
काठमाडौं– गत भदौ २४ गते बिहान करिब १० बजे धनगढीमा रहेकी पुष्पालाई उनका श्रीमान् प्रहरी जवान उत्तम थापाले फोन गर्दै तीन दिनपछि घर आउने बताएका थिए। बसको टिकट काटिसकेको जानकारी दिँदै उनले आफू सुरक्षित रहेको र चिन्ता लिनु नपर्ने आश्वासन पनि दिएका थिए। अघिल्लो दिन काठमाडौँमा जेन–जी आन्दोलनका क्रममा अप्रिय घटना भएकाले अवस्था कस्तो छ भनेर पुष्पाले सोध्दा थापाले महाराजगञ्जस्थित प्रहरी वृत्तमै रहेको र परिस्थिति सामान्य भएको बताएका थिए।
तर दिन ढल्दै जाँदा काठमाडौँको अवस्था एकाएक तनावग्रस्त बन्यो। प्रदर्शनकारीहरूले संसद् भवनमा आगजनी गरेपछि सिंहदरबार र सर्वोच्च अदालतसम्म आगो फैलियो। उग्र बनेका प्रदर्शनकारीहरू महाराजगञ्जस्थित प्रहरी वृत्तभित्रै प्रवेश गरी प्रहरीमाथि कुटपिटमा उत्रिए। यही क्रममा गम्भीर घाइते भएका प्रहरी जवान उत्तम थापाको ज्यान गयो।
थापामाथि कुटपिट गरिएको भिडियो सामाजिक सञ्जालमार्फत् श्रीमती पुष्पासम्म पुगे पनि उनले श्रीमान् जीवितै हुनुहुन्छ भन्ने आशा छाड्न सकेकी थिइनन्। तर केही समयपछि थापाको मृत्यु भएको पुष्टि भयो।
दार्चुला लेकम गाउँपालिका–३ का थापा परिवारका जेठा सदस्य थिए। उनका भाइ महेशको केही महिनाअघि महाकाली नदी पार गर्ने क्रममा भीरबाट लडेर मृत्यु भएको थियो। एक दशकअघि नै श्रीमान् गुमाएकी आमा निर्मलादेवीले पछिल्लो एक वर्षमै दुवै सन्तान गुमाउँदा परिवार पूर्ण रूपमा शोकमा डुबेको छ। उपचार गराइरहनुपर्ने अवस्थामै सन्तान गुमाउनु पर्दाको पीडाले उनी आफूलाई सम्हाल्न नसक्ने अवस्थामा पुगेकी छन्।
थापाको मृत्यु भएपछि आमा र श्रीमतीले उनको शवसमेत हेर्न पाएनन्। प्रतिकूल अवस्थाका कारण परिवार काठमाडौँ आउन नसकेपछि थापाको पार्थिव शरीरलाई राष्ट्रिय सम्मानका साथ पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको थियो। काका रुपसिंह थापाले महेन्द्रनगरमै किरिया गरेका थिए।
प्रहरी जवान थापाले गाउँकै कृष्ण माध्यमिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेपछि प्रहरीमा सेवा प्रवेश गरेका थिए। विसं २०७३ मा प्रहरीमा भर्ना भएका उनी लामो समय प्रदेश प्रहरी गुल्म धनगढीमा कार्यरत रहेपछि केही महिनाअघि मात्रै काठमाडौँ सरुवा भएका थिए। ऋण लिएर धनगढीमा करिब १० धुर जग्गा खरिद गरी घर बनाउने सपना देखेका थापाको त्यो सपना अधुरै रह्यो।
थापाका साला नारायण भट्टराईका अनुसार, भिनाजुको निधनपछि आमा र दिदी साहाराविहीन बनेका छन्। आमाको उपचार चलिरहेको छ र हाल आफूले सकेको सहयोग गरिरहेको भए पनि कति समयसम्म सम्भव हुन्छ भन्ने निश्चित नभएको उनले बताए।
सरकारले थापालाई सहिद घोषणा गर्दै परिवारलाई केही आर्थिक सहयोग उपलब्ध गराइसकेको छ। तर परिवारको पीडा पैसाले मेटिन नसक्ने पुष्पाको भनाइ छ। उनले श्रीमान्को हत्या गर्ने दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने र आफूलाई पनि जीविकोपार्जनका लागि सानो भए पनि रोजगारीको व्यवस्था गर्न सरकारसँग माग गरेकी छन्।
थापाको हत्याको आरोपमा सिन्धुली गोलञ्जोर गाउँपालिका–१ का अलिष श्रेष्ठ र रसुवा उत्तरगया गाउँपालिका–४ का सौरभ तामाङलाई पक्राउ गरी अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको सरकारले जनाएको छ।
