नवगठित जनता समाजवादी पार्टी नेपाल (जसपा) भित्र पहिलो वरियता दावी गर्ने डा.बाबुराम भट्टराईले दोस्रो नम्बरमा चित्त बुझाएका थिए । तर निर्वाचन आयोग नेपालसम्म पुग्दा उनको दुई नम्बरमा रहेको नाममा टिपेस्ट लागेर एकाएक चौथो वरियता हुन पुगेको छ । उनको नाममा कसरी टिपेस्ट लाग्यो र चौथो नम्बरमा पुगे भन्नेबारे अहिले सबैतिर चासोको विषय बनेको छ । उनको वरियतालाई लिएर सामाजिक सञ्जालमा पनि विभिन्न टिकाटिप्पणी हुन सुरु भइसकेको छ । माओवादी जनयुद्ध हाँकेका, प्रधानमन्त्री भइसकेका, एउटा सिंगै पार्टीका अध्यक्ष भइसकेका व्यक्तिले एकाएक किन चौथो वरियाताक्रमको वरिष्ठ नेतामा चित्त बुझाए भन्ने चासो सर्वत्र रहेको हो ।केही दिनदेखि जसपाभित्रको लगातार छलफलपछि तीनजना (भट्टराईसहित महन्थ ठाकुर र उपेन्द्र यादव) अध्यक्ष रहने गरि सहमति भएको थियो । पहिलो वरियताक्रमको अध्यक्षमा महन्थ ठाकुर, दोस्रो वरियताक्रममा डा. भट्टराई (संघीय परिषद् अध्यक्ष), तेस्रो वरियताक्रमको केन्द्रीय समिति अध्यक्षमा उपेन्द्र यादव र वरिष्ठ नेताहरुमा अशोक राई र राजेन्द्र महतो रहने सहमति भएको थियो । राई र महतोको वरियता क्रमशः चौथो र पाँचौ रहने सहमति भएको थियो । यो सहमति अनुसार पार्टी दर्ता गराउन केही नेताहरु निर्वाचन आयोग पुगिसकेका थिए । तर भएको सहमतिमा डा.बाबुराम भट्टराईलाई चित्त बुझेको थिएन । दोस्रो तहका सबै नेत ४ः३० वजे नै निर्वाचन आयोग पुगिसकेको अवस्थामा ३ नेताबीच छलफल अझै सकिएको थिएन । अर्थात अध्यक्षका विषयमा अन्तिम सहमति जुटाउने प्रयास शीर्ष नेताबीच जारी रह्यो । छलफलका क्रममा तीन जना अध्यक्ष रहने हो भने वरियताक्रमको एक नम्बरमा आफ्नो नाम रहनुपर्छ भन्ने बाबुरामको अडान थियो । यस्तै महन्थ ठाकुरलाई संयोजक बनाएर आफू संघीय परिषद्को अध्यक्ष र उपेन्द्र यादव केन्द्रीय समितिको अध्यक्ष रहनुपर्छ भन्ने पनि बाबुरामको तर्क थियो ।

तर महन्थ ठाकुरले आफू बस्ने हो भने अध्यक्षमै बस्ने नत्र संयोजकमा नबस्ने अडान लिए । उपेन्द्र यादवले पनि महन्थ ठाकुरलाई संयोजकमै बस्न दवाव दिन थाले । पहिला पनि महन्थ ठाकुर पार्टीको संयोजक नै हुने सहमति भएकाले ‘तपाई संयोजकमा बस्दिनुस्’ भन्ने उपेन्द्र यादवको जोडबल थियो । तर महन्थ ठाकुर त्यसका लागि राजी भएनन् । आफू कुनै पनि हालतमा संयोजकमा नबस्ने, बरु कुनै पनि पदमा नबस्ने भन्दै महन्थ ठाकुर बैठक स्थलबाट जंगिँदै हिँड्न खोजे । अवस्था ‘तनावपूर्ण’ बन्ने देखिएपछि नेता राजेन्द्र महतोले महन्थलाई ‘कन्भिन्स’ गर्दै रोकेका थिए । पार्टीका दोस्रो तहका नेताहरु निर्वाचन आयोगमा रहकै बखत शीर्ष नेताहरुको बैठक भने तनावपूर्ण बनेपछि केही बेर माहोल स्तब्ध बनेको एक नेता बताउँछन् ।

यही बीचमा भट्टराईले ठाकुरले संयोजक बस्न नमान्ने हो भने आफू पनि वरिष्ठ नेतामा बस्ने बताएका थिए । अर्थात तीन जना अध्यक्ष आफूलाई अस्वीकार्य हुने र दोस्रो वरियतासहितको संघीय परिषद्को अध्यक्षमा आफू नबस्ने उनको अडान थियो । उनले खुसीसाथ नै तीन अध्यक्षसहित दोस्रो वरियताको संघीय परिषद अध्यक्ष हुनुभन्दा वरिष्ठ नेता ठीक रहेको बताएपछि सोही अनुसार निर्णय गरिएको बैठकमा सहभागी ती नेताको भनाइ छ । भट्टराईकै सहमति पछि दोस्रो नम्बरमा रहेको उनको नाममा टिपेस्ट लगाएर वरिष्ठ नेतामा राखिएको हो । उनलाई वरिष्ठ नेतासहित तेस्रो नम्बरमा राख्न खोजिएको भएपनि राजेन्द्र महतोले आदिवासी जनजातिको प्रतिनिधित्व गर्ने अशोक राईलाई तेस्रो बरियतामा राख्नुपर्ने अडान लिएका थिए ।

त्यसपछि भट्टराईले बाध्य भएर चौथो वरियतामा चित्त बुझाएको पार्टी स्रोत बताउँछ । सो सहमतिपछि शीर्ष नेताहरु निर्वाचन आयोगमा पुगेलगत्तै पार्टी दर्ता भएको थियो ।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!