मंगलबार, बैशाख ०२, २०७७ || 851  पटक पढिएको

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका कारण झापाका दक्षिणी क्षेत्रमा व्यावसायिक खरबुजा खेती गरिआएका किसान मर्कामा परेका छन् । लकडाउनका कारण जिल्लाको गौरीगञ्ज क्षेत्रका किसानले लगाएको सयाँै बिघाको उत्पादित खरबुजा बजारसम्म पु¥याउन नसक्दा बारीमै कुहिने अवस्था आएको किसानको दुःखेसो छ । गौरीगञ्ज गाउँपालिका–१ रङ्गियाथानका किसानले कन्काई खोलाको बगरमा लगाएको खरबुजा र तरबुजा खेतमै कुहिने अवस्थामा पुगेको किसान कैलाश राजवंशीले बताउनुभयो । पाँच बिघामा लगाएको खरबुजा पाकेर बेच्ने समयमा एक्कासि यातायात र बजार बन्द हुँदा करिब रु १० लाख बराबरको खरबुजा खेतमै सड्ने अवस्थामा पुगेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “खरबुजा खेती गर्न बैंकबाट रु चार लाख ऋण लिएकाले बिक्री समयमा नै बजार बन्द हुँदा खरबुजा खोला बगरमै कुहिने अवस्था आएको छ ।” लामो समयदेखि लकडाउन हुँदा पाकेको खरबुजाले बजार नपाउँदा यसपटक बैंकको ऋण तिर्नु त परै जाओस परिवारको समेत बिल्लीबाठ हुने अवस्था आएको उहाँको दुःखेसो छ । उहाँले लकडाउन अझै थपिए आफूहरुले उत्पादन गरेको खरबुजा बजारसम्म लैजाने वातावरण बनाइदिन सरकारसँग माग गर्नुभयो । लामो समय वैदेशिक रोजगारीमा विदेशको श्रम गरिआउनुभएका राजवंशीले विदेशमा गरिने मेहेनत आफ्नै देशमा त्यत्तिकै मेहेनत गर्दा विदेशको भन्दा राम्रो कमाई हुने आसले आयमूलक मौसमी खेती गरिआउनुभएको छ । दुई वर्षदेखि मौसमी खेती गरिआउनुभएका उहाँ लकडाउन अझै थपियो भने बारीका सबै खरबुजा कुहिएर सखाप हुने अवस्था आउने बताउनुहुन्छ । पाकेर बारी लटरम्म हुँदा अब पनि बेच्न पाउने अवस्था नआए भोकै मर्नुपर्ने अवस्था आउने उहाँको गुनासो छ । राजवंशीजस्तै सोही स्थानका ३० भन्दा बढी युवाले खरबुजा र तरबुजाको व्यावसायिक खेती गर्दै आएका छन् । निकै राम्रो कमाइ हुने आसले घर छाडेर खेती गर्न उहाँ मोरङको जहदा गाउँपालिका–७ बाट गत कात्तिकमा नै कन्काई बगरमा आउनुभएको हो । उहाँसँगै जहदाका ३० युवा मिलेर ठूलो परिमाणमा खरबुजा खेती हुँदै आएको छ । खरबुजा बेच्ने समयमा कोरोना भाइरसका कारण लकडाउन भएपछि एकाएक निरास भएका चौधरीले भन्नुभयो, “खरबुजा बिक्री नहुने सम्भावना बढेपछि मेहनत, परिश्रम र लगानी डुब्ला कि भन्ने त्रास बढेको छ ।” प्रतिबिघा रु १० हजार भाडामा लिएर खेती गर्दै आउनुभएका किसान चौधरीले यो पटक खरबुजाबाट नाफा त परै जाओस् उल्टै रु १० लाख बढी घाटा हुने सम्भावना देखिएको बताउनुहुन्छ । कन्काई बगरमा ती युवाले रङ्गियाथानबाट हुलाकी सडक दक्षिणसम्म १०० बिघाभन्दा बढी जग्गामा खरबुजा र तरबुजा खेती गरेका छन् । सोही आसपासमा नै स्थानीय प्रकाश राजवंशी, जगन्नाथ राजवंशी, मनोज चौधरीलगायतले समेत खरबुजा र तरबुजा लगाउनुभएको छ । उद्यमी प्रकाश राजवंशीका अनुसार भारतको बिहारबाट मेघना, माधुरी, अगस्ता र आस्ता जातका खरबुजाको बीउ खरिद गरेर पुस महिनामा बिरुवा रोपिएको हो । एक केजी बीउको नेपाली मूल्य रु ४० हजार पर्ने र एक केजी बीउबाट ४५ हजार बिरुवा निस्कने गरेको छ । बगरमा मात्र खेती हुने यस फलको बिक्री गर्ने समयमा भने एक्कासि बन्द हुँदा लाखौँ नोक्सानी हुने उहाँको पनि गुनासो छ । गर्मी महिनामा खान उपयुक्त हुने पानीको मात्रा बढी भएको स्वास्थ्यका दृष्टिकोणले पनि लाभदायक हुने खरबुजा पाकेपछि अन्य क्षेत्रबाट समेत बारीमा नै व्यापारीले खरिद गरी लैजाने गरेका छन् । यहाँका उत्पादित खरबुजा स्थानीय बजारसहित पूर्वका इटहरी, नारायणगढ, गोलबजार, जनकपुर, काठमाडौँसम्म पैठारी गरिआएको उद्यमी राजवंशी बताउनुहुन्छ । मलपानी राम्रो पुगेमा एउटा खरबुजा २० केजीसम्मको हुने र होलसेलमा प्रतिकेजी रु २० सम्ममा बिक्री हँुदै आएको उहाँको भनाइ छ । विदेश त्यागेर स्वदेशमा श्रम गरिआएका मेहनती युवाहरुले गरेको यस्ता आयमूलक कृषिकर्मलाई प्रोत्साहन गर्नुपर्ने गौरीगञ्ज–१ का वडाध्यक्ष कार्तिकलाल राजवंशी बताउनुहुन्छ । यहाँको खरबुजा स्थानीयस्तरमा खपतले मात्र नसकिने भएकाले अन्य क्षेत्रमा निर्यात गर्न सहयोग गर्न खाँचो रहेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!