कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन सरकारले दुई हप्ता लामो ‘लकडाउन’ गरेपछि नेपाली फिल्मका हरेक गतिविधि ठप्प भएका छन् । कोरोनाको त्रासले फागुनबाटै फिल्म प्रदर्शनमा आउन छाडेका थिए भने ‘लकडाउन’ पछि फिल्मको छायांकन पनि रोकिएको छ । जसले गर्दा फिल्ममा मजदुरी गरेर परिवार पाल्ने प्राविधिकहरुलाई आर्थिक संकट परेको छ ।
‘लकडाउन’ पछि फिल्म प्राविधिकहरुलाई बिहान बेलुका हात-मुख जोर्नै समस्या भएपछि चलचित्र प्राविधिक संघले फिल्मकर्मीसँग सहयोगको अपिल गरेको थियो । शुक्रवार ‘छक्का पञ्जा’ टिमले प्राविधिकहरुका लागि १ लाख १० हजार दिने घोषणा गरेको केही घण्टापछि अहिलेका हटकेक अभिनेता पल शाहले पनि सामाजिक सञ्जालको माध्यमबाट सहयोग रकम घोषणा गरेका छन् ।
https://www.facebook.com/paulshahinfo/photos/a.674797359255076/2840830962651694/?type=3
फेसुबकमा स्टाटस लेख्दै अभिनेता शाहले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका प्राविधिकहरुलाई आफ्नो व्यक्तिगत तर्फबाट ५ लाख सहयोग गर्न लागेको जानकारी गराएका हुन् । ‘विपन्न तथा आर्थिक अवस्था कमजोर भएका चलचित्र प्राविधिक तथा अन्य सहयोगीहरूको जनजीवनलाई सहज बनाउनको लागि आर्थिक सहयोग गर्ने घोषणा गर्दछु,’ उनले लेखेका छन् ।
यो सहयोग वितरण कार्यमा उनले चलचित्र प्राविधिक संघसँग सहयोगको अपेक्षा राखेका छन् । आर्थिक अवस्था कमजोर भएका फिल्म क्षेत्रमा सक्रिय सबैको साथमा आफू रहेको पनि उनले उल्लेख गरेका छन् । प्राविधिकहरुका लागि ठूलो रकम सहयोग गरेपछि फिल्मकर्मी र दर्शकले उनको प्रशंसा गरेका छन् । प्राविधिकहरुका लागि अहिले सहयोग जुट्ने क्रम बढेको छ । यता नायिका बर्षा सिवाकोटी तथा चपली हाईट निर्माता अर्जुन कुमारले भने कोरोना नियन्त्रणको लागि भन्दै सरकारलाई यसअघि नै सहयोग गरिसकेका छन् ।