शुक्रबार, जेठ ०९, २०७७ || 1025  पटक पढिएको

उदयपुरमा रहेका जमातीहरूको पिसिआर जाँच्न स्वाब कलेक्सन गरेर मेसिनमा राखेपछि कोशी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट संगीता मिश्रले मोरङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र प्रहरी प्रमुख (एसपी)सँग कुरा गरिन्।

‘जमातीहरूलाई कोरोना पोजेटिभ आयो भने उनीहरूको समुदायमाथि विभिन्न प्रकारका लान्छना आउन सक्छन्। समाजमा मुस्लिमहरूलाई गाह्रो पनि हुन सक्छ। त्यही डरले उनीहरूले हामीलाई सहयोग गर्न पनि डराउने छन्। मुस्लिम समुदायका अगुवाहरूलाई बोलाएर सहयोग माग्ने र आडभरोसा दिनुहोला,’ उनले भनिन्।

उनी आफैंले मुस्लिम समुदायका अगुवाको नम्बर खोजिन्। अनि सिडिओलाई पठाइदिइन्। उनीहरूले मुस्लिम समुदायका अगुवाहरूलाई बोलाएर छलफल गरे।

नभन्दै भोलिपल्ट जमातीहरूलाई कोरोना देखियो। संक्रमितलाई रिसिभ गर्न उनी डाक्टर डेनप्रसाद आचार्यलाई लिएर रातको १ बजे अस्पतालकाे गेटमा पुगिन्।

जमातीहरूलाई कोरोना देखिएपछि मुस्लिम समुदायप्रति अरू धर्म मान्नेहरूले समाजिक सञ्जालमा रोष व्यक्त गरे। मुस्लिम समुदाय आफैं पनि निकै सशंकित बने। तर बेलैमा प्रशासनले होस पुर्‍याएकाले यो विषय त्यतिधेरै उछालिन पाएन।

‘त्यो बेला मुस्लिम समुदायप्रति रोष बढ्दै थियो। भारतमा त मस्जिदमा बसेका मुस्लिम अगुवाहरूलाई कोरोना भएपछि त्यहाँ सिंगो समाज बिथोलिएको थियो। हामी त्यस्तो नहोस भन्ने चाहन्थ्यौं। संगीता म्यामले पनि त्यो बेला हामीलाई समुदायलाई विश्वासमा लिन सुझाउनुभएको थियो,’ मोरङका एसपी विश्व अधिकारीले भने, ‘उहाँमा सुझबुझ र नेतृत्व गर्ने राम्रो क्षमता देख्छु म।’

समाजको शान्ति-सुरक्षाको विषयमा चिन्तित भएर पहल गर्नु पर्ने जिम्मेवारी कोरोनाविरूद्ध लडिरहेका अस्पताल प्रमुखको होइन। त्यो चासो शान्ति सुरक्षाको जिम्मा लिएर बसेका सिडिओ र प्रहरीको हो।

तर संगीता मिश्रले एउटा जिम्मेवार नागरिक र चिकित्सक भएर सोचिन्। नागरिकका हिसाबले समाजको शान्ति सुव्यवस्था उनको पनि चासो थियो।

चिकित्सकका हिसाबले आफ्ना बिरामीको शारिरिक तथा मानसिक स्वास्थ्यप्रति उनी गम्भीर थिइन्। एउटा समुदायलाई लक्षित गरेर आरोप लगाउँदा त्यसले बिरामी र स्वयं समुदायलाई कति आघात पुग्छ भन्नेमा उनी सचेत थिइन्। त्यसैले उदयपुर मस्जिदमा फैलिएको कोरोना संक्रमणको घटनालाई लिएर मुस्लिम समुदायविरूद्ध अफवाह नफैलिऊन्, उनीहरूमाथि आरोप नलागोस् भन्ने मनसायले उनले सिडिओ र प्रहरीसँग कुरा गरेकी थिइन्।

तीन महिना अघिमात्र कोशी अस्पतालको नेतृत्व सम्हालेकी मिश्रले अस्पतालभित्र र बाहिरको परिस्थितिलाई समेत ‘मज्जाले सम्हालेको’ आफूले देखेको एसपी अधिकारीले बताए।

