
तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तनहुँबाट ६७ जना निर्वाचन प्रहरी छिमेकी जिल्ला स्याङ्जा पठाइएको छ।

तनहुँ जिल्लाका लागि आवश्यक १ हजार ५७३ जना निर्वाचन प्रहरीमध्ये बाँकी रहेका १९६ वैकल्पिक प्रहरीबाट उक्त सङ्ख्या स्याङ्जा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। मागअनुसार आवेदन नपरेपछि स्याङ्जाबाट सहयोगका लागