको छ । युवाले ‘जनतालाई छैन सरकारको आस’, ‘कार्पेट हैन सोच बदलौं’, ‘पैसा छैन गोजीमा, सरकार करको खोजीमा’ जस्ता नारा लेखिएका प्लेकार्डसहित जनकचोक र शिवचोकमा प्रदर्शन गरेका थिए । प्रदर्शनमा व्यापारी पनि सहभागी थिए । उनीहरूले गरिब, मजदुर तथा व्यापारीलगायतका लागि राहत यथाशीघ्र व्यवस्थापन गर्न माग गरे । व्यवसायी सरोज मिश्रले सरकारलाई सही बाटोमा ल्याउन विरोध गरेको बताए ।

विराटनगरस्थित संवाददाताका अनुसार त्यहाँ युवाले देवकोटा चोकबाट र्‍याली निकालेका थिए । सहभागीले व्यंग्य मिश्रित प्यारोडी गाएका थिए । र्‍याली महानगरका मुख्य चोक र बजार क्षेत्र परिक्रमा गरेर प्रदेश १ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअघि पुगेको थियो ।

प्रदर्शनमा रोक
सरकारविरुद्ध सडक प्रदर्शन बढ्न थालेपछि गृह मन्त्रालयले सार्वजनिक स्थलमा भेला भएर आन्दोलन तथा विरोधका कार्यक्रम गर्न रोक लगाएको छ । मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय र मातहत सुरक्षा निकायहरूलाई यसबारे बिहीबार निर्देशन दिएको छ । लकडाउन उल्लंघन गर्दै प्रदर्शनमा उत्रिए संक्रामक रोग ऐनअनुसार कारबाही गर्ने मन्त्रालयले जनाएको छ । ऐनमा १ महिनादेखि ६ महिनासम्म थुनामा र एक सयदेखि ६ सय रुपैयाँसम्म जरिवाना गर्न सक्ने प्रावधान छ । ‘लकडाउन उल्लंघन गर्ने, संक्रमणको जोखिम बढाउने र सामाजिक सद्भाव खलबल्याउने गरी कुनै पनि गतिविधि गर्न नदिन प्रशासन कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिएका छौं,’ गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले भने ।

गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै केही दिनदेखि विभिन्न बहाना र माग राखेर सामाजिक सञ्जालबाट सर्वसाधारणलाई निश्चित स्थानमा जम्मा हुन आह्वान गर्ने, जुलुस प्रदर्शन, शान्तिपूर्ण धर्नाका नाममा धेरै व्यक्तिलाई सहभागी गराउने, ज्ञापनपत्र दिन जानेजस्ता कामका नाममा अनावश्यक भीडभाड गरी अप्रत्यक्ष रूपमा बन्दाबन्दीको आदेश अवहेलना हुने गरी देखाएको प्रवृत्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ । प्रदर्शनका कारण आवश्यक काम नपरी हिँडडुल गर्न नहुने, हिँडडुल गर्नुपर्ने भए पनि न्यूनतम भौतिक तथा सामाजिक दूरी कायम गर्नुपर्ने, मास्क, सेनिटाइजर प्रयोग गर्नुपर्ने, अनावश्यक भीडभाड नगर्ने/नगराउने सरकारको आदेश उल्लंघन भएको मन्त्रालयको ठम्याइ छ ।

आन्दोलनका नाममा नियोजित जुलुस तथा भेला हुन थालेको सरकारी निष्कर्ष छ । ‘सरकारले जनजीवन सामान्यतर्फ उन्मुख हुने गरी कदम चालिसकेको अवस्थामा संक्रमणको जोखिम बढाएर हूलहुज्जत, प्रदर्शन तथा भेला हुनुमा नियोजित उद्देश्य प्रस्ट देखिन्छ,’ प्रधानमन्त्री कार्यालय स्रोतले कान्तिपुरसँग भन्यो, ‘यसबाट सरकारको विरोधभन्दा पनि संक्रमण फैलाउने जोखिम छ, यसको जिम्मा कसले लिन्छ ?’ नेतृत्वविहीन भीड जम्मा गरेर भड्काउन खोजेकाले यसलाई बेलैमा नियन्त्रणमा लिन गृहलाई निर्देशन दिएको स्रोतको भनाइ छ । गृहका सहप्रवक्ता अधिकारीले पनि नेतृत्वविहीन भीडबाट संक्रमण सरे जिम्मेवारी कसले लिने भन्ने भएकाले बेलैमा सचेत भएर पछिल्लो कदम चाल्नुपरेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!