कोराेना महामारी संसारमा फैलिरहेका बेला उनी विराटनगरस्थित कोशी अस्पतालको सुपरिटेन्डेन्ट बनेकी थिइन्। पहिलो पटक उनी अस्पताल प्रमुखको जिम्मेवारी सम्हाल्दै थिइन्।

संसारमा फैलिएको कोरोना नेपालमा पनि पस्यो। सरकारले लकडाउन घोषणा गर्‍यो। अस्पतालमा पनि अत्यावश्यक सेवाबाहेक अरू सेवा बन्द गर्न सरकारी निर्देशन नै थियो।

कतिपय अस्पतालले त सरकारले यस्तो निर्देशन दिनुअघि नै कोरोनाबाहेकका अन्य बिरामीहरूलाई फर्काउन थालेका थिए। उनले भने आफ्ना स्टाफहरूसँग छलफल गरिन्। अनि अरू बिरामीका लागि पनि अस्पताल खुलै राख्ने निर्णय गरिन्।

‘मैले यस्सो सोचें धनी र पैसा हुनेहरूले त डाक्टरलाई घरै बोलाउने क्षमता राख्छन्, लकडाउनले उनीहरूलाई फरक पर्दैन तर हाम्रो अस्पतालमा गरीब ज्यादा आउँछन्,’ उनले भनिन्, ‘हामीले अस्पताल बन्द गर्ने हो भने उनीहरू मारमा पर्नेछन्।’

त्यसपछि कोशी अस्पतालले दिँदै आएका सेवा अघिपछिझैँ जारी राख्यो।

फागुनदेखि नै उनीहरूले अस्पतालमा भीड नहोस् भनेर बिरामीलाई स्क्रिनिङ गर्ने गरेका थिए। कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिन्छन् कि भनेर ज्वरो नापेरमात्र अस्पताल छिर्न दिइन्थ्यो।

लकडाउनको अवधिमा यो अस्पतालले १० हजार ८ सय बिरामीलाई सेवा दिएको छ। यो बीचमा अस्पतालमा आएर झण्डै ७ सय गर्भवती सुत्केरी भए, तिमध्ये १ सय ६७ काे शल्यक्रियाबाट बच्चा जन्मिए। अन्य किसिमका शल्यक्रिया ६६९ वटा भए।

नेपालमा कोरोना आइ पुग्नुअघि नै संगीताले आफ्ना सहकर्मीहरूको बैठक डाकेर अस्पताल आउने बिरामीहरूको स्क्रिनिङ गर्ने कार्यविधि बनाएकी थिइन्। क्वारेन्टाइन र आइसोलेसनबारे छलफल गरेकी थिइन्।

चैतको सुरूतिर उनलाई प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले फोन गरे। प्रदेशले आइसोलेसन बनाउने ठाउँ खोजिरहेको र कस्तो बनाउने होला भनेर सल्लाह मागे।

कोशी संघीय अस्पताल हो। तर उनले संघ, प्रदेश भनिनन्।

‘अस्पतालको मूल उद्देश्य बिरामीको सेवा गर्नु हो। प्रदेशले काम लगाए पनि संघले लगाए पनि के फरक पर्‍यो?,’ उनले भनिन्, ‘जसले स्रोत दिन्छ, जसले काम गर्न अग्रसरता देखाउँछ म त सधैं तयार हुन्छु।’

त्यसपछि सुरूभयो प्रदेशसँग संगीताको समन्वय। उनले अस्पतालकै एउटा ठाउँमा आइसोलेसन बनाउन सकिने बताइन्। प्रदेशले रकम दियो। १० बेडको आइसोलेसन तयार भयो।

संक्रमण देखिन थालेपछि संगिताले प्रदेश र स्थानीय तहसँग सहकार्य बढाउन निरन्तर बैठक गरिन्। उनीहरूका कुरा सुनिन्, आफ्ना सुझाव दिइन्।

‘प्रदेश र स्थानीय सरकारसँग स्रोत थियो, हामीसँग डाक्टर र साधन,’ उनले भनिन्, ‘म केन्द्रमातहत हो भनेर समन्वय गर्न नखोजेको भए यति सजिलो गरी आफ्ना योजनाहरू कार्यान्वयन गर्न पाउने थिइनँ। मैले त यो अस्पताल तपाईंहरूकै हो, लौ के गर्ने भन्नुपर्‍यो भनेको हो।’

