खबर ठुलो छ

३४ वर्षीय शेष अन्जारे क्वारेन्टाइनका नाइके हुन् । भारतको गुजरात अहमदावादबाट १४ दिनअघि घर फर्केर क्वारेन्टाइन छिरेका अन्जारे समूहमा चल्तापुर्जा भएकाले उनलाई टोलीको नाइके तोकियो । सरकारको मापदण्डअनुसार उच्च सुरक्षा सतर्कतासहित क्वारेन्टाइन सञ्चालन हुनुपर्ने हो तर पुरानो विद्यालयमा बनाइएको क्वारेन्टाइन रेखदेख गर्ने कोही सरकारी अधिकारी नभएपछि उनी आफैं अघि सरे र क्वारेन्टाइनको नाइके भए ।

महोत्तरीको सम्सी गाउँपालिका–२ स्थित अनबर रेजा मदर सामा सञ्चालित क्वारन्टाइन, जहाँ ४० जनाजति मात्रै अट्न सक्ने भए पनि १६५ जनालाई राखिएको छ । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

अहिले त्यहाँ बसिरहेका २ सय ९ जनाको गुनासो सुन्ने काम उनैले गर्छन् । हुन त अन्जारे स्वयंसँग पनि गुनासोको ठूलो भारी छ तर बिसाउने ठाउँ छैन ।
दिउँसो १२ बजे दक्षिणी सीमावर्ती सम्सी गाउँपालिकाको पर्सादेवाडस्थित राष्ट्रिय माध्यमिक विद्यालय पुग्दा अन्जारे छवैको खेतको आली हुँदै क्वारेन्टाइन फर्किरहेका थिए । उनी त्यही आलीको बाटो भएर शौच गर्न अलि परको खोलामा पुगेर फर्किएका हुन् । ‘के गर्नु, एउटा ट्वाइलेट छ, २ सय १० जना छौं, जतिबेलै ट्वाइलेट जानेको लाइन हुन्छ,’ अन्जारेले कान्तिपुरसँग भने, ‘खप्न नसकेपछि खोलामा पुगेर आएँ ।’ उनीहरूलाई खोलामा पुग्न करिब १० मिनेट लाग्छ ।

अन्जारे बिहान उठ्नासाथ शौच गर्न खोलामा पुग्छन् । खाना खाएर नुहाउन गाउँमै जान्छन् । खाना खाएपछि फुर्सदको समय क्वारेन्टाइन अगाडिको छाप्रोमा बिताउँछन् । १० वर्षदेखि भारतमा मजदुरी गर्दै आएका उनले पछिल्लो पटक डेढ महिना मात्रै काम गर्न पाए । लकडाउनमा परेर घर फर्किंदा उनीसँगै क्वारेन्टाइनमा आएका ३३ जनासहित २ सय १० जना भारतबाटै आएका हुन् । उनीहरूलाई सीमाबाट क्वारेन्टाइनमा ल्याइएको हो । तर, क्वारेन्टाइनको व्यवस्थापन नहुँदा उनी थप जोखिममा परेका छन् । कान्तिपुरसँग कुराकानी गरेको केही बेरपछि उनी स्कुलको गेटमा रहेको छाप्रामा बसेर गाउँलेहरू तास खेलेको हेरिरहेका थिए । ती गाउँले भने क्वारेन्टाइनबाहिरका हुन् ।

विद्यालयको एकमात्र शौचालयमा घण्टौंसम्म पालो कुर्नुपर्ने भएपछि अन्जारेजस्तै अरू पनि दिसापिसाब गर्न, नुहाउन र समय बिताउन गाउँमै पुग्छन् । नजिकै रहेको अर्काे क्वारेन्टाइनमा साइकल चढेर आउजाउ गर्छन् । आफ्नो क्वारेन्टाइन अघिल्तिरको चौतारामा बसेर गफगाफ गर्छन् ।

मधेसमा खप्नै नसकिने गर्मी छ । झन् जस्ताको छाना भएको विद्यालयमा दिउँसो टिक्नै गाह्रो । क्वारेन्टाइनमा रहेकाहरू गर्मी छल्न विद्यालय आसपासको चौतारामा बस्छन्, नुहाउन कल खोज्दै गाउँतिर जान्छन् । क्वारेन्टाइनमा नुहाउने एकमात्र धारो छ, त्यसमा २ सय १० जनालाई नुहाउन कठिन पर्छ । शौचालयको छेउछाउ पुग्नै सकिन्न ।

