बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अर्थो अब्जर्भेसन वार्डमा कोरोना संक्रमित पुष्टि भएकी १२ वर्षीया बच्चीका आफन्त तथा भिजिटरहरूले पनि पीसीआर जाँचको माग गर्दै आज बिहान (आइतबार) ओपिडीको मुख्य प्रवेशद्वार केही क्षण बन्द गराएका छन् । अर्थो अब्जर्भेसन वार्ड सिल गरिए पनि त्यहाँ भिजिट गरेका भिजिटरहरू तथा आफन्तले पीसीआर परीक्षण गर्न माग गर्दै ओपिडी काउन्टर अघिको गेट केही क्षण बन्द गराएका हुन् । आज बिहानै उनीहरू ओपिडीका लागि टिकट काउन्टर अघि होहल्ला गरेका थिए । त्यसपछि अस्पताल प्रशासनले प्रोटोकल (निश्चित नियम तथा व्यवहारको व्यवस्था) अनुसार स्वाब परीक्षण गर्ने बताएपछि उनीहरू साम्य बनेका थिए । ओपिडीमा जाँचका लागि पुगेकी धरानकी एक बिरामीका आफन्तले भने, ‘भिजिटरको पीसीआर टेष्ट नगरेको भन्दै यहाँ आन्दोलन गरेका छन् ओपिडीको गेट बन्द गराएका थिएँ ।’ अस्पतालका एक स्रोतका अनुसार भिजिटरहरू आवेशमा आएर केही समय ओपिडी गेट बन्द गराएको बताए । ‘केही समय ओपिडीको गेट बन्द गराएका थिएँ, आवेशमा आएर गराएका हुन्, तर प्रशासनले पीसीआर जाँच गर्ने भनेपछि केही समयपछि नै खोले’–स्रोत भन्छ । यस विषयमा अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहलाई बुझ्दा आफूलाई प्राप्त जानकारी अनुसार हिजो सबैको स्वाब लगेको बताए । निर्देशक डा. साहले फोनसम्पर्कमा भने, ‘त्यसमा दुईचार जना छुटफुट हुन सक्छ ।’ उनले आफू काठमाडौंमा काम विशेषले आएकाले आन्दोलनको विषयमा जानकारी नभएको प्रष्टाए । स्वास्थ्य मन्त्रालयले हालै लक्षण देखिएको अवस्थामा पीसीआर परीक्षण गर्ने भनेर निर्देशन गरेको छ । सोही नीतिअनुसार नै बीपी प्रतिष्ठानले पनि लक्षण देखिएका बिरामी तथा भिजिटरको मात्रै पीसीआर परीक्षण गर्ने नीति लिएको छ । बीपी प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले सरकारको प्रोटोकल अनुसार मात्रै भिजिटर तथा अन्यको परीक्षण गर्ने बताए । उनले त्यहाँ रहेका अन्य बिरामीको नै संक्रमण नभएको (नेगेटिभ) आएको अवस्थामा भिजिटरको परीक्षण गर्नुपर्ने अवस्था नहुने सरकारी प्रोटोकल अनुसार नै प्रतिष्ठानमा पनि अगाडि बढेको बताए । ‘उहाँहरूको भनाइ चाहिँ हाम्रो पनि लिइदिनुप¥यो भन्ने हो, हामील मनखुसी टेष्ट गर्ने कुरा पनि हुँदैन’–प्रवक्ता डा. सापकोटाले भने, ‘सरकारको प्रोटोकल अनुसार परीक्षण हुन्छ । यहाँ पनि लिमिटेड स्रोत साधन हुन्छ ।’ ती बच्ची जेठ १७ गते खुट्टा भाच्चिएर उपचारका लागि बीपी प्रतिष्ठानमा आएकी थिइन् । सुरुमा बच्चा विभागको आकस्मिक कक्षमा प्रवेश गराएपछि खुट्टा भाच्चिएका कारण हाडजोर्नी विभागले उपचार गरेको थियो । त्यसपछि हाडजोर्नीको अब्जर्भेसन वार्डमा राखिएको थियो भने बिहीबार स्वाब परीक्षणपछि सल्यक्रिया गर्ने तयारी गरिरहेका बेला ती बच्चीको कोरोना पोजेटिभ देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!