शुक्रबार, बैशाख १९, २०७७ || 858  पटक पढिएको

ऋषि कपुरले आफ्नो ५० वर्षको फिल्मी करियमरमा थुप्रै शानदार फिल्ममा अभिनय गरे ।

राष्ट्रिय फिल्म पुरस्कार र फिल्म फेयरसहित ठूला पुरस्कार त उनले आफ्नो करियरको सुरुवाती दिनमा नै पाएका थिए ।

तर ऋषि कपुरलाई एउटा कुराको भने सधैं कमी रह्यो । फिल्ममा आफ्नो विशिष्ट योगदान रहँदासमेत उनलाई भारत सरकारले पद्मश्री सम्मान दिएन ।

हुन त ऋषि आफ्नो मनमा भएका केही विशेष कुरा सार्वजनिक गर्दैनन् तर जब यसबारे मैले उनीसँग कुरा गरेँ तब उनले आफ्नो मनमा लागेको सबै कुरा धेरै बेरसम्म पोखिरहे ।

वास्तवमा मैले फिल्मी संसारमा अत्यधिक योगदान भएपनि पद्म पुरस्कारबाट सम्मानित नगरिएका व्यक्तित्व को–को छन् भनेर जान्न निकै अनुसन्धान गरेँ ।

त्यतिबेला विश्वमा आफ्नो र देशको नाम उच्च राख्ने दारा सिंहदेखि शम्मी कपुरजस्ता दिग्गज अभिनेताले पनि पद्म विभूषण वा पद्मभूषण त टाढाको कुरा पद्मश्रीसम्म पनि पाएनन् ।

उनीहरु यो संसारबाट बिदा नै भए । जितेन्द्र, मुमताज, ऋषि कपुर र जुही चावलालगायतका थुप्रै उत्कृष्ट कलाकार छन् जसको फिल्मी क्षेत्रमा वर्षौसम्मको उल्लेखनीय योगदान रहँदा पनि पद्म सम्मान पाउन सकेनन् ।

प्रत्येक वर्ष उनीहरुभन्दा निकै कान्छा कलाकारले पद्मश्री पाएका छन् । तीमध्ये कतिको त खासै केही योगदान पनि छैन ।

त्यतिबेला मैले पत्रकार, लेखक र कलाकारको संस्था ‘आधारशीला’ को अध्यक्ष भएको नाताले डिसेम्बर २०१४ मा तत्कालीन राष्ट्रपति प्रणब मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन गृहमन्त्री राजनाथ सिंहलाई एक पत्र लेखेर वर्षौंअघि नै पद्म पुरस्कार पाउनुपर्ने कलाकारलाई सम्मान दिन सरकारसामू अपिल गरेको थिएँ ।

तर यस्तो हुन सकेन ।

ऋषि कपुरसँग यसबारे मेरो कुरा पनि भएको थियो । तब ऋषि कपुरले भनेका थिए, ‘मैले काम गरेको ४२ वर्ष भइसकेको छ । मेरो पहिलो फिल्म ‘बबी’ सन् १९७३ मा रिलिज भयो र अब सन् २०१५ चलिरहेको छ । र यदि मेरो बाल कलाकारको भूमिका रहेको फिल्म ‘मेरा नाम जोकर’ को कुरा गर्ने हो भने, फिल्म रिलिज भएको ४५ वर्ष पुगिसकेको छ ।’

पद्म पुरस्कार बारे उनले भनेका थिए, ‘हेर्नुहोस्, सैफले पनि पद्मश्री पाए । के भन्न सकिन्छ र । सरकारलाई लागेको होला कि मेरोभन्दा उनको योगदान धेरै छ । छोड्नुहोस्, अब के भनिरहनु । तपाईंहरुजस्ता साथी र पत्रकारले हामीले यस्तो सम्मान पाउनुपर्छ भनेर सोच्नु नै ठूलो हो । वास्तवमा, सम्मान समयमा नै पाउँदा राम्रो हो ।’

कपुर खानदानमा पृथ्वीराज कपुरका साथै राज कपुरले पनि दादा साहब फाल्के र शशि कपुरले पद्मभूषण पाइसकेका छन् ।