क्वारेन्टाइन बसाइको पहिलो दिन त उनीहरूले खानसमेत पाएनन् । भोकभोकै बस्न बाध्य भएपछि घरघरबाट खाना मगाएर खाए । क्वारेन्टाइनको समस्याबारे गाउँपालिका प्रमुख फारुक शेष, प्रदेश सांसद कौशल यादव र संघीय सांसद सुरेन्द्र यादवलाई फोन गरेरै जानकारी गराएको अन्जारेले बताए । ‘तर उनीहरूले हाम्रो कुरा सुनेनन्, सांसदहरूले त फोन नै उठाउन्नन्,’ उनी दु:ख पोख्छन् ।

क्वारेन्टाइनमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी नहुँदा खुला चौर रहेको विद्यालयमा गाउँका सर्वसाधारण भित्र प्रवेश गर्ने र क्वारेन्टाइनमा रहेकाहरू गाउँमा सजिलै हिँड्दा–डुल्दा संक्रमण फैलने जोखिम छ । सुत्ने व्यवस्था नभएकाले दिउँसो क्वारेन्टाइनमा बस्नेहरू राति सुत्न घर जाने गरेको स्थानीय बताउँछन् । ‘सुत्ने ठाउँ छैन, २ सय १० जनालाई जम्मा १७ वटा त्रिपाल र ३९ वटा तन्ना दिइएको छ, बाँकी भुइँमा सुत्ने हो,’ अन्जारेले भने, ‘पानी पर्दा जस्ताको छानो चुहिएर सबै जना भिजिन्छ, रातभरि बरन्डामा ओत लाग्नुपर्छ । खुला क्वारेन्टाइन व्यवस्थित नरहेको र वर्षामा राति सुत्न समस्या भएपछि क्वारेन्टाइनमा बसिरहेकाहरूमध्ये कतिपय सुत्न घर जाने गरेको अन्जारेले स्विकारे ।

उक्त क्वारेन्टाइनमा अहिलेसम्म ९९ जनाको मात्रै पीसीआर परीक्षण भएको छ । रिपोर्ट आइसकेको छैन । गाउँमा आवतजावत र सामाजिक दूरी पालन नहुँदा क्वारेन्टाइनमा बसेर पनि कोरोना संक्रमण फैलिन सक्ने खतरा बढेको २५ वर्षीय शेष मोहम्मद नुराइनले बताए । ‘क्वारेन्टाइन त घरभन्दा पनि असुरक्षित छ,’ उनले भने, ‘एउटै कक्षाकोठामा त्रिपालमा कोचिएर सुत्दा, बस्दा, खाँदा झन् असुरक्षित भएको छु । नुहाउने र लुगा धुने साबुन, शौचालय, धारा, बत्ती, पंखा केही छैन,’ उनले भने । उनले निद्रा नलागेपछि रातभरि मच्छड मारेर बस्नुपरेको बताए ।

भारतबाट आएकाहरू क्वारेन्टाइनमा बस्नैपर्ने सरकारको निर्देशन पालन गर्नमात्रै कष्ट र जोखिम मोलेर क्वारेन्टाइनमा बसेको नुराइनले बताए । ‘हामीले केबल सरकारको निर्देशन पालना गरेका हौं,’ नुराइनले भने, ‘क्वारेन्टाइनमा कति असुरक्षित छौं, हामीलाई मात्रै थाहा छ ।’

