गोकर्णेश्वर नगरपालिकाले श्रमिक एवं अति विपन्न ७५० लाई दैनिक बिहान बेलुका निःशुल्क भोजन शुरु गरेको छ । बन्दाबन्दी शुरु भएपछि दैनिक ज्याला गरी जीविकोपार्जन गर्ने नागरिकलाई सहयोग गर्ने उद्देश्यले दाताबाट सहयोग जुटाएर निःशुल्क भोजन शुरु गरिएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले राससलाई जानकारी दिनुभयो । “कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण भीडभाड हुन नदिन भोजन तयार गरी पाँच स्थानबाट प्याकेटमा वितरण हुन्छ, भोजन वितरण हुने स्थानमा पनि दूरी कायम गरेर मात्र राख्ने व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो । नगरपालिकाले पहिलो चरणमा चैत अन्तिम साता दश हजार ५०० मजदूर एवं विपन्न वर्गका नागरिकलाई राहत वितरण गरेको थियो । बन्दाबन्दी बढ्दै गएको र राहत वितरण गर्दा व्यवस्थापन गर्न अप्ठ्यारो भएकाले वैशाखको शुरुदेखि नै निःशुल्क भोजन सेवा दिएको नगरपालिकाले जनाएको छ । बन्दाबन्दी रहेसम्म निःशुल्क भोजन सेवा जारी रहने छ । नगरपालिकाको जोरपाटी क्षेत्रमा रहेका गलैँचालगायत कारखानामा कार्यरत मजदूर एवं विपन्न वर्गका मानिसलाई लक्ष्य गरी यो सेवा शुरु गरिएको हो ।