
८ बच्चाकी एक आमाले ढुङ्गा पकाएको फोटो भाइरल भएपछि बालबालिकाका लागि सहयोग जुटेको छ । खाद्यान्न रित्तिएपछि आमाले छोराछोरीलाई ढुङ्गा पाक्दैछ भने भुल्याउन खोजेकी थिइन् ।
ढुङ्गा पाक्ने प्रतिक्षा गर्दै छोराछोरी निदाउँछन् र पीडा कम हुन्छ भन्ने आशाले यस्तो गरेको उनले बताएकी छिन् । यसअघि पहिले–पहिले खाना नपाक्दैं छोराछोरी निदाइसकेका हुन्थे र यसपटक खाद्यान्न नहुँदा उनले ढुङ्गा पकाएर झुक्याउने जुक्ति लगाएकी थिइन्, तर छोराछोरीलाई के भइरहेछ भन्ने थाहा थियो ।

ग्याङस्टारले हमला गरेर गत वर्ष श्रीमान् मारेपछि केन्याकी पेनिनाह बाहाटी किटसाओ बाँच्नका लागि अन्य परिवारको घरमा गएर लुगा धुन्थिन् । तर केन्यामा लकडाउन भएयता उनको रोजिरोटी खोसियो । पछिल्लो महिना मोम्बासास्थित दुई कोठे घरमा सकसपूर्ण जीवन बाँच्नुपरेको उनले बताएकी छिन्, यहाँ विद्युत र पानीको व्यवस्था पनि थिएन ।
केन्याको एनटिभीसँग कुराकानी गर्दै उनले भनेकी छिन् , ‘बच्चाहरुले मैले ढाँटेको थाहा पाइसकेका थिए, किन ढाँटेको भन्दै थिए, तर मसँग गर्नसक्ने केही थिएन ।’ छिमेकी प्रिस्कान मोमेनिईले यसबारे स्थानीय पत्रकारलाई जानकारी दिइन् र उनको बंैक खाता पनि खोलिदिइन् । सामान्य लेखपढ समेत नजान्ने पेनिनाहका लागि अहिले देशभरबाट ठूलो रकम संकलन भएको छ । त्यस्तै, मोबाइल फोनमार्फत धेरैले आर्थिक सहयोगको वचन दिएका छन् ।
टुको न्युज वेभसाइटसँग उनले भनेकी छिन्, ‘मलाई यस्तो लागेको थिएन कि केन्यालीहरु यति धेरै प्रेमिल छन्, अहिले मलाई देशभरबाट सहयोगका लागि फोन आइरहेको छ ।’ केन्याले कोरोना भाइरस महामारीको प्रभाव कम गर्न आर्थिक रुपमा प्रताडित र विपन्न परिवारका लागि खाना खुवाउने कार्यक्रम समेत ल्याएको थियो । बिडम्बना, पेनिनाहजस्ता विपन्न व्यक्तिसमक्ष यो कार्यक्रम पुग्न सकेन । एजेन्सी ।