भारतबाट फर्कने क्रममा ‘लकडाउन’ का कारण सीमा क्षेत्रमै क्वारेन्टाईनमा बसेका नेपाली नागरिकहरुले स्वदेश फिर्ताका लागि नेपाल सरकारसँग अनुरोध गरेका छन ।
रोजगारीका लागि भारतमा रहेर कोरोना संक्रमणको त्रासदीबीच घर–परिवारसँगै बस्ने चाहनाका साथ फर्किएका सुदूरपश्चिम प्रदेशका सयौँ नागरिक सीमावर्ती भारतीय क्षेत्रमा क्वारेन्टाइनमा छन् । लकडाउन लम्बिदै गएको अवस्थामा उनीहरुले स्वदेश फिर्ताको व्यवस्था गरिदिन सरकारलाई अनुरोध गर्न थालेका हुन् ।
‘हामी कष्टकर जीवन बाँचिरहेका छौँ, सरकारले छिटो निकासका लागि निर्णय गरोस् । बरु हामी नेपालमै निर्माण गरिएका क्वारेन्टाईनमा बस्छौँ, सरकारले स्वदेश फर्काउने व्यवस्था मिलाइदियोस्,’ भारतीय क्षेत्रमै क्वारेन्टाइनमा बस्दै आएका त्रिलोक धामीले भने ।
उनी बनवासाको क्वारेन्टाईनमा बसेको आज २२ दिन पुगेको छ । उनले गुनासो गर्दै भने, ‘नत हामीले परिवारसँग भेटघाट गर्न पायौँ, नत आफ्नो देश प्रवेश गर्न पायौँ ।’
बिहान बेलुका भात र रोटी दिए पनि एउटै कोठामा १० जनाको समूह बस्नु परेको उनको गुनासो छ । ‘न पङ्खाको व्यवस्था छ, न त ट्वाईलेटको व्यवस्था नै, एकदमै अप्ठ्यारोमा छौँ,’ उनले भने ।
बरु आफ्नै स्थानीय क्वारेन्टाईनमा बस्ने व्यवस्थासहित सरकारले आफूहरुलाई नेपाल लैजानुपर्ने उनको भनाइ छ ।
कञ्चनपुर जिल्लाको गड्डा चौकी सीमा नाकामा २५१, बैतडीको झुलाघाट नाकामा २४९ र दार्चुला जिल्लाको धार्चुला सीमा नाकामा १ हजार १०६ जना नेपाली ‘लकडाउन’का कारण रोकिएर क्वारेन्टाईनमा बसेका छन् ।
सरकारले उनीहरुलाई नेपाल प्रवेश गराउने निर्णय गरेमात्र आफूहरुले उनीहरुलाई प्रवेश गर्न दिन मिल्ने दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल बताउँछन् ।
‘क्वारेन्टाईनमा बस्दा पीडा त भईहाल्छ नि, यो सवैको सुरक्षाको लागि हो,’ प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘केही दिन कष्ट सहेर भए पनि बस्नुहोस् ।’
धार्चुला सीमा नाकामा कैलाली र कञ्चनपुरका मात्रै १०० जना छन् भने अन्य ११ जिल्लाका नागरिक सीमा नाकाको क्वारेन्टाईनमा बस्दै आएको बताइएको छ ।
झुलाघाट नाका बसेकाहरुको सुरक्षा प्रबन्ध र अन्य ब्यवस्थापनमा आफूहरुले समेत ध्यान दिदैँ आएको प्रमुख जिल्ला अधिकारी पौडेल बताउँछन् ।
कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले भारतबाट आएका नेपालीलाई बनवासा र टनकपुर क्षेत्रका स्कुलको क्वारेन्टाईनमा राखेको बताए । भारतीय क्वारेन्टाइनमा बसेका नेपालीका लागि ब्यवस्थापन ठिक रहेको र त्यति अप्ठ्यारो नभएको उनको भनाइ छ ।