बैतडी घर भई डेनमार्कमा अध्ययनरत एक विद्यार्थीले कोरोनाको सङ्क्रमणबाट जोगिन आवश्यक पर्ने स्वास्थ्य सामग्री बैतडी र दार्चुलाका अस्पताल र सशस्त्र प्रहरीका लागि पठाएका छन् । बैतडीको सिगास घर भएर डेनमार्कमा अध्ययनरत पङ्कज चन्दले जिल्ला अस्पताल बैतडी, जिल्ला अस्पताल दार्चुला, बैतडीस्थित सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म र दार्चुलास्थित सशस्त्र प्रहरी बल नम्बर ५० गुल्मलाई स्वास्थ्य सामग्री पठाउनुभएको हो ।
उहाँले बैतडी र दार्चुला जिल्ला अस्पताललाई समान २५० सर्जिकल मास्क, ४०० पञ्जा, स्यानिटाइजर पाँच, पिपिइ चार थान पठाउनुभएको हो । यस्तै बैतडी र दार्चुलाका सशस्त्र प्रहरीका गुल्मलाई समान ३५० मास्क, पञ्जा ४०० र स्यानिटाइजर आठ वटा पठाएको सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंह जानकारी दिनुभयो ।
कोरोना भाइरसविरुद्ध लड्न अग्रमोर्चामा रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले स्वास्थ्य सामग्री पाएपछि भाइरसको जोखिमबाट बच्न सहज हुने जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले बताउनुभयो । विदेशमा रहेर पनि गृह जिल्लालाई सम्झिएर स्वास्थ्य सामग्री पठाउनु निकै सराहनीय कार्य भएको उहाँले बताउनुभयो । सकारात्मक सोचका साथै सहयोग गर्नुभएकामा सशस्त्र प्रहरी र अस्पतालले उहाँलाई धन्यवादसमेत ज्ञापन गरेको छ । विदेशमा रहेका पङ्कजले अनलाइनमार्फत काठमाडौँमा स्वास्थ्य सामग्रीको माग गरी बैतडी पठाएको हो ।
सर्वोच्चको आदेश कार्यान्वयन हुने आसमा मजदुर
भारतीय सीमा क्षेत्रमा क्वारेन्टाइनमा बसेका नेपाली मजदुरले सर्वोच्च अदालतको आदेश कार्यान्वयन हुने आस गरेका छन् । सर्वोच्चको आदेश कार्यान्वयन गरेर आफूहरुलाई स्वदेश फर्काउन सबैले सहयोग गर्नुपर्ने मजदुर नवीन बोहराले जानकारी दिनुभयो । भारतीय क्वारेन्टाइनमा बसोबासका लागि निकै समस्या भएकाले आफूहरुलाई स्वदेश फर्काई स्वदेशकै क्वारेन्टाइनमा राख्न उहाँहरूले आग्रह गर्नुभयो ।
भारतीय क्वारेन्टाइनमा बसोबासको समस्या भएकाले आफूहरुलाई स्वदेश फर्काउन आग्रह गरेको मजदुर हरिप्रकाश भट्टले बताउनुभयो । सर्वोच्चले सीमामा रहेका नेपाली नागरिकलाई स्वदेशमा ल्याएर क्वारेन्टाइनमा राख्न आदेश दिएको भए पनि सो आदेश कार्यान्वयन हुनसकेको छैन । सीमावर्ती भारतीय क्षेत्रमा क्वारेन्टाइनमा बसेका नागरिकले बसोबासको समस्या हुँदा अन्य सरुवा रोगको जोखिम भएको समेत बताएका छन् ।
एकै कोठामा धेरै मानिस सुत्नुपर्ने भएकाले विभिन्न रोगको जोखिम रहेको नेपाली मजदुर दीर्घराज जोशीले बताउनुभयो । आफूहरुलाई भारतीय क्वारेन्टाइनमा बसेको २२ दिन हुनै लाग्दासमेत स्वदेश फर्कन नपाउँदा खल्लो लागेको उहाँले बताउनुभयो । गर्मीको समयमा धेरै जना एकै ठाउँमा बस्दा छालासम्बन्धी रोग, झाडापखाला र अन्य सरुवा रोगको सङ्क्रमण हुनसक्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले बताउनुभयो । भारतीय बजार झुलाघाटमा २५० भन्दा बढी र धारचुलामा एक हजारभन्दा बढी नागरिक क्वारेन्टाइनमा बसिरहेका छन् । तीमध्ये बैतडीका मात्रै ९०० छन् ।