शुक्रबार, मंसिर २७, २०७६ || 1725  पटक पढिएको

हिपमत डटकम
काठमाडौं, मंसिर २७ गते ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको छ । बैठक संस्थापन इतर पक्षले भने बहिष्कार गरेको थियो ।

पार्टी केन्द्रीय कार्यालयका अनुसार आज सम्पन्न बैठकमा कांग्रेसले पार्टीका केन्द्रीय विभागहरुको संरचनात्मक र संख्यात्मक परिमार्जनसम्बन्धी प्रस्तावलाई छलफलका लागि प्रस्तुत गरेको छ ।

कांग्रेसले विधानमा उल्लेखित २८ विभागलाई बढाएर ४१ पुर्याउने प्रस्ताव प्रस्तुत गरेको हो । बैठकमा पार्टीको विधानको दफा ३७ (१) (क) मा व्यवस्था गरिएका केन्द्रीय विभागहरुलाई परिमार्जन र पुनर्गठन गरी विधानकै दफा ३७ (२) अनुसार सो प्रस्ताव गरिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रस्तावित ४१ केन्द्रीय विभागमा सङ्गठन, सूचना, सञ्चार तथा प्रचार, अन्तर्राष्ट्रिय सम्बन्ध, राज्य प्रशासन, आर्थिक नीति तथा योजना, अभिलेख, अनुगमन तथा मूल्याङ्कन, नेपाली जनसम्पर्क समिति समन्वय, सङ्घीय मामिला तथा प्रदेश समन्वय, संसदीय मामिला, संवैधानिक तथा कानून, स्थानीय तह समन्वय, महिला, तरुण, विद्यार्थी, जिल्ला सम्पर्क समिति समन्वय, पेशागत तथा बुद्धिजीवी, शिक्षा, स्वास्थ्य, गैरसरकारी संस्था एवं सामाजिक सेवा, उद्योग–व्यापार, पर्यटन, निर्माण, यातायात तथा व्यवसाय समन्वय, कृषि तथा किसान, आदिवासी जनजाति र खेलकुद विभाग रहेका छन् ।

यसैगरी प्राकृतिक स्रोत, साहित्य, कला तथा संस्कृति, श्रम, वैदेशिक रोजगार समन्वय एवं आप्रवासन, फरक क्षमता समन्वय एवं उत्प्रेरणा, दलित, द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप, मुस्लिम, वन तथा वातावरण, तराई मधेश, वित्तीय संस्था तथा सहकारी समन्वय, पिछडिएको क्षेत्र समन्वय, विज्ञान तथा प्रविधि, भूपू सैनिक, अन्य पार्टी सम्पर्क र समन्वय, शुभेच्छुक संस्था समन्वय र अन्य भ्रातृ सङ्घ समन्वय गरी ४१ विभाग गठन गर्ने प्रस्ताव प्रस्तुत गरिएको हो ।

तरुण दलको समयावधि ६ महिना थप प्रस्ताव

त्यस्तै बैठकले नेपाल तरुण दलद्वारा आफ्नो केन्द्रीय समितिको समयावधि ६ महिना थप गरेको निर्णयलाई अनुमोदनसम्बन्धी प्रस्ताव र कालापानी लगायतको सीमा अतिक्रमणसम्बन्धी प्रस्ताव पनि प्रस्तुत गरेको छ ।

साग विजेता खेलाडीलाई बधाई तथा शुभकामना

बैठकमा कांग्रेसले भर्खरै सम्पन्न भएको दक्षिण एसियाली खेलकुद (साग) मा विभिन्न पदक जित्ने खेलाडीलाई बधाई दिएको छ । साथै, कांग्रेसले खेलकुदको विकास र खेलाडीको जीवन सुनिश्चितताका लागि विशेष प्याकेज निर्माण गर्न सरकारसँग माग गरेको छ ।

यसैगरी, बैठकले अन्तर्राष्ट्रिय रेडक्रस महासङ्घको हालै जेनेभामा सम्पन्न बैठकबाट कार्यकारी प्रमुखमा चितवन जिल्ला निवासी नेपाली सामाजिक अभियन्ता जगन चापागाईं निर्वाचित भएकामा बधाई ज्ञापन गरेको छ ।

त्यस्तै, बैठकले धान्य पूर्णिमा, उधौली पर्व र योमरीपुन्ही पर्वले सामाजिक सद्भावना बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै यस अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै शुभकामना व्यक्त गरेको छ ।

बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउन विधानको धारा ७२ को उपधारा ४ बमोजिम अन्तरिम समायोजनसम्बन्धी निर्देशिका कार्यान्वयन सम्पन्न भएको र बाँकी रहेको सम्बन्धमा केन्द्रीय निर्वाचन समितिले सो सम्बन्धी जानकारी बैठकमा प्रस्तुत गरेको थियो ।

तेस्रो चरणको जागरण अभियान माघ १६ देखि

कांग्रेसले केन्द्रीय समिति बैठकमा तेस्रो चरणको जागरण अभिनयान सञ्चालन गर्ने विषयमा पनि छलफल गरेको छ । बैठकले तेस्रो चरणको जागरण अभियानको मिति परिवर्तन गरेर आगामी माघ १६ गते शहीद दिवसका दिनदेखि माघ २५ सम्मलाई तोकेको छ ।

बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको थियो । बैठकमा केन्द्रीय सदस्यहरु महेश आचार्य, भीष्मराज आङ्दम्वे, आनन्दप्रसाद ढुङ्गाना, महेन्द्र यादव, श्यामकुमार घिमिरे, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, रमेश लेखक र हरिप्रसाद नेपालले आफ्नो धारणा राखेका थिए । केन्द्रीय कार्यसमितिको अर्को बैठक यही मङ्सिर २९ गते दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने उनले बताए । दनेपालटप

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!