कोरोना भाइरसको जोखिम बढिरहेको र कोल्टीको स्वास्थ्य केन्द्र लामो समयदेखि चिकित्सिकविहीन भएको अवस्थामा जिल्ला अस्पताल बाजुराबाट एक चिकित्सक खटिएका छन् । जिल्ला अस्पतालमा कार्यरत डा राजुराज जैशीलाई सो प्राथमिक स्वास्थ्य केन्द्रमा हाजिर हुन सुदूरपश्चिम प्रदेश सरकारले पत्र पठाएको छ । कोरोनाको जोखिम बढिरहेको र कोल्टीको स्वास्थ्य केन्द्रमा लामो समयदेखि चिकित्सिकविहीन अवस्था रहेकाले छात्रवृत्ति सेवामा कार्यरत डा जैशीलाई २४ घण्टाभित्र हाजिर हुने गरी प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयद्वारा पत्र पठाएको हो । जिल्ला अस्पतालमा स्थायी दरबन्दीका दुई, निक्साइमन संस्थाबाट दुई र छात्रवृत्ति करार सेवामा गरी पाँच चिकित्सक कार्यरत छन् । कोल्टी क्षेत्रका चार स्थानीय तहलाई लक्षित गरेर आइसोलेशनकक्षसमेत सञ्चालन गर्नुपर्ने भएकाले चिकित्सक अनिवार्य उपस्थित हुन प्रदेश सरकारले निर्देशन दिएको हो । प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा चिकित्सकको दरबन्दी भए पनि लामो समयदेखि रिक्त रहेको छ । दरबन्दीसहित पठाए पनि त्यहाँ चिकित्सक विभिन्न कारण देखाउँदै नबस्ने गरेका छन् । जोखिमको समयमा स्वास्थ्यकर्मीको सहयोग र साथ अति जरुरी भएकाले प्रदेश सरकारले कोल्टीमा चिकित्सक पठाएको केन्द्रका कार्यालय प्रमुखसमेत डा रुपचन्द्र विश्वकर्माले बताउनुभएको छ । जनशक्ति अभावका कारण रिक्त रहेको दरबन्दीमा उपलब्ध स्रोतलाई नै प्रयोग गर्नुपर्ने भएकाले खटाएकै स्थानीय तहबाट तलब सुविधा लिने गरी पत्राचार गरिएको हो । कोल्टीमा जाने चिकित्सकले बूढीनन्दा नगरपालिकाबाटै सुविधा लिनुपर्ने देखिन्छ । जिल्ला अस्पताललाई गत चैत २५ गते नै कोल्टीमा चिकित्सक पठाउन निर्देशनालयबाट पत्र आए पनि त्यसको सुनुवाइ भएको थिएन । एक जनालाई भनिएकाले अस्पताललाई को पठाउने भन्नेमा अन्योलका कारण बेवास्ता गरिरहेको थियो । मुलुक सङ्घीयतामा गएपछि सो केन्द्रमा एक जना मेडिकल अधिकृतको दरबन्दी रहेको छ । चिकित्सक नपठाएको चौतर्फी दबाब बढेपछि प्रदेश सरकारले जिल्ला अस्पताल बाजुरामा नै कार्यरत डा जैशीलाई पठाउन फेरि पत्राचार गरेको हो । डा जैसीलाई कार्यालयका तर्फबाट पत्र पठाइदिने र जाने नजाने, कहिले जाने भन्ने आज टुङ्गो लाग्ने विश्वकर्माको भनाइ छ । करिब एक वर्षयता चिकित्सक नहुँदा कोल्टीवासीले सास्ती भोग्नुपरेको छ । कोल्टीवासीले सामान्य जाँचबाहेकका सेवा लिन सदरमुकान मार्तडी र जिल्ला बाहिर जानुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!