अहिले प्रदेश सरकारका सामाजिक विकास मन्त्रीले नेतृत्व गर्ने कोभिड-१९ को विज्ञ टिममा उनी पनि छन्। मन्त्री घिमिरे आफैं विज्ञहरूका कुरा सुन्ने खालका भएकाले संगीतालाई सजिलो भएको छ।

लकडाउनपछि सरकारले मुलुकभर कोरोना विशेष अस्पताल घोषणा गर्दै थियो। कोरोना उपचारका लागि सातै प्रदेशमा एक-एक वटा कोरोना विशेष अस्पताल बनाउने भनेको थियो। संगीता कोशी अस्पताललाई विशेष अस्पताल बनाउनुपर्छ भन्ने सोच्दै थिइन्।

सरकारले भने धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रदेश नम्बर १को कोरोना विशेष अस्पताल घोषणा गर्ने तयारी थाल्यो। प्रदेश सरकारले पनि कोशी अस्पतालको क्षमता छैन भनेर कोरोना अस्पताल बनाउन आनाकानी गरेको थियो। प्रदेशका धेरै नेताको जोड पनि विराटनगरमा निजी रूपमा स्थापना भएको नोबेल मेडिकल कलेजलाई कोरोना अस्पताल बनाउने थियो।

संगीताले कोशीलाई नै कोरोना अस्पताल बनाउने अड्डी कसिन्। पहिले सामाजिक विकास मन्त्री घिमिरेलाई कुरा बुझाइन्। त्यसपछि घिमिरेमार्फत प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँग समय लिएर उनले कोशी अस्पतालको क्षमताबारे ‘कन्भिन्स’ गराइन्।

संघीय सरकारले भने धरानको विपी प्रतिष्ठानलाई नै प्रदेशको विशेष अस्पताल घोषणा गर्‍यो। त्यसका लागि कोशी अस्पतालमा भएको पिसिआर र स्वावबाट आरएनए झिक्ने मेसिन धरान पठाइदिन भन्दै स्वास्थ्य मन्त्रालयबाट उनलाई चिठी आयो। धरानबाट ‍पनि मौखिक रूपमा सो मेसिन पठाइदिन त्यहाँका प्रमुखले अनुरोध गरे।

उनी फेरि प्रदेशका सामाजिक विकास मन्त्रीकहाँ गइन्- मलाई त्यो पिसिआर मेसिन धरान पठाउनै मन छैन। हामीले नै कोरोना जाँच्न सक्छौं, तपाईंले पहल गरिदिनुपर्‍यो।

त्यसअघि उनले आफ्ना स्टाफसँग आफूहरूले कोशीमा कोरोना परीक्षण गर्न सक्छौं कि सक्दैनौं भनेर सोधेकी थिइन्। प्याथोलोजी विभागकी प्रमुख कामना शर्माले भनिन्— सकिन्छ।

अरू पनि तयार भए। उनीहरूसँग पिसिआर मेसिन थियो, डाक्टरलगायतका स्वास्थ्यकर्मीको टिम छँदै छ आइसोलेसन र क्वारेन्टाइन छन्। स्टाफहरू पनि तयार भएपछि उनी ढुक्क थिइन्।

यस्तो विपदको बेला आफूले भनेजस्तो हुनैपर्छ भनेर उपल्लो निकायसँग झगडा गर्न पनि उनलाई मन लागेन। त्यो कामको जिम्मा प्रदेश मन्त्रीलाई लगाएर उनले धरानसँग फोनमै सोधिन्– यो मेसिनपछि फर्काउनु पर्छ तर अहिले तपाईंहरूले मेसिन निकालेर लान सक्नुहुन्छ?

