बुधबार, चैत्र २६, २०७६ || 716  पटक पढिएको

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको उच्च जोखिममा रहेको बागलुङमा सरकारले कोरोना भाइरसको द्रुत परीक्षण (र्यापिड टेष्ट) गर्ने निर्णय गरे पनि कार्यान्वयनमा ढिलाइ हुनेभएको छ । स्वास्थ्य मन्त्रालयले आइतबार बागलुङसहित तीन जिल्लामा र्यापिड टेष्ट गर्ने निर्णय गरेसँगै आवश्यक प्राविधिक टोली पठाएको भने पनि बागलुङमा मङ्गलबार बेलुकासम्म मन्त्रालयको कुनै टोली नआएको सरोकारवाला निकायले जनाएका छन् । पठाइएको भनिएको किटसहितको प्राविधिक टोली तीन दिनसम्म जिल्लामा नआउँदा तीव्ररूपमा फैलिएको भाइरस नियन्त्रणमा समस्या हुने भएको छ । मन्त्रालयले पठाएको टोली समयमै नआउँदा र्यापिड टेष्ट कार्यान्वयनमा ढिलाइ हुने भएको हो । गण्डकी प्रदेश स्वास्थ्य कार्यालय बागलुङ तथा धौलागिरि अञ्चल अस्पतालमा र्यापिड टेष्ट किट तथा प्राविधिक टोली हालसम्म नआएको बताइएको छ । हालसम्म धौलागिरि अस्पतालले कोरोना शङ्कास्पद व्यक्तिको स्वाबको नमूना सङ्कलन गरी परीक्षणका लागि काठमाडौँ अथवा पोखरा पठाउने गरेको धौलागिरि अञ्चल अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बिक पोखरेलले जानकारी दिनुभयो । “हालसम्म र्यापिड टेष्ट किट र प्राविधक टोली आइपुगेको छैन”, उहाँले भन्नुभयो “स्वास्थ्य कार्यालयले समन्वय गरिरहेको छ, चाँडै आइपुग्छ भन्ने छ ।” पोखरेलका अनुसार मन्त्रालयमा जानकारी लिँदा बायोमेडिकल इन्जिनियरसहित दुईजना प्राविधिक आउने जानकारी पाइएको हो । मन्त्रालयमा यस विषयमा जानकारी लिँदा बुधबारमात्र किटसहितको प्राविधिक काठमाडौँबाट हिँड्ने जानकारी प्राप्त भएको गण्डकी प्रदेश स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौँले जानकारी दिनुभयो । गुरौँका अनुसार भनेको समयमा प्राविधिकसहित किट नआउँदा निर्णय कार्यान्वयनमा झण्डै पाँच दिन लाग्ने भएको छ । अहिलेको अवस्थामा निर्णयहरु तत्काल कार्यान्वयन नहुँदा सङ्क्रमण बढ्न सक्ने कतिपयले चिन्ता व्यक्त गरेका छन् । आइतबार र्यापिड टेष्ट गर्ने निर्णयसँगै जिल्लामा प्राविधिक तथा किट पठाइएको मन्त्रालयले जानाए पनि बागलुङमा आजसम्म प्राविधिक टोली आएको खण्डमा निर्णय भएको पाँच दिनपछि मात्रै र्यापिड टेष्ट हुने भएको हो । मन्त्रालयले बागलुङमा विदेशबाट आएका झण्डै नौ सय र सङ्क्रमण देखिएका दुईजनाका छिमेकीसहित झण्डै एक हजारको परीक्षण गर्नुपर्ने बताएको छ । स्वाब परीक्षण गर्ने विधि ढिला भएकाले कोरोनाको द्रुत परीक्षण गर्ने सरकारले निर्णय गरे पनि तीन दिनसम्म टोली जिल्लामा नआएको हो । स्वाबबाट गर्दा २४ देखि ४८ घण्टासम्म लाग्नेमा सानो किटबाट गर्न सकिने द्रुत परीक्षणमा १० देखि १५ मिनेटमै कोरोनाको सङ्क्रमण भए नभएको परीक्षण गर्न सकिन्छ । बागलुङमा अहिले दुईजना कोरोना सङ्क्रमित फेला परिसकेका छन् । दुवै सङ्क्रमित महिलालाई धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरेर उपचार भइरहेको छ । दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको धौलागिरी अञ्चल अस्पताल बागलुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!