आइतबार, चैत्र २३, २०७६ || 888  पटक पढिएको

स्थानीय जहरु मियाँको काम गर्न नसक्ने गरी खुट्टा भाँचिएको छ । श्रीमतीको श्रमबाट गुजारा चलिरहेकामा अहिले लकडाउन भएकोले काममा निस्कन नपाउँदा परिवारलाई हातमुख जोड्न गाह्रो भएको छ । घरमा न पैसा छ न अन्न । लकडाउन जारी भएको आज १३ औँ दिनसम्म गरीब एवं विपन्न मुस्लिम परिवारले जसोतसो परिवार चलाए, अब उनीहरुलाई खाद्यान्नको अभाव हुन थालेको छ । दैनिक काम गरेर पाउने ज्यालाबाट जीविकोपार्जन गर्ने यस्ता परिवारले लकडाउनमा काम गर्न पाएका छैनन् भने उनीहरुमा अब जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ता छ । “अब कसरी जीवन निर्वाह गर्ने हो ।” सुनसरी इनरुवा नगरपालिका वडा नं.७ मुस्लिम बस्तीका विपन्न एवं गरीब परिवारको दुःखेसो हो यो । काम गर्न नपाएको अवस्थामा कसैले राहत लिएर आउँछन् कि भनेर बाटो रुँगेर बस्नु उनीहरुको नयाँ दैनिकी भएको छ । तर राहत त के जनप्रतिनिधिले पनि भेटघाट वा सान्त्वना दिन पनि नआउने उनीहरुको गुनासो छ । सामान्य अवस्थामा गाउँघरमै तथा केहीले सात किमी यात्रा गरेर इटहरी उपमहानगरपालिकाका गएर दैनिकी ज्यालादारीमा काम गरेर परिवार चलाईरहेका उनीहरु लकडाउनमा घर बाहिर निस्कने कुरै भएन । कोरोना भाइरसबाट बचाउन सरकारले यही चैत ११ देखि लकडाउन जारी गरेको थियो । लगातार दुई पटक तत्कालीन चाँदबेला गाविसको अध्यक्षमा निर्वाचित गराएको र पछिल्लो समयमा वडा सदस्य पदमा जिताएर सुनसरी जिल्ला समवन्य समितिका संयोजक हुने अवसर पाएका गोपाल राजभण्डारी कहिलेकाँही गाडी लिएर आए पनि उहाँको आश्वासन मात्र पाइएको स्थानीय निजाब मियाँले बताउनुभयो । उहाँले भन्नुभयो, “म दिनभरी बरफ बेचेर गुजारा गर्ने मानिस हुँ अहिले बजार बन्द छ, बरफ फ्याक्ट्री बन्द छ । कहाँ बरफ किन्नु र बेचेर पैसा कमाउनु ?” सोही गाउँका अताहुसेन मियाँले जनप्रतिनिधिलाई राहतका लागि अनेक अनुरोध गरेपनि अहिले सम्म राहत नआएको र सोही गाउँका हुनेखाने हाजी मोहम्मद रसुललाई गुहार माग्दा उहाँले करिव ७० परिवारमा १० केजी देखि १५ केजी चामल वितरण गरिदिनुभएको छ । आफूहरु श्रम गर्ने मानिसहरु श्रम नगरी पैसा आउँदैन थाहा छ तर कहाँ काम गर्ने र कसरी समस्यालाई समाधान गर्ने चिन्ता परेको अर्का स्थानीय दुर्गेश चौधरीले भन्नुभयो । अर्का स्थानीय आकुप मियाँले दिनभरी बस्दा बस्दा वाक्क लागेको र कहिले लकडाउन फुुकुवा हुन्छ र काम गर्न पाउँछु भन्ने आशामा रहेको बताउनुभयो । उहाँले अहिलेका लागि राहत कुर्नु नै विकल्प भएको जनाउनुभयो । सोही गाउँका मोहम्मद नजमुलले दुःखको बेलामा जनप्रतिनिधिले जनतालाई हेर्नुपर्ने बताउनुभयो । सो वडाका वडा अध्यक्ष किशोर सिंहले राहत वितरण गर्न लगत तयार गरिरहेको र नगरपालिकामा छलफल भइरहेको जानकारी दिँदै निर्णय भएपछि राहत वितरण गरिने जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!