हिपमत डटकम
काठमाडौँ ,पौष १४:सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र अझै पनि सभामुख कसलाई बनाउने भन्ने ठोस निर्णय हुन सकेको छैन । सभामुखका लागि दुई अध्यक्षबीच भएको सहमति बीचमै भाँडिएपछि पुस ११ गते नै हुने भनिएको सभामुख चयनको प्रक्रिया लम्बिन पुगेको रहस्य खुलेको छ ।

सभामुख चयन संसद्ले गर्ने भए पनि यस सवालमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति विद्या भण्डारीबीचको ‘इन्ट्रेस्ट’ बाझिँदा ढिला हुन पुगेको हो ।

सभामुखका लागि आकाङ्क्षी धेरै हुनु र पार्टीभित्रको आन्तरिक समीकरण मिलाउन नेताहरुलाई गाह्रो पर्दा नेकपालाई संस्थागत रूपमा सभामुखबारे ठोस निर्णय गर्न अझै कठिन भएको छ ।

सभामुखबारे टुङ्गो लगाउने भनेर आइतबार बोलाइएकोे नेकपा सचिवालय बैठक समय अभाव भन्दै एजेन्डामै प्रवेश नगरी स्थगित गरिएको छ ।

ओली–प्रचण्डको सहमति अलपत्र

यसअघि गत सोमबार अर्थात पुस ७ गते दुई अध्यक्ष केपी ओली र प्रचण्डबीच सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा छलफल भयो । प्रचण्ड र ओलीबीच सभामुखको उम्मेदवारका विषयमा करिब १ घण्टा छलफल भएपछि दुवै नेता नेकपा संसदीय दलका उपनेता समेत रहेका सुवासचन्द्र नेम्वाङलाई सभामुखको उम्मेदवार बनाउने सहमति पनि भयो । ११ गते बस्ने प्रतिनिधि सभा बैठकमा संसदको कार्यसूची सभामुख निर्वाचन प्रक्रिया अघि बढाउने रहेकाले दुई नेता सभामुखको उम्मेदवार टुङ्गो लगाउन जुटेका थिए । दुई नेताबीचको छलफलको सुरुमा अध्यक्ष प्रचण्डले पार्टीभित्रको आन्तरिक सन्तुलन मिलाउन भए पनि पूर्व माओवादी केन्द्रबाट सभामुखको उम्मेदवार बनाउनुपर्ने प्रधानमन्त्री समेत रहेका ओलीसमक्ष प्रस्ताव गरेका थिए ।

प्रचण्डको उक्त प्रस्तावप्रति ओलीले ‘त्यसो गर्दा पनि नहुने त होइन । तर नयाँ मान्छेलाई सभामुख बनाउनुभन्दा अनुभवीलाई बनाउँदा सदन चलाउन सहज हुने र त्यसको सकारात्मक प्रभाव सरकारसँग पनि जोडिने भन्दै सुवासचन्द्र नेम्वाङलाई बनाउँदा के फरक पर्छ’, भनेर सोधेका थिए । ओलीको यस्तो भनाइपछि प्रचण्डले आफूलाई पूर्व माओवादी समूहबाट पहिलेको सहमतिअनुसार नै हुनुपर्ने दबाब रहेकाले आफूले उक्त प्रस्ताव अघि सारेको स्मरण गराएका थिए । त्यस क्रममा दुवै नेताबीच सरकारका आगामी ३ वर्षे कार्यकालमा गर्न सक्ने कामका बारेमा पनि लामै छलफल भएको स्रोतको दाबी छ ।

कुराकनीकै क्रममा दुवै नेता सरकार र सदन दुवै प्रभावकारी ढङ्गले चलाउन सक्नुपर्ने अवस्था आएको र त्यसक्रममा काम गर्न सक्ने व्यक्तिहरुलाई छनोट गर्नु नै उपयुक्त हुने निष्कर्षमा समेत पुगेका थिए । अन्त्यमा नेम्वाङलाई नै सभामुखको उम्मेदवार बनाउने निष्कर्ष दुई नेताले निकालेर छुट्टिएका थिए ।