यसबारे ऋषि कपुरले भनेका थिए, ‘सरकारले कपुर परिवारलाई सम्मानित गर्यो, यो नै राम्रो कुरा हो र यसका लागि हाम्रो पूरा परिवार सरकारप्रति आभारी छ । तर यसको अर्थ यो होइन कि यदि एकै परिवारमा अन्य राम्रा र ठूला कलाकार छन् भने उनीहरुलाई बिर्सनुपर्छ । मैले पद्मश्री पाइनँ तर योभन्दा ठूलो दुःख मलाई के लागेको छ भने शम्मी अंकलले पनि केही पाउनुभएन । जबकी तपाईंलाई थाहा छ कि शम्मी अंकलजस्ता ठूला अभिनेताको फिल्म इन्डष्ट्रीमा कति ठूलो योगदान छ । तर उहाँ यस्ता कुनै पनि सम्मान नपाइकनै यो संसारबाट बिदा हुनुभयो ।’

ऋषि कपुर पछिल्लो केही समयदेखि प्रधानमन्त्री नरेन्द्र मोदीका निकै ठूला प्रशंसकको रुपमा प्रस्तुत हुन्थे । कुनै पनि मुद्दामा उनी तुरुन्त ट्वीट गरेर आफ्नो प्रतिक्रिया दिइहाल्थे ।

यहाँसम्म कि २२ मार्चमा जनता कर्फ्यूका बेला बेलुका ५ बजे मुम्बईस्थित आफ्नो घरको बाल्कोनीबाट ऋषि कपुरले थाल यसरी बजाइरहे कि वर्षौं अघि फिल्म ‘सरगम’ मा उनले ‘ढपली वाले ढपली बजा’ मार्फत् मानिसहरुको दिल जितेका थिए ।

ऋषि कपुरको अप्रिल २ को अन्तिम ट्वीट पनि जय हिन्द र झण्डाको निशानसहित समाप्त हुन्छ । जसमा ऋषि कपुरले कोरोनाविरुद्धको युद्ध जित्नेसहित डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीमाथि ढुङ्गा नहान्न र उनीहरुलाई कुटपिट नगर्न अपिल गरेका थिए । तर कोरोनाविरुद्धको युद्ध जित्नुअघि उनी आफ्नो जीवनको युद्ध हारे ।

रणबीरको विवाह हेर्ने इच्छा पनि रह्यो अधुरोः

ऋषि कपुरलाई आफ्नो गौरवशाली र महान पिता माथि गर्व थियो भने आफ्ना अभिनेता पुत्र रणबीर कपुरको उत्कृष्ट अभिनयले पनि उनको छाती चौडा पारिदिन्थ्यो । आफ्नो ट्वीटर बायोमा पनि ऋषिले केही समयअघि सम्म लेखेका थिए, ‘एक प्रसिद्ध पिताका पुत्र र एक प्रसिद्ध पुत्रका पिता ।’

ऋषिलाई आफ्ना छोरा रणबीरका साथै छोरी रिद्धिमासँग पनि निकै लगाव थियो । अत्यधिक व्यस्त हुँदासमेत उनी आफ्नो परिवारका लागि पूरा समय दिन्थे । आफ्नी छोरीको विवाह त उनले सन् २००६ मा दिल्लीको भरत साहनीसँग निकै धुमधामका साथ गरिदिए । तर पछिल्लो केही वर्षदेखि उनको रणबीरको विवाह हेर्ने ठूलो इच्छा थियो ।

यद्यपि, ऋषिले कहिले पनि रणबीरलाई विवाहका लागि दबाब दिएनन् तर उनी आफ्नो खराब स्वास्थ्यका कारण रणबीरको विवाह हेर्न चाहन्थे ।

रणबीर र आलिया भट्टको प्रेम सम्बन्ध र दुबैको विवाहमाथि सहमती हेर्दा पनि ऋषिको यो इच्छा थप प्रबल हुन्थ्यो ।

जब ऋषि कपुर सेप्टेम्बर २०१८ मा आफ्नो उपचार गराउन न्यूयोर्क गएका थिए तब उनी जानेबित्तिकै आमा कृष्णाको निधन भयो । यस्तोमा आलियाले तुरुन्त उनको घर गएर त्यहि काम गरिन् जुन घरकी बुहारीले गर्छिन् ।

तर रणबीर र आलिया दुबै आफ्नो फिल्म ‘ब्रह्मास्त्र’ लाई पूरा गरेपछि विवाह गर्न चाहन्थे । त्यसकारण ऋषिको रणबीरको विवाह हेर्ने सपना पनि पूरा हुन सकेन ।

स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!