बिहिबार, चैत्र २७, २०७६ || 674  पटक पढिएको

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीमा व्यावसायिकरूपमा तरकारी खेती हुन्छ । यहाँका करिब ५०० भन्दा बढी कृषकले व्यावसायिकरूपमा तरकारी खेती गर्छन् । उत्पादित तरकारी तनहुँभन्दा पनि बाहिरी जिल्लामा बढी मात्रामा निर्यात हुने गरेकामा लकडाउनपछि उत्पादित तरकारीले बाहिरी जिल्लामा बजार पाएको छैन । बाहिरी जिल्लामा तरकारी निर्यात नभएपछि तरकारी कृषक सङ्गठित भएर स्थापना भएको मिलीजुली कृषि उत्पादक कृषि सहकारी संस्थाले जिल्लाभित्रै तरकारी बिक्री वितरण शुरु गरेको छ । कोभिड–१९को जोखिम नियन्त्रणका लागि जारी लकडाउनमा सर्वसाधारणलाई सहजरूपमा तरकारीको व्यवस्था गर्न सहकारीले घरघरमै पुगेर तरकारी बिक्री शुरु गरेको अध्यक्ष ईश्वरबाबु गौलीले जानकारी दिनुभयो । सहजरूपमा तरकारीको आपूर्ति मिलाउन सहकारीले आफ्नै सवारी साधनबाट तरकारी बिक्री गरिरहेको गौलीले बताउनुभयो । गौलीका अनुसार एक हप्ता अगाडिबाट आँबुखैरेनी, खैरेनीटार, डुम्रे, दुलेगौडा, दमौलीलगायतका ठाउँमा तरकारी बिक्रीको व्यवस्था मिलाइएको छ । उहाँका अनुसार अहिले उत्पादनअनुसारका बन्दा, काउली, फर्सी, लौकालगायतका तरकारी बिक्री भइरहेको छ । एक हप्तापछि लहरेबाली पनि उत्पादन हुनेछ । सहकारीमा ६५० शेयर सदस्य आबद्ध छन् । तीमध्ये ४०० जनाले तरकारी खेती गर्ने गरेका छन् । “हिउँद र वर्षाअनुसार फरक–फरक खेती गर्ने कृषक छन्”, गौलीले भन्नुभयो, “बजारको आवश्यकता र मागलाई ध्यानमा राखेर तरकारी उत्पादन गर्छौँ ।” सहकारीमा आबद्ध कृषकको सहकारीमा नै खाता खोलिएको छ । तरकारी बिक्रीवापतको पैसा सिधै कृषकको खातामा जम्मा गर्ने व्यवस्था मिलाइएको छ । सहकारीले गत वर्ष मासिक रु दुई लाख ५० हजारसम्मको तरकारी बिक्री गर्ने गरेको थियो । दमौली अस्पताललाई पिपीइ व्यक्तिगत सुरक्षा सामग्री (पिपीइ) को अभावमा स्वास्थ्यकर्मी बिरामीको परीक्षण गर्न डराइरहेका बेला लायन्स क्लब अफ नेपाल ३२५ बी १ ले दमौली अस्पताललाई पिपीइ सहयोग गरेको छ । कोभिड–१९ का शङ्कास्पद बिरामीको स्वास्थ्य परीक्षणका क्रममा स्वास्थ्यकर्मीको सुरक्षालाई ध्यानमा राखेर क्लबले अस्पताललाई आठ थान पिपीइ सहयोग गरेको छ । दमौली अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीलाई उक्त पिपीइ हस्तान्तरण गर्दै राष्ट्रियसभा सदस्य प्रकाश पन्थले उच्च मनोबलका साथ स्वास्थ्यकर्मीले काम गर्ने वातावरण सिर्जना गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो । कोभिड–१९ का शङ्कास्पद बिरामीले पोखरा गएर नमूना सङ्कलनका दिनुपर्ने बाध्यताको अन्त्य गर्न अस्पतालले दमौलीबाटै स्वाब सङ्कलनको व्यवस्था मिलाएको छ । विकास समितिका अध्यक्ष अधिकारीले शङ्कास्पद बिरामीलाई सहज होस् भनेर दमौलीबाटै स्वाबको नमूना सङ्कलन गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । तनहुँ जिल्लाका हालसम्म एक जनाको स्वाबको परीक्षण गरिएको छ । ऋषिङ गाउँपालिका–६ का एक व्यक्तिको काठमाडौमा स्वाबको परीक्षण गरिएकोमा उनको नतिजा नेगेटिभ आएको थियो । जिल्लामा अहिलेसम्म विदेशबाट फर्किनेको सङ्ख्या ७१४ पुगेको छ । तीमध्ये एक जना मात्रै स्थानीय तहले बनाएको क्वारेन्टाइनमा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!