शीतलनिवासमा पुगेर भाँडियो

दुई नेताबीच भएको यो छलफल र कुराकानी बालुवाटारभन्दा झण्डै डेढ किलोमिटर दूरीमा रहेको राष्ट्रपति कार्यालयले थाहा नपाउने कुरै भएन ।

यद्यपि दुई नेताबीच सभामुखको उम्मेद्वार नेम्वाङलाई बनाउन भएको सहमतिपछि तीन दिनपछि अर्थात पुस १० गते बेलुका ओली प्रधानमन्त्रीको हैसियतमा राष्ट्रपतिलाई भेट्न र सरकारका कामकारबाहीबारे ब्रिफिङ गर्न शीतलनिवास पुगे । त्यसक्रममा राष्ट्रपतिसँग प्रधानमन्त्रीले समसामयिक विषयमा करिब आधा घण्टा छलफल गरेका थिए । त्यसपछि कुराकानीकै क्रममा सभामुखको प्रसङ्ग चल्यो । त्यस प्रसङ्गमा प्रधानमन्त्री ओलीले पुस ११ गते बस्ने संसद् बैठकमा सभामुख चयन प्रक्रिया सुरु हुने र त्यसका लागि उपयुक्त पात्र सुवासचन्द्र नेम्वाङ आफूलाई लागेको सुनाए । प्रधानमन्त्रीले सभामुखको उम्मेदवारमा नेम्वाङको नाम लिए पनि राष्ट्रपति विद्यादेवी भण्डारीलाई उक्त नाममा चित्त बुझेको रहेनछ । ‘शिवमाया तुम्वाहाङफेको पनि नाम आएको छ ।

उहाँलाई सभामुख बनाउँदा के हुन्छ ?’ राष्ट्रपतिले जिज्ञाशा राख्दै भनिन्, ‘उहाँ डाक्टर पनि हो र महिला पनि । तपाईंलाई पनि सहयोग गर्नुहुन्छ । त्यसैले सोच्दा राम्रो हुन्छ,’ राष्ट्रपति प्रधानमन्त्री बीचको संवादमा राष्ट्रपति भण्डारीको भनाइलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘महिलालाई यसरी किनारा लगाउन उचित हँुदैन होला ।’ राष्ट्रपतिबाट यस्तो अपेक्षासमेत नगरेको प्रधानमन्त्री ओलीले थप प्रस्ट पार्दै भने, ‘उहाँले असहयोग गर्नुहुन्छ भनेर मैले भन्न खोजेको होइन । तर सुवास नेम्वाङ अनुभवी पनि हुनुहुन्छ । विपक्षीलाई पनि कन्भिन्स गर्नसक्ने क्षमता अलि बढी छ । कुरा गर्दा पनि ढङ्ग पुर्याउनुहुन्छ । त्यसकारण उहाँ नै उपयुक्त हुन्छ जस्तो लागेको छ ।’

ओलीको यति कुरा सुनेपछि राष्ट्रपति भण्डारीको स्वर अलि चर्को नै भयो । ‘के महिलालाई कमजोर ठानेको ? त्यसोभए जे ठीक हुन्छ, त्यही गर्नुस्’ भन्दै राष्ट्रपति भण्डारी बसेको ठाउँबाट उठेकी थिइन् । त्यसपछि प्रधानमन्त्री ओली पनि लगत्तै शीतलनिवासबाट बाहिरिएका थिए । प्रधानमन्त्री ओली र राष्ट्रपतिबीच यो संवादपछि पुस ११ गतेका लागि बोलाइएको संसद् बैठक अन्तिम समयमा आएर सूचना टाँसेर स्थगित गरिएको थियो । अर्को बैठक पुस १६ गते बस्नेछ । तर दुई दिन बैठक बस्ने समय दुई दिन बाँकी हुँदा समेत यसबारे निर्णय हुन सकेको छैन । यसअघि सभामुखका लागि सुवासचन्द्र नेम्वाङ, शिवमाया तुम्वाहाङफे, अग्नि सापकोटा, जनार्दन शर्मा, देव गुरुङ, पम्फा भुसालको नाम चर्चामा आएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!