शनिबार, बैशाख १३, २०७७ || 707  पटक पढिएको

लकडाउनका कारण आफ्नो देश फर्कन नपाई नेपालका क्वारेन्टाइनमा राखिएका भारतीयलाई आज बिदाइ गरी भारतीय अधिकारीसमक्ष हस्तान्तरण गरिएको छ । कोरोना भाइरस सङ्क्रमण रोक्न लागु गरिएको लकडाउनपछि भारतीय क्वारेन्टाइनमा बसेका नेपाली शुक्रबारदेखि नै नेपाल सरकारले घर फर्काउन शुरु गरेको छ । उनीहरुलाई सीमा क्षेत्रमा नेपाली जनप्रतिनिधि तथा अधिकारीले स्वागत गरेका थिए । रुपन्देहीको भैरहवास्थित नीमा–प्रतिमान प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा राखिएका १५४ र कपिलवस्तुको सीमा क्षेत्र कृष्णनगर नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा बसेका ३६ भारतीयलाई आज भारतीय अधिकारीलाई हस्तान्तरण गरिएको छ । सिद्धार्थनगर नगरपालिका भैरहवाका नगर प्रमुख हरिप्रसाद अधिकारीका अनुसार शिक्षालयको क्वारेन्टाइनमा राखिएका मजदूरलाई भारतीय अधिकारीसमक्ष आज हस्तान्तरण गरिएको हो । नेपालका विभिन्न ठाउँमा काम गर्ने भारतीयलाई लकडाउनका कारण हिँडेरै घर जाने क्रममा सीमा बन्द भएपछि नेपाल भारत सीमा क्षेत्र दशगजाबाट नेपाली क्वारेन्टाइनमा ल्याएर राखिएको थियो । उनीहरुलाई गत चैत १८ गते नेपाल सरकारको निर्देशनमा सिद्धार्थनगर पालिकाको व्यवस्थापनमा प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा राखिएको थियो । स्वदेश फर्कनुअघि क्वारेन्टाइनमा २५ दिन बिताएका भारत कानपुरका हेमन्त कुमारले भन्नुभयो, “लकडाउनको कारण २५ दिन क्वारेन्टाइन बस्नुपर्दा नेपाली पक्षका तर्फबाट व्यवस्थापन राम्रो भयो, कुनै प्रकारको समस्या ब्यहोर्नु परेन ।” सिद्धार्थनगर पालिका भैरहवाले दैनिक दुई पटक नास्ता र बिहानसाँझ खानाको व्यवस्थासहित व्यवस्थित ढंगले कोठामा राखेको पालिकाका वरिष्ठ अधिकृत गणेश क्षेत्रीले बताउनुभयो । क्षेत्रीका अनुसार क्वारेन्टाइनमा बसेकाहरुको स्वास्थ्यवस्था नियमित रुपमा जाँच गर्न नगरको स्वास्थ्य शाखाकोे टोली तथा सुरक्षाका लागि नेपाली सेनाको टोली खटिएको थिए । यसैबीच भारतको नौतनवास्थित क्वारेन्टाइनमा राखिएका नेपाली पनि स्वदेश फर्किने क्रम जारी छ । शुक्रबार सांँझ १०१ जनालाई स्वदेश फर्काएको थियो भने आज थप १ १२ नेपाली स्वदेश फर्केका छन् । अन्य आउने क्रम जारी छ ।उनीहरु २५ दिनदेखि नौतनवा क्वारेन्टाइनमा बसेका थिए । भारतबाट नेपाल फर्किनेहरुको बेलहियामा कोरोना संक्रमणको आरडिटी गरेर मात्र मुलुक प्रवेश गराइएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोलर निरीक्षक केदारनाथ शाहले बताउनुभयो । क्वारेन्टाइनमा रहेका सबैलाई एकै पटक ल्याएर परीक्षण गर्न कठिन हुने भएपछि उनीहरुलाई तीन चरणमा नेपाल ल्याउन थालिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताउनुभयो । नौतनवा क्वारेन्टाइनमा रहेकामध्ये २९८ जनालाई नेपालआउने अनुमति दिइएको छ । यद्यपि नौतनवामा रहेका तीन क्वारेन्टाइनमा ३४६ जना छन् । मार्च ३० पछि क्वारेन्टाइनमा आएकाहरुलाई अहिले अनुमति नदिएको बताइएको छ । ३५ भित्रिए, ३६ लाई पठाइयो भारत चन्द्रौटा– कपिलवस्तुको सीमानाका कृष्णनगरबाट ३५ नेपाली नागरिकलाई नेपाल प्रवेश गराइएको छ । चौध दिनदेखि भारतको बढनी क्षेत्रका विभिन्न ठाउँका क्वारेन्टाइनमा बसेका नेपालीलाई आज आरडिटी गरी नेपाल भित्र्याइएको छ । भारतका चण्डीगढ, दिल्ली, पञ्जाबलगायत ठाउँमा रोजगारीका लागि गएका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाई भारत सरकारले क्वारेन्टाइनमा राखेको थियो । दुवै देशको सुरक्षा निकायको समन्वयमा नेपालीलाई नेपाल प्रवेश र भारतीयलाई भारत पठाइएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताउनुभयो । सबैको स्वास्थ्य परीक्षण गरेर नेपाल प्रवेश गराइएको जनाइएको छ । भारतबाट नेपाल प्रवेश गराएका नागरिकलाई गन्तव्यसम्म नगरपालिकाले पु¥याइने कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले बताउनुभयो । नेपाल भित्रिएका अधिंकाश नागरिक दाङ, रुपन्देही र कपिलवस्तुका हुन् । नेपाल प्रवेश गरेका सबै नागरिकको आरडिटी नेगेटिभ देखिएपछि उनीहरुलाई घर पठाउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!