विश्वमा करिब ५२ प्रतिशत महिलाहरु महिनावारी हुने उमेरका छन् । ति मध्ये अधिकांशले महिनावारीलाई समस्याका रुपमा लिने गरेका छन् । महिनावारी समस्या होइन, दोष पनि होइन यो त केवल शारीरिक प्रक्रिया हो । यसै प्रक्रियाका कारण प्रजनन् हुन्छ र मानवको सन्तती कायम रहेको छ भन्दा अनुपयुक्त नहोला । कोभिड १९ को यो महामारीमा पनि महिनावारी रोकिंदैन । औसत महिनावारी ५ दिनको हुने भएकाले पाचौं महिना मे र औसत महिनावारी २८ दिनमा हुने भएकाले २८ तारिख अर्थात मे २८ मा अन्तर्राष्ट्रिय महिनावारी सरसफाई तथा स्वास्थ्य दिवस (मेन्सुरेसन हाईजिन डे) विभिन्न कार्यक्रमका साथ मनाउने गरिन्छ ।

महिनावारी के हो ?

महिनावारी, रजस्वाला, मासिकश्राव जे भनिए पनि यो एउटा प्राकृतिक प्रक्रिया हो । हरेक महिना (२१ देखि ३५ दिनमा), ३–४ दिन (बढिमा एक हप्ता) योनीमार्गबाट रगत बग्ने प्रक्रिया नै महिनावारी हो । किशोरीहरु परिपक्क अवस्थामा पुगेपछि महिनावारी शुरु हुन्छ । महिनावारी हुनुमा मष्तिष्कमा रहेको हाईपोथालामश्ले उत्पादन गर्ने गोनाडोट्रोपिन रिलिजिङ्ग हर्मोन, पिट्युटरी ग्रण्थीको एन्टेरियर लोबले उत्पादन गर्ने फोलिकुलन स्टुमुलेटिङ्ग हर्मोन र ल्युटिनाईजिङ्ग हर्मोन अनि अण्डासयले उत्पादन गर्ने दुई किसिमका हर्मोनहरु (ओस्ट्रोजन र प्रोजेस्ट्रोन) ले पाठेघरको भित्री तह (इन्डोमेट्रियम) बनाउने, भत्काउने र महिनावारी गराउने हुन्छन् । महिनावारी हुनुमा यी हर्मोनहरु बाहेक पोषण, बंशाणुगत तथा वातावरणिय पक्षको ठूलो भुमिका रहेको हुन्छ । समान्यतयाः अण्डासयले उत्पादन गरेको अण्डको निक्षेदन अर्थात फर्टिलाईजेशन नभए पछि पाठेघरको भित्रि तह (इन्डोमेट्रियम) टुक्रिने हुन्छ र महिनावारी हुन्छ । किशोर अवस्थामा कसै कसैमा पाठेघरको परिपक्कता ढिलो हुने तथा यी हर्मोनहरुको उत्पादनमा सन्तुलन कायम नहुने हुन्छ । यसै कारणले गर्दा पाठेघरको अत्याधिक बढि सङ्कुचन (कन्ट्राक्सन) हुने तथा वढी तल्लो पेट दुख्ने पनि हुन सक्छ ।

महिलाहरुको हक र अधिकार सम्बन्धि ठूला ठूला आवाजहरु आए तापनि महिलाहरुमा हुने यो प्राकृतिक प्रक्रियासँग जोडिएर अनेक अन्धविश्वासहरु अझै हाम्रो समाजमा कायम नै छन् । महिनावारी भएको बेला नुहाउनु हुदैन, गाईलाई छुनु हुदैन, ऐना हेर्नु हुदैन, रुखबिरुवा छुनु हुदैन, भन्सामा जानु हुदैन, पूजा गर्न मिल्दैन । यति मात्र होईन यस अवस्थामा पनि अन्तिममा बचेखोचेका खानेकुरा खानु पर्ने अनि फोहर गोठमा बस्नु पर्ने बाध्यताहरु अझै पनि रहेको पाईन्छ । महिनावारी सम्बन्धि केहि जानकारी स्कुलका पाठ्यपुस्तकमा समाबेश गरिए पनि ती पाठहरु नपढिए पनि उत्तीर्ण हुने गर्छन ।

