बिहिबार, बैशाख ०४, २०७७ || 618  पटक पढिएको

व्यक्तिगत सुरक्षा कवज (पीपीई)बिना कोरोना भाइरस (कोभिड–१९) उपचार गर्न सम्भव छैन । कोरोना सङ्क्रमितलाई उपचार गर्दा पीपीईको सही सदुपयोग गरे मात्र अन्य स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सर्दैन ।

टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले पीपीई प्रयोग गर्दा अवस्था हेरेर मात्र प्रयोग गर्नुपर्ने बताएका छन् । उनले सामान्य अवस्थामा मास्क, गाउन लगायतका स्वास्थ्य सामग्री लगाए पुग्ने भए पनि कोरोना उपचार त्यतिले मात्र नहुने बताएका छन् । सङ्क्रमितको स्वास्थ्य परीक्षण गर्न जाने बेलामा पूर्ण रूपमा पीपीई लगाउनुपर्छ । “पीपीई प्रयोग गर्दा त्यसको कुनै भाग बिग्रिएको छ या छैन, राम्रोसँंग हेर्नुपर्र्छ,” डा. राजभण्डारीले भने, “पीपीईले आफ्नो शरीरको सम्पूर्ण भाग छोप्नुपर्छ ।” पीपीई लगाएको मिलेको छैन भने तत्काल सुधार गर्नुपर्छ भन्दै उनले त्यसपछि मात्र सङ्क्रमित भएको ठाउँमा जानुपर्ने जानकारी दिएका छन् ।

कामको प्रकृति हेरेर पीपीई प्रयोग गर्न सकिने र बिरामी ओपीडीमा छ भने एक मिटरको दूरी कायम गर्नुपर्ने उनले बताएका छन् । त्यो अवस्थामा दूरी कायम गरेर मास्क मात्र लगाए पनि हुन्छ । डा. राजभण्डारीका अनुसार क्लिनरहरूले पनि अन्य प्रकारको पीपीई प्रयोग गर्दछन्, जुन पुनः प्रयोग गर्न मिल्ने हुन्छ । कतिपय अवस्थामा सर्जिकल गाउन लगाएर मात्र पनि काम गर्न सकिने उनको भनाइ छ ।
कतिपय अवस्थामा पीपीईको गलत प्रयोग पनि बढेको उनले बताएका छन् । विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार पीपीई प्रयोग गर्नुपर्ने भन्दै राजभण्डारीले थपे, “पछिल्लो समय अनावश्यक रूपमा नेता तथा सङ्घसंस्थाले पीपीईको दुरुपयोग गरी काम नै नहुने स्थानमा वितरण गरेको देखियो ।” स्वास्थ्य चौकीमा पनि पीपीई आवश्यक रहेको भन्दै उनले अहिलेको अवस्थामा कोरोना उपचार गर्ने केन्द्रमा पीपीई प्रयोग गर्नुपर्ने जानकारी दिएका छन् ।

नर्देशक डा. राजभण्डारीका अनुसार कतिपय पीपीईको सफाइमा ध्यान दिनुपर्छ । त्यसलाई पखाल्ने तथा धुने गर्नुपर्छ तर कतिपय एकपटक प्रयोग गरेको पीपीई पुनः प्रयोग गर्न मिल्दैन । त्यो अवस्था र ठाउँ हेरेर हुन्छ । टेकु अस्पतालका प्रवक्ता तथा सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले भने टेकु अस्पतालमा एकपटक प्रयोग गरेको पीपीई पुनः प्रयोग गर्ने गरिएको छैन । बिरामीको प्रत्यक्ष निगरानी गर्ने स्वास्थ्यकर्मीले प्रयोग गर्ने पीपीई एकपटक प्रयोग गरिसकेपछि अर्कोपटक प्रयोग गर्न नमिल्ने खालको हुने बताएका छन् । एकपटक प्रयोग गरिसकेपछि डिस्पोज गर्न एउटा प्लास्टिकको प्याकमा राखेर विषाणु मार्ने ‘अटोक्लेभ’ गर्ने र अटोक्लेभ गरिसकेपछि त्यसमा भएको विषाणु मर्छ अनि डिस्पोज गरिने उनले बताएका छन् ।

नेपालमा अन्य व्यक्तिले मात्र नभएर स्वास्थ्यकर्मीले समेत पीपीईको दुरुपयोग गर्न थालेको जानकारीमा आएको उनले बताएका छन् । मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले स्वास्थ्यकर्मीबाट पीपीईको दुरुपयोग बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । विश्व स्वास्थ्य सङ्गठन र नेपाल मेडिकल काउन्सिलको निर्देशिका अनुसार पीपीई प्रयोग गर्नुपर्ने उनको भनाइ छ । (गोरखापत्रबाट)

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!