‘सक्छौं,’ उनीहरूले भने।

उनलाई भने एउटा सानो कोठामा अट्ने मेसिन उनीहरूले निकालेर लान पनि सक्दैनन् भन्ने लागेको थियो। धरानले एकजना ड्राइभरलाई मेसिन लिन पठायो। ड्राइभरले निकालेर लैजाने आँटै गरेनन्।

फेरि धरानबाट डाक्टरसहितका तीन जनाको टोली आयो। उनीहरूलाई पनि यो मेसिन झिक्न गाह्रो भयो। सकेनन्। एचआइभी परीक्षण गर्न भन्दै एउटा गैरसरकारी संस्थाले यो मेसिन कोशीलाई दिएको थियो।

स्वास्थ्य मन्त्रालयका हाकिमहरूले पनि कोशीले कोरोना परिक्षण गर्न सक्छ भन्ने विश्वास गर्न सकिरहेका थिएनन्। त्यसले उनमा इख पलायो। उनले अड्डी कसिन्–कोरोना परीक्षण हामीले नै गर्छौं।

कोशी अस्पताल टिमको क्षमता देखेर त्यतिन्जेलमा प्रदेश सरकार पनि उनलाई साथ दिन तयार भयो। आखिरमा उनको आत्मविश्वासले जित्यो। प्रदेश एकको मन्त्रिपरिषदले कोशी पनि कोरोना विशेष अस्पताल हुने भनेर निर्णय गर्‍यो।

‘त्यतिबेला हामी गर्न सक्छौं भनेर विश्वास दिलाउन कम गाह्रो थिएन। तर हामीलाई प्रदेश सरकारले साथ दियो र मेरो टिमका साथीहरूले पनि हामीले नै गर्न सक्छौं भनेर मलाई अडान लिन सक्ने साथ र विश्वास दिनुभएको थियो,’ उनले भनिन्।

सेतोपाटीसँगको कुरामा मन्त्री घिमिरेले पनि संगीतामा जोखिम उठाउन सक्ने क्षमता आफूले पाएको बताए।

‘संगीताजी परिस्थिति अनुसारको जोखिम लिन सक्ने मान्छे हुनुहुँदो रहेछ। अडान लिनुपर्ने ठाउँमा लिने, समन्वय गर्नुपर्ने ठाउँमा गर्ने र काम गरेर देखाउने उहाँको स्वभावका कारण कोशी अस्पतालकै व्यवस्थापनमा कोरोना अस्पताल बनाउने, परीक्षणका काम गर्न हामीलाई पनि सहज भयो,’ उनले भने।

नेसनल ट्रेडिङको भवनमा नयाँ कोरोना अस्पताल बनाउन थालियो। कोरोना अस्पताल त बनाउने कामका साथै उनले स्वास्थ्यकर्मीलाई चाहिने पीपीई, स्यानिटाइजरको जोहो गर्नु थियो। बजारमा अभाव भएका यी सामग्री आफैं उत्पादन गर्नुपर्छ भन्ने उनले ठानिन्।

‘हामीले बजारबाट रेन्कोटको सामान ल्याएर पीपीई सिलाउन एउटा गार्मेन्टलाई दियौं। स्यानिटाइजर उत्पादन गर्‍यौं। नहुनुभन्दा केही हुनु ठिक भन्ने लाग्यो। पछि संघीय सरकार र प्रदेश सरकारले समेत स्वास्थ्य सामग्रीहरू सहयोग गरिदिनुभो,’ उनले भनिन्,’मैले अस्पतालमा चाहिने उपकरणदेखि पीपीईसम्मको व्यवस्थाका लागि तीनवटै सकारसँग समन्वय गरें। विभिन्न संघसंस्थासँग पनि सहयोग मागें।’

अन्तत: कोशीमा कोरोना अस्पताल उभियो। त्यही दिन उदयपुरको एउटा मस्जिदमा भारतबाट आएका जमातीहरूमा कोरोना देखियो। त्यो पनि एकै पटक १२ जनालाई।

उनीहरूलाई रिसिभ गर्न राति साढे १ बजे संगीता आफै सहकर्मी डेन आचार्यलाई लिएर गेटमा पुगिन्। अस्पताल ल्याइपुर्‍याएपछि उनले सोधिन्- तपाईंहरूलाई के चाहिन्छ?

‘हामीलाई कुरान र इमामी भए सजिलो हुन्थ्यो,’ उनीहरूले भने। मुस्लिम समुदायका अगुवाहरूसँग कुरा गरेर उनले कुरान र इमामी अस्पतालमै ल्याइदिइन्।

बिरामी र बिरामीका परिवारको प्रतिकृयाले उनलाई सबैभन्दा ठूलो सन्तुष्टि दिन्छ।

भारतका एक बिरामीले घरमा फोन लगाइदिन उनलाई एकदिन अनुरोध गरे। उनले फोन लगाइदिइन्। उठेपछि उनले म नेपालबाट बोलेको भन्दै थिइन्, उताबाट बिरामीकी आमाले भनिन्–तपाईं डाक्टर संगीता हो?

‘हो, कसरी थाहा पाउनु भयो मेरोबारेमा?’ उनले सोधिन्।

‘हामी सधै विराटनगरको समाचार हेर्छौं, पढ्छौं।’

बिरामीका परिवारले न्यानो साट्दा उनको मन खुसी भयो। आफूले काम गरेकोप्रति थप ढुक्क भइन्।

कोशी अस्पतालमै सञ्चालित ८०/८५  बेडको विशेष अस्पतालमा अहिले ५ भेन्टिलेटर, १० बेडको आइसियु र १० ‘हाइ डिपेन्डेन्सी’ युनिट (एचडियु) र जनरल वाडको सुविधा छ। डाक्टरहरूलाई बस्नका लागि छुट्टै आवास प्रदेश सरकारले उपलब्ध गराइदिएको छ।

कोरोना अस्पतालमा स्वास्थ्यकर्मी एक पटकमा ६ घन्टाको सिफ्टमा काम गर्छन्। सोहीअनुसार क्वारेन्टाइनमा बस्न जाने व्यवस्था मिलाएका छन्।

कोशीले आफ्नो ल्याबबाट १५ सयभन्दा बढी मानिसको कोरोना जाँचिसकेको छ। यो अस्पतालले अहिलेसम्म ५९ कोरोना संक्रमितको उपचार गरेको छ। २६ जना कोभिड-१९का बिरामी सन्चो भइसकेका छन्। उनीहरू अहिले क्वारेन्टाइनमा बस्छन्। अहिले पनि ती बिरामीलाई बेला बेला फोन गरेर सोध्ने काम हुन्छ।

एकैचोटी धेरै संक्रमित भेटिएपछिको हतास वातावरणमा पनि संगीताले सबै कुरा राम्ररी सम्हालेको मोरङका सहायक सिडिओ ध्रुवबहादुर खड्काले बताए। कोशी अस्पतालले कोरोनाको समयमा गरेको कामबाट आफू निकै प्रभावित भएको उनी बताउँछन्।

‘कोशी अस्पतालकी प्रमुख संगीताजीको नेतृत्वमा अहिले हामीहरूले कोरोनासँग लडिरहेका छौं,’ उनले भने,’ लकडाउनका बेला उहाँले जुन काम गर्नुभएकोछ अरू कुनै अस्पतालले गरेको मलाई थाहा छैन। म उहाँले देखाएको नेतृत्व क्षमता र कामबाट प्रभावित छु।’

संगीता भने आफूले गरेको कामको श्रेय आफ्नो टिमसँग बाँड्न चाहन्छिन्। आफ्ना सहकर्मी दीपक सिग्देल, कामना शर्मा, सन्ध्या ज्ञवाली, लक्ष्मीनाराण यादव र डेनप्रसाद आचार्यलगायतको पूर्ण साथले यी काम सम्भव भएको उनले बताइन्।

‘मैले यसो गरौं भन्दा त्यसलाई कसरी राम्रोसँग गर्ने भन्ने सुझाव उहाँहरूले दिनुभयो र हरेक निर्णयमा साथ दिनुभो,’ उनले भनिन्, ‘अस्पतालका सबै सहकर्मीले सहयोग गरे। कतिले त आडभरोसा नै दिए।’

मुस्किलको घडीमा सबैलाई साथ लिएर हिँडिरहेकी संगीता भने आफ्नै सन्तानसँग टाढिएर क्वारेन्टाइनमा बस्नुपर्दा घरिघरि आत्तिन्छिन्।

‘त्यही घरको अर्को कोठामा भएका बच्चाबच्ची र श्रीमानलाई मिस गर्नुपर्दा गाह्रो हुन्छ नि,’ उनले भनिन्, ‘कहिले यो विपद सकिएला र मैले छोराहरूलाई अंगालोमा बेर्न पाउँलाजस्तो भएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!