खबर ठुलो छ

 

यति बेला भारतमा दुई प्रकारका राजनीतिक पहिचान विद्यमान छन् । एउटा धार्मिक आक्रामकताबाट लैस छ भने अर्कोले धार्मिक आत्मविश्वास गुमाइसकेको छ । एउटा डराउन दिने अवस्थामा छ भने अर्को डराएको अवस्थामा छ । यो असन्तुलनले भविष्यमा ठूलो चुनौती पैदा गर्ने निश्चित छ । जसलाई हामीले निकै राम्रो गरी चिन्छौँ ।

हामीले यसका परिणामहरू देखेका छौँ र भोगोका पनि छौँ । यसलाई भिन्दाभिन्दै समयमा भिन्दाभिन्दै समुदायले भोगेका छन् । हाम्रो स्मृतिबाट पुराना घाउका टाटाहरू मेटिनसमेत भ्याएका हुँदैनन् कि हामीले नयाँ घाउका टाटाहरू निम्त्याइ सक्छौँ ।

हिन्दुस्तान एउटा टु–इन–वन देश हो । यसलाई हाम्रो सरकारी शब्दकोशमा इन्डिया र भारतको पहिचान प्राप्त छ । त्यसैगरी हाम्रो पहिचान धर्म र जातिका आधारमा पनि टु–इन–वान छ । तपाईंले यी जाति सङ्गठनहरूको कोणबाट भारतलाई हेर्नुस् त, तपाईंले त्यसको वास्तविक मुहार सबैका अघिल्तिर देख्न सक्नुहुन्न । तपाईंले जातिको मुहार खुसुक्क घर गएर मात्र देख्नु हुन्छ ।

हामीले जातिको अन्त्य गरेनौँ । हामीले स्वतन्त्र भारमा नयाँ–नयाँ ‘कास्ट कोलोनी’को स्थापना गर्यौँ । यसका मुखिया त्यही आधुनिक भारतमा जन्मिएका मान्छेहरू हुन् । आफैलाई सोध्नुस त आज समाजमा किन ‘कास्ट कोलोनी’ निर्माण भैरहेका छन् ?

आज भन्नुको अर्थ सन् २०१८ होइन । न त सन् २०१४ नै भन्न खोजेको हो । हामी भारतमाथि गर्व गर्छौैँ, हामी धर्ममाथि गर्व गर्छौँ, हामी आफ्नो जातिमाथि गर्व गर्छौं । हामी आफूभित्र रहेका हरेक प्रकारका क्रूरताहरू जोगाउन चाहन्छौँ ।

के जाति वास्तवमै गर्व गर्नुपर्ने कुरा हो ? यदि यस प्रश्नको उत्तर सकारात्मक आउँछ भने हामीले संविधानका साथ धोका गरिरहेका छौँ । हामीले आफ्नो राष्ट्रिय आन्दोलनको भावनाका साथ धोका गरिरहेका छौँ । यदि त्यसो हो भने टिम इन्डियाको राजनीतिक स्लोगन ‘कास्ट इन्डिया’ अथवा ‘रिलिजन इन्डिया’मा फेरि सकेको छ ।

आन्ध्र प्रदेशमा ब्राह्मण जातिको एउटा कोअपरेटिभ सोसाइटी बनाइयो । त्यसको मिसन ब्राह्मणहरूको विरासतलाई फेरि जीवित राख्नु र त्यसलाई अघि बढाउनु भनियो । ब्राह्मणहरूको विरासत भनेको के हो ? रातपुतहरूको विरासत भनेको के हो ?

त्यसो भए मुगलहरूको विरासतमा तपाईंलाई के को टाउको दुखाइ ? त्यसो भए दलितहरूको विरासत भीमा कोरेगाउँमा केको टाउको दुखाइ ? जहाँ इजराइयका राष्ट्र प्रमुखले समेत आफ्नी पत्नीका साथ दुई घडी बिताउन चाहन्छन् ।

तपाईंले त्यो कोअपरेटिभ सोसाइटीको बेबसाइट http://www.apbrahmincoop.com हेर्नुभयो भने त्यहाँका मुख्यमन्त्री चन्द्राबाबु नायडुले उनीहरूको पत्रिका लोकार्पण गरिरहेको देख्नुहुन्छ । किनभने त्यो सोसाइटीका प्रमुख उनका पार्टीका सदस्य हुन् ।

यो सोसाइटीको लक्ष्य त्यही छ, जुन एउटा सरकारको हुनुपर्छ । जुन हाम्रा आर्थिक नीतिहरूको हुनुपर्छ । के वास्तवमै हाम्रो नीति त्यति कमजोर भइसकेको छ कि हामीले आ–आफ्नो जातिको कोपरेटिभ बनाउने ? यसको लक्ष्य गरिब ब्राह्मणहरूको स्वतःस्फूर्त सहायता समूह बनाउँदै उनीहरूलाई व्यापार गर्न, गाडी किन्न ऋण दिने हो । त्यसैले यसका सदस्य ब्राम्हण मात्रै हुन पाउँछन् ।

त्यहाँ ठुल्ठुला मान्छेहरू छन् । यसका अध्यक्ष आनन्द सूर्या पनि ब्राह्मण हुन् । उनी आफ्नो परिचयमा आफू टे«ड युनियन नेता र व्यापारी भएको लेख्छन् । शायदै संसारमा कुनै व्यापारी मान्छे टे«ड युनियनको नेता होला । उनले बीजेपी, भारतीय मजदुर सङ्घ, जनता दल, समाजवादी जनता पार्टी, जनता दल सेकुलर राजनीतिक जीवन बिताइसकेका छन् ।