क्वारेन्टाइनको सामान्य मापदण्डसमेत पूरा नगर्दा कोरोनाको उच्च जोखिममा रहेको भारतबाट आएका नेपाली मजदुर क्वारेन्टाइनमा भात खाएर राति सुत्न घर पुग्दा गाउँमा जोखिम बढेको पर्साको देवाड स्वास्थ्य चौकीका इन्चार्ज सुखचन्द्र यादवले बताए । वडा नं. २ मा तीनवटा क्वारेन्टाइन स्थापना गरिए पनि व्यवस्थापन फितलो भएको इन्चार्ज यादवले स्विकारे । ‘गाउँपालिका कार्यालयले क्वारेन्टाइनको व्यवस्थापन गर्न वडालाई जिम्मा दिएको छ,’ उनले भने, ‘त्यसका लागि पेस्की दिइएको छ तर एउटा वडामा मात्रै ६ सय जना क्वारेन्टाइनमा आउँदा व्यवस्थापन हुन सकेन । विद्यालयको खुला चौरमा घेराबेरासमेत गराउन सकिएन ।’ क्वारेन्टाइनमा रहेकाहरू शौचालय र नुहाउने बहानामा घरसम्म पुग्ने गरेको उनले बताए ।

सरकारको नियम पालना गर्न आफूहरू रातभरि मच्छड मारेर क्वारेन्टाइनमा बस्न बाध्य भएको २५ वर्षीय अम्बर भाइले बताए । ‘न ओछ्यान छ, न झुल पाएका छौं,’ अम्बरले भने, ‘एउटै त्रिपालमा १० जना सुत्छौं तर झुल नभएकाले रातको समय लामखुट्टे धपाउँदै रात बित्छ ।’ २ सय १० जना व्यक्तिमा कतिपय ओछ्याउने त्रिपालसम्म नपुगेपछि स्कुलका डेस्क, बेन्च र बाहिर पिँढीको चिसो भुइँमा सुत्न बाध्य छन् । टोलका बच्चादेखि बूढापाकासमेत क्वारेन्टाइनमा बसेका आफन्तलाई सहजै भेटेर भलाकुसारी गर्छन् ।

त्यहाँबाट ५ मिनेटको दूरीमा रहेको अनवारे रेजामा सञ्चालित क्वारेन्टाइनको अवस्था पनि उस्तै छ । ४० जना व्यक्तिलाई राख्न सकिने क्षमता भएको रेजा क्वारेन्टाइनमा गाउँपालिकाले १ सय ६५ जनालाई खाँदेर राखेको छ । जिल्लामा स्वाब परीक्षण गर्ने किट सीमित मात्रै आउने भएकाले क्वारेन्टाइनमा एउटै व्यक्तिलाई एक महिनासम्म राख्नुपर्दा भीड घटाउन नसकिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए ।

क्वारेन्टाइनमा दुई साता बिताइसकेकाहरूको पनि स्वास्थ्य जाँच हुन नसकेपछि आफूले किट उपलब्ध गराउन प्रदेशमा पहल गरिरहेको उनले बताए । क्वारेन्टाइनमा सुरक्षा व्यवस्था नहुँदा व्यक्ति राति घर जाने गुनासो आएकाले सकेसम्म सबै क्वारेन्टाइनमा सुरक्षा व्यवस्था मिलाउन आफू लागिपरेको उनको भनाइ छ ।

गाउँपालिकाका स्वास्थ्य संयोजक सञ्जय यादवका अनुसार सम्सीको १६ क्वारेन्टाइनमा १ हजार १ सय २४ जना छन् । सबै क्वारेन्टाइनको अवस्था राष्ट्रिय माविको जस्तै हो । महोत्तरीका ८७ क्वारेन्टाइनमा ३ हजार ४ सय २ जना बसेका छन् । ९ सय ५२ जना होम क्वारेन्टाइनमा छन् । महोत्तरीमा १ सय ४ जना कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ को सामाजिक विकास मन्त्रलायले जनाएको छ ।

संक्रमितको संख्या बढ्दै जाँदा पनि भारतसँग सीमा जोडिएको सम्सी गाउँपालिकाको यो अवस्थाले क्वारेन्टाइन व्यवस्थापनमा सरकारले गरेको तयारीलाई गिज्याइरहेको छ । भेडाबाख्राझैं खाँदाखाँद गर्नुपर्दा त्यसले निम्त्याउने अरू समस्याको आकलन हुन सकेकै छैन । तर भारतबाट आएका आफ्ना नागरिकको यो हालत हुँदा पनि स्थानीय तहका पदाधिकारी क्वारेन्टाइनमा फर्किएर गएका छैनन् ।

यो समाचार आज कान्तिपुरमा प्रकाशन गरिएको ।

मंगलबार, जेठ २७, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया