शुक्रबार, जेठ २३, २०७७ || 1525  पटक पढिएको

सरकारले असार एक गतेपछि विभिन्न ६ चरणमा ७० दिनमा चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाउने भएको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड नाइन्टिन क्राइसिस म्यानेजमेन्ट सेन्टर ‘सीसीएमसी’ ले लकडाउन खोल्ने विस्तृत स्वरुप तयार पारेको हो ।पछिल्लो पटक थपिएको जेठ ३२ सम्मको लकडाउन सकिएपछिका ७० दिनभित्र आंशिक र सम्पूर्णरुपमा लकडाउन खोल्ने गरी स्वरुप तयार भएको हो । जनजीवन, आर्थिक गतिविधिको निरन्तरता र नियमितताको सन्तुलन राख्न लकडाउनको हालको स्वरुप परिवर्तन गर्न लागिएको हो । असार १ पछिको २ हप्तालाई पहिलो चरणको रुपमा लिइएको छ । पहिलो चरणमा कृषि, दैनिक उपभोग्य सामाग्री वितरक केन्द्रहरु खोलिने उल्लेख छ । असार १ गतेपछि आंशिक रूपमा हवाइ उडान सुरु गर्ने प्रस्ताव छ । दैनिक उपभोग्य सामग्री विक्री वितरण गर्ने केन्द्रहरू, डिपार्टमेन्टल स्टोर, किराना पसल, खाद्य भण्डारण केन्द्र, पानी–ग्यास डिपोहरू पनि आंशिक रूपमा सञ्चालनमा ल्याउने प्रस्ताव छ । तर अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइराख्ने भएको छ । दोस्रो चरणमा स्वास्थ्य संस्था, अनलाइन मिडिया, राहत सहायता केन्द्रहरू खुला गर्ने योजना छ । यस्तै, जीमखाना, मर्निङ वाक, छापा सञ्चारमाध्यम, सरकारी, निजी कार्यालय भने आंशिक रूपमा मात्रै खोल्न दिन प्रस्ताव गरिएको छ । तेस्रो चरणमा निजी सवारी साधन सञ्चालन गर्न दिने योजना छ । सवारी साधान सुरक्षात्मक उपाय अवलम्बन गरी जोर र विजोर नम्बर प्रणालीका आधारमा निजी सवारी साधन व्यवस्थापन गरिने छ । लामो दूरीका सार्वजनिक यातायात तथा हवाइ उडान सेवा पनि सुरु गर्न प्रस्ताव गरिएको छ । चौथो चरणमा संक्रमितको आधारमा संक्रमित जिल्ला र संक्रमण रहित जिल्ला छुट्याई संक्रमण रहित जिल्लामा शिक्षा क्षेत्र बाहेक अन्य क्षेत्रमा सामाजिक दूरी कायम गरी लकडाउन हटाउने उल्लेख छ । यो चरणमा धार्मिक, जमघटस्थलबाहेक सबै ठाउँ खुला हुनेछन । बाह्य उडान भने आशिंक रुपमा चल्न दिइने छ । पाँचै चरणमा विद्यालय, विश्वविद्यालय, मनोरञ्जन र निर्माण क्षेत्रसँग सम्बन्धित सेवाहरू, सूचना तथा संचार, बैकिंङ् तथा वित्तिय संस्था, खेलकुद, धार्मिक स्थल, सरकारी तथा निजी कार्यालय संचालन गर्ने योजना छ । घरेलु तथा साना उद्योग, अन्य ठूलो उद्योग र कलकारखाना, विकास निर्माण कार्य तथा राष्ट्रिय गौरवका आयोजनामा काम गर्ने लगायत सबै खुला हुनेछन् । संक्रमणको अवस्था हेरेर पहिला जिल्लागत र त्यसपछि स्थान विशेषलाई ‘प्रभावित’, ‘अतिप्रभावित’ र ‘सामान्य’ वर्गीकरण गर्न सकिने प्रस्ताव छ । क्षेत्र छुट्याउँदा कोरोना भाइरसकोको प्रकोप नियन्त्रण गर्न सजिलो हुने ‘सीसीएमसी’को अनुमान छ । दुई–दुई हप्तामा मोडालिटी परिवर्तन गर्दै जनजीवन सहज बनाउन प्रस्ताव गरिएको छ । सुरुका दुईहप्ता केही सेवाप्रदायक संस्था खुकुलो पारेपछि त्यसको अनुभवका आधारमा लकडाउनको स्वरुप दोस्रो तहमा लैजाने योजना छ । निश्चित स्थान र समयका लािग आंशिक रुपमा लकडाउन लगाई मुख्य क्रियाकलापहरु खुल्ला गर्दै जोखिम प्रतिकार्यमा जुट्ने पनि प्रस्ताव छ । त्यस्तै क्रमिक रुपमा खुकुलो गर्दै जाने र लकडाउन रहितको स्वरुप– सुरक्षा सावधानी अपनाएर लकडाउन हटाउने पनि‘सीसीएमसी’को योजना छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!