बुधबार, चैत्र २६, २०७६ || 733  पटक पढिएको

गण्डकी प्रदेशमा हालसम्म कोराना भाइरसको परीक्षणका लागि १२४ नमूना सङ्कलन भएकामा रिपोर्ट आएका मध्ये ७२ वटा नेगेटिभ देखिएको छ । हाल ५२ को परीक्षण जारी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । उहाँले सर्वसाधारणलाई कोरोना सङ्क्रमणबारे शङ्का लागेमा घरबाटै चिकित्सकीय पराशर्म लिन सहयोग पु¥याउने लक्ष्यका साथ सञ्चालित हेलो डाक्टर १०९२ कार्यक्रम प्रभावकारी बनिरहेको बताउनुभयो । हेलो डाक्टर कार्यक्रममा हालसम्म ४८५ जनाले चिकित्सकीय परामर्शसहितको सेवा लिएका छन् । आफूखुशी राहत वितरण गरे कारवाही दमौली ः जिल्ला प्रशासन कार्यालय तनहुँले लकडाउनको बेला आफूखुशी राहत सङ्कलन र वितरण गर्नेलाई कारवाही गर्ने भएको छ । कोभिड–१९ को जोखिम नियन्त्रणका लागि लागू गरिएको लकडाउनको अवधिमा केही व्यक्ति तथा सङ्घसंस्थाले आफूखुशी राहत वितरण गर्न थालेको भन्दै प्रशासनले त्यस्तो नगर्न अनुरोध गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले आफूखुशी राहत वितरण कार्य सरकारको नीतिविपरीत भएको हुँदा त्यस्तो नगर्न नगराउन र त्यस्ता किसिमका राहत वितरण कार्य सम्बन्धित स्थानीय तहको समन्वयमा मात्र गर्न सचेत गराइएको जानकारी दिनुभयो । कतिपय उद्योग व्यवसायीबाट अत्यावश्यक वस्तुको मूल्यवृद्धि गरेको, उपभोक्तासँग बढी रकम असुल गरी कालोबजारी गरिएको भन्ने बुझिन आएकाले त्यस्ता कार्य नगर्न नगराउन पनि प्रशासन कार्यालयले सचेत गराएको छ । यसैबीच लकडाउन जारी भएपछि तनहुँ जिल्लामा अलपत्र परेका एक हजार २०० भन्दा बढी कामदारलाई उद्धार गरी घर पठाइएको छ । जिल्लाका विभिन्न भागमा सञ्चालित सडक आयोजना, नाला, पुललगायतमा काम गर्ने कामदारलाई जिल्ला प्रशासन कार्यालयले उद्धार गरेर घर पठाएको हो । लकडाउन शुरु भएदेखि हालसम्म एक हजार २३० कामदारको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिनुभयो । जिल्लामा सङ्क्रमण हुन नदिन उच्च सतर्कता अपनाइएको र विदेशबाट फर्किएकाको खोजतलास गरी क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले बताउनुभयो । कोषमा सहयोग कोभिड–१९ को जोखिम कम गर्न, राहत वितरण तथा आवश्यक व्यवस्थापनका लागि जिल्लाका विभिन्न स्थानीय तहमा खडा गरिएको विपद् कोषमा सहयोग उठ्ने क्रम शुरु भएको छ । रु ५० लाखको विपद् व्यवस्थापन कोष बनाएको भानु नगरपालिकामा जैविक विविधता केन्द्रले रु १० हजार, ग्रिन हिमालय कृषि तथा पशु फार्मले रु १५ हजार, प्रगतिशील दुग्ध उत्पादक सहकारी संस्थाले रु १० हजार सहयोग गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो । यसैगरी देवघाट गाउँपालिकामा खडा गरिएको विपद् व्यवस्थापन कोषमा प्राणनाथ अनाथ सेवा आश्रमले रु २५ हजार, सिद्धार्थ बैंक देवघाट शाखाले रु ३० हजार सहयोग गरेको छ । म्याग्दे गाउँपालिकामा म्याग्दे सहकारी सङ्घले रु एक लाख ४१ हजार ९४७ र स्थानीय रामभक्त घिमिरेले रु १० हजार सहयोग गरेका छन् । कुसुन्डा परिवारलाई राहत तनहुँको व्यास नगरपालिका १० स्थित डिहीकुन निवासी अति सीमान्तकृत जाति कुसुन्डाको परिवारलाई राहत सामाग्री प्रदान गरिएको छ । नेपाल आदिवासी जनजाती जिल्ला समन्यव परिषदका तर्फबाट खाद्यान्न र समाग्री सहयोग गरिएको हो । परिषदकी तनहुँकी अध्यक्ष वसुन्धरा घर्तीले विषम परिस्थितिमा सानो भएपनि सहयोग गरिएको बताउनुभयो । । भारतबाट आएका आठको स्वाब सङ्कलन बलेवा ः बाग्लुङको बरेङ गाउँपालिकामा भारतबाट आएका छसहित आठ जनाको कोरोना परीक्षणका लागि थ्रेट स्वाब सङ्कलन गरिएको छ । स्वास्थ्य कार्यालय बागलुङको टोलीले बरेङस्थित जनता प्रावि क्वारेन्टाइन र सर्वोदय माविमा रहेको क्वारेन्टाइनमा पुगेर थ्रेट स्वाब सङ्कलन गरेको हो । नेपाल–भारत सीमाको गौरीफन्टा नाका हुँदै आएका कैलालीका एक युवामा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि उनीसँगै नेपाल छिरेका चारको परीक्षण थालिएको हो । उनीहरु भारतको कर्नाटकबाट धनगढी हुँदै पाल्पामा सात दिन बसेर बागलुङको बरेङ आएका थिए । बरेङ आएको दिनदेखि नै सर्बोदय माविको क्वारेन्टाइनमा बसिरहेका उनीहरुको थ्रेट स्वाब सङ्कलन गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताउनुभयो । त्यस्तै भारतकै मुम्बइबाट आएका दुई जनाको पनि स्वाब सङ्कलन भएको छ । गुल्मीको शान्तिपुरसम्म उनीहरुलाई लिन पुगेका थप दुई जनाको पनि स्वाब सङ्कलन गरिएको गुरौले बताउनुभयो । उनीहरु नयाँबजारको जनता प्राविको क्वारेन्टाइनमा बसेका छन् । मङ्गलबार सङ्कलन भएको स्वाब आज बिहान मात्रै पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइने छ । कालीगण्डकीबाट सकुशल उद्धार पर्वत ः आत्महत्या गर्न हाम फालेकी एक महिलालाई पर्वतको जलजला गाउँपालिकाका युवाहरुले सकुसल उद्धार गरेका छन् । सिन्धुपाल्चोक जिल्ला घर भई मजदुरी गर्ने अन्दाजी ३२ वर्षीया देवी थापा नाम गरेकी महिला पर्वतको जलजला गाउँपालिका–३ दोबिल्लाबाट कालिगण्डकी नदीमा हामफालेकी थिइन् । मङ्गलबार साँझ करिब ६ बजे पिपलबोट युवा क्लबका सल्लाहकार सन्दीप गुरुङसहितका युवाले महिलाको सकुशल उद्धार गरेको प्रत्यक्षदर्शी स्थानीय टङ्क शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!