उनले ती सबै ठाउँमा ब्राह्मण समुदायलाई नैतिक र राजनीतिक समर्थन कसरी दिने भन्ने सिकी सकेका छन् । हामीलाई थाहा थिएन, समाजवादी पार्टीमा मानिसहरू यस्ता कुरा पनि सिक्ने गर्छन् ।

यो एक्लो संस्था होइन, जसले यस्तो अभियान चलाइरहेको छ । विदेशमा पनि र भारतमा पनि अनेकौँ जातिगत सङ्गठनहरू सक्रिय छन् । यिनका अध्यक्षको राजनीतिक हैसियत अरू कुनै नेताको भन्दा धेरै छ । यो ठाउँ बाहेक अन्यत्र यस्तो पहिचान लिएर नेता बन्न असम्भव छ ।

सन् २०१३ मा ब्राह्मणहरूका लागि मात्र वैदिक सोसाइटीको निर्माण कार्य आरम्भ भइसकेको थियो । कल्पना गर्नुस् त एउटा टोल छ मात्र ब्राह्मणहरूको । यस्तो खाले एक्सक्लुजनले हामीलाई कहाँ लग्ने हो ? यो भनेको त्यस्तै कुरा होइन र जति बेला युरोपमा यहुदीहरूका लागि मात्र अथवा कुनै जाति विशेषका लागि भनेर टोल, समाज र सहरको निर्माण गरिन्थ्यो ।

यो ब्राह्मणरूको त्यस्तै टोल होइन भनेर कसरी भन्ने ? स्वतन्त्र भारतमा यो कसरी सम्भव भयो ? सन् ८० को दशकमा जब हाउजिङ सोसाइटीको विस्तार भयो, त्यति बेला नै त्यसलाई एउटा खास जाति र पेशाका आधारमा निर्माण गरियो । त्यसको उदाहरणको रुपमा तपाईंले दिल्लीको पटपडगन्जलाई लिन सक्नुहुन्छ । जहाँ जाति, पेसा, क्षेत्र र राज्यका हिसाबले कैयौँ हाउजिङ सोसाइटी तपाईंले भेट्नु हुन्छ ।

त्यतातर्फ यस्तो भइरहँदा हामी संविधानका आधारमा भारतीय कसरी भइरहेका थियौँ ? के जातिको समर्थनबिना हामी भारतीय हुन सक्दैनौँ ?

जयपुरको विद्यानगरमा विभिन्न जातिहरूका लागि भिन्दाभिन्दै होस्टेलको निर्माण गरियो । श्री राजपूत सभाले आफ्ना जातिका केटा र केटीहरूका लागि होस्टेल बनायो । यादवहरूको आफ्नै होस्टेल छ । मिणा जातिको पनि आफ्नै होस्टेल छ । ब्राह्मण जातिको पनि आफ्नै खाले होस्टेल छ । अब तपाईं आफै भन्नुस् त यस्तो होस्टेलबाट आफ्नो अध्ययन सकेर निस्केको मान्छेले कुन जातिलाई अघि बढाउने चेतना बोकेर हिँड्छ ?

के ऊ सबैभन्दा पहिले संविधानमा लेखिएको भारतीय भन्ने कुरासँग त्यसको जातिको चेतना ठोकिँदैन ? त्यहाँ खटिक छात्रावास पनि छ, जुन सरकारले नै निर्माण गरेको हो । राज्य सरकारलाई किन दलितहरूको छुट्टै होस्टेल बनाउनुपर्ने भयो ?

के हाम्रो समाजका उच्च जातिकाले संविधानका आधारमा सबै भारतीयलाई एक भनेर मानेनन् । के जातिहरूको त्यस्तो कुनै समुदाय पनि छ, जसले धर्मको आडमा फेरि आफ्नो वर्चस्व फेरि हासिल गर्न चाहन्छ ? के त्यस्तो पनि कुनै समुदाय छ जसले पहिलेको तुलनामा कैयौँ गुणा शक्तिका साथ यो वर्चश्वलाई चुनौती दिइ रहेको छ ?

भारतको समाज र राजनीति जस्तै यहाँको मिडिया पनि त्यसैगरी ‘कास्ट कोलोनी’बाटै निर्माण हुने गर्छ । तिनका सम्पादक पनि त्यही ‘कास्ट कोलोनी’बाट आउने गर्छन् । उनीहरूलाई सार्वजनिक स्थानमा जातिको पहिचान राम्रो लाग्दैन तर उनीहरूलाई धर्मको पहिचान भने ठीक लाग्छ । त्यसैले उनीहरू धर्मको पहिचानको आडमा जातिको पहिचानलाई पनि त्यही ढङ्गले अघि बढाउँदै छन् ।

मलाई लाग्छ यस्तो काम त्यसैले गर्न सक्छ, जसलाई लोकतन्त्रमाथि विश्वास छैन किनभने जाति लोकतन्त्रको विरुद्धमा छ । गभर्मेन्ट अफ इन्डियामा सबै कुरा ठीकठाक छैन । सकारात्मक कुरा के हो भने लोकतन्त्रका खिलाफ यसले पूरै स्वतन्त्रतापूर्वक बोलिरहेको छ । भाइचाराका खिलाफ पूरै स्वतन्त्रतापूर्वक बोली रहेको छ ।

(रवीश कुमारले हार्वर्ड विश्वविद्यालयमा दिएको ब्याख्यान हामीले मिडिया भिजिलबाट अनुवाद गरेका हौँ ।)

शनिबार, पौष १२, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया