भारतीय हस्तक्षेप, एमसीसी सम्झौतालगायत कोरोना भाइरसको महामारीसँगै उत्पन्न समस्याप्रति सरकारको गैरजिम्मेवारीपनको विरोध गर्दै नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सहित विभिन्न जनवर्गीय संगठन तथा मोर्चाले संयुक्त वक्तव्य जारी गरेका छन् । १२ बुँदे संयुक्त वक्तव्य जारी गर्दै उनीहरुले हालै भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूभाग गुञ्जी, नावीढाङ, लिपुलेक हुँदै धार्चुला र मानसरोवर जोड्ने सडकको उद्घाटन गर्नु नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताका विरुद्धको ठाडो हस्तक्षेप भएको उल्लेख गरेका छन् । ‘हामी भारतीय विस्तारवादद्वारा गरिएको यो अतिक्रमणको कडा विरोध तथा भत्र्सना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपालको भूमिबाट एकलौटी रुपमा सडकको ट्र्याक खोलेर उद्घाटन गर्दा समेत त्यसको अनदेखा गर्ने नेपाल सरकारको लाचारीप्रति खेद व्यक्त गर्दै सो काम रोक्नका लागि तुरुन्त भारतीय सरकारसँग कुटनीतिक पहल गर्न नेपाल सरकार समक्ष हामी जोडदार माग गर्दछौं ।’ विज्ञप्तिमा नेपालको भौगोलिक अखण्डतामाथि गरिएको भारतीय हस्तक्षेप र नेपाल सरकारको राष्ट्रिय आत्मसमर्पणवादी रवैयाका विरुद्ध सशक्त आवाज उठाउन सम्पुर्ण देशभक्त तथा आम जनसमुदायमा विशेष आह्वान समेत गरिएको छ । उनीहरुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित नगर्न पनि खबरदारी गरेका छन् । ‘नेपाली राष्ट्रियता स्वाधीनता तथा सार्वभौमिकतामाथि गम्भीर आँच आउने अमेरिकी साम्राज्यवादी परियोजना एमसीसी कुनै पनि हालतमा संसदबाट पास नगर्न पनि हामी सरकार र सांसदहरुलाई खबरदारी गर्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

कोरोना भाइरसजन्य प्रकोपको रोकथामका लागि खुला सिमाना नियन्त्रण गर्नुपर्ने माग प्रायः सबैतिरबाट र मुख्यतः भारतसँग सिमाना जोडिएका प्रदेशबाट उठ्न थालेको उल्लेख गर्दैै विज्ञप्तिमा निश्चित नाकाहरु खुला राखेर बाँकी सिमानामा तारबार लगाई सँधैका लागि सीमा बन्द गर्ने दिशामा पहल थाल्न सरकारसित जोडदार माग गरिएको छ । कोरोना भाइरस सङ्क्रमित भएका तथा आशङ्का गरिएका विभिन्न ठाउँका मानिसहरूको आवश्यक जाँचबुझ तथा अध्ययन गर्ने काममा गम्भीर लापरबाही भएको आरोप पनि विज्ञप्तिमा लगाइएको छ । ‘सरकारले विगतमा गरेका कतिपय गम्भीर गल्ती कमजोरीका कारण आज कोरोना भाइरस नेपालमा पनि तीब्ररुपमा फैलँदै गएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आजसम्म १०९ जना संक्रमित भैसकेका छन् र समुदायमा फैलने चरणमा प्रवेश गरिसकेको छ । यसको रोकथाम र नियन्त्रणलाई केन्द्रमा राखी आगामी बजेटमा रकमको व्यवस्था गरियोस् ।’ नेपालको सीमानामा तथा खाडी मुलुक लगायतका देशहरुमा अलपत्र तथा विचल्लीमा परेका श्रमिकहरुलाई तत्काल उद्धार गर्न पनि माग गरिएको छ ।

भारतीय तरकारी तथा फलफूल निर्वाध रुपमा आयात हुने तर नेपाली कृषकहरुले उत्पादन गरेका तरकारी तथा फलफूल खेतबारीमै कुहिने स्थिति सिर्जना भएको भन्दै भारतीय तरकारी, फलफूल आयातमा रोक लगाई देशभित्र उत्पादित तरकारी तथा फलफूलको उचित बजार प्रबन्ध मिलाउन पनि माग गरिएको छ । ‘युद्धकालका मुद्दालाई सत्य निरुपण आयोग बेपत्ता छानविन आयोग मार्फत् टुंग्याउने निर्णयमा कायम रही मुद्दा छिटो भन्दा छिटो टुंग्याइनु पर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘अन्य कुनै पनि किसिमका बयानबाजी गरी अर्काे दिशातिर मोड्ने काम तत्काल बन्द गरियोस् ।’ कोरोना सङ्क्रमणको रोकथामको लागि अग्रमोर्चामा खटेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अन्य कर्मचारी र पत्रकारहरुलाई समेत यथेष्ट पीपीई (पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट) व्यवस्था गरी उनीहरुको जीवन वीमा र उचित सुविधाको ग्यारेन्टीको मागसमेत गरिएको छ ।

संयुक्त वक्तव्य जारी गर्नेहरुमा अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष डा. ओम गुरुङ, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का अध्यक्ष अम्बिका मुडभरी, अखिल नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा.जगदीशचन्द्र भण्डारी छन् । यस्तै अखिल नेपाल जनसाँस्कृतिक महासंघका महासचिव हिरामणि दुःखी, राष्ट्रिय क्रान्तिकारी बुद्धिजीवी मञ्चका अध्यक्ष हुकुमबहादुर सिंह, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष ईश्वर तिमिल्सिना, क्रान्तिकारी युवा लिगका अध्यक्ष अमीर महर्जन, अनेरास्ववियू (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेल, नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष अमर परियार, अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विजय रत्न बज्राचार्यले पनि विज्ञप्तिमा हस्ताक्षर गरेका छन् । यसैबीच विभिन्न साना १० पार्टीले पनि संयुक्त वक्तव्य निकालेर भारतले नेपाली भूभागमा सडक बनाएकोप्रति कडा विरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!