अधिकांश किशोरीहरुले महिनावारीलाई समस्याका रुपमा लिने गरेका छन् । आफूलाई महिनावारी भएको पनि कसैलाई भन्न नसक्ने हुन्छ । विद्यालयमा महिनावारी शुरु भएमा ‘टाउको दुखेको वा पेट दुखेको’ भन्ने बाहाना बनाउने गर्छन् । महिनावारी सम्बन्धि स्कुल सचेतना कार्यक्रमका क्रममा विभिन्न विद्यालयहरु पुग्दा अधिकांश छात्राहरुले महिनावारीका बारेमा राम्ररी नबुझेका र यसका कारणले शारिरीक तथा मानसिक तनावमा रहेको मैले पाएँ । महिनावारीका समयमा प्याड बोक्न, किन्न र प्रयोग गर्न लजाएको तथा डराएको मशसुस गरे ।

महिनावारीमा प्याड नै प्रयोग गर्नुपर्छ ?

महिनावारी भएको बेला पाठेघरको भित्रितह टुक्रिएर रगतसंगै योनीमार्गबाट बाहिर निष्कासन हुन्छ । यस अवस्थामा निष्कासन भएको रगत लुगा र खुट्टाहरुमा लाग्न नदिन केहि न केहि प्रयोग गर्नै पर्छ । यसका लागि प्याड वा कपडा प्रयोग गर्ने गरिन्छ । यस अवस्थामा पाठेघरको मुख अलिकती खुकुलो हुने भएकोले सरसफाईमा ध्यान पु¥याउनु पर्छ । प्रयोग गरेका प्याड वा कपडा सफा भएन भने सोहि प्याड वा कपडाबाट नि संक्रमण हुन सक्छ । बजारमा पाईने प्याडहरु वैज्ञानिक तरिकाले उत्पादन गरिएकाले स्वास्थ्यका दृष्टिकोणले उत्कृष्ट हुन्छन् तर सधै व्यहवारिक नहुन सक्छ ।

हिजोआज महिनावारी सम्बन्धि कार्यक्रम गर्ने र प्याड बाड्ने प्रचलन बढ्दो छ । यसले महिलाहरु सचेत पनि हुदै गएका छन् र महिनावारीप्रति सामाजिक दायित्व बढ्दै गएको देखिएको छ । तर एक पटक प्याड बाँड्दैमा सधैका लागि प्याड पुग्दैन । हरेक महिनामा हरेक महिलालाई १–२ प्याकेट प्याड चाहिन्छ र सधै अरुको भर परेर पनि हुदैन । ग्रामिण क्षेत्रमा प्याड किन्न गाह्रो हुने तथा महंगो पर्ने भएकोले धेरै महिलाहरुले कपडा नै प्रयोग गर्न चाहन्छन् । तर यसरी कपडा प्रयोग गर्ने केहि महिलाहरुले प्याड किन्न भन्दा नि राख्न र फाल्न समस्या भएको बताए ।

महिनावारीका समयमा संक्रमण रोक्न घरेलु प्याड पनि बनाउन सकिन्छ । फोहोर, थोत्रा कपडालाई प्याडको रुपमा प्रयोग गरेका कारण पाठेघरमा संक्रमण हुन सक्ने सम्भावना बढि हुन्छ । तर सफा, सुती वा फलाटिनको कपडाको रुमाललाई प्याड बनाउन सके संक्रमण हुने सम्भावना धेरै कम हुन्छ । यस्ता रुमाललाई प्रयोग गरिसके पछि साबुन पानीले धोएर, घाममा राम्ररी सुकाएर पुनः प्रयोग गर्न सकिन्छ । यसरी घरेलु प्याड प्रयोग गर्दा कम खर्चिलो हुनुका साथै राख्न र फाल्न झन्झटिलो हुदैन । यस्ता घरेलु प्याड हामीले प्रयोग गर्ने रुमालबाट नि बनाउन सकिन्छ । विद्यालय, क्याम्पस, कार्यालय जहाँ पनि सजिलै प्रयोग गर्न सकिने भएकाले पछिल्लो समयमा रुमाल वा घरेलु प्याड प्रचलित छ । तर अझै पनि धेरैले यस्ता रुमाल सफा गरेर घाममा नसुकाएर ओसिलो ठाउँ (वाथरुम) मा मात्र सुकाउने गर्छन्, जुन राम्रो होईन ।

साभार-केन्द्रबिन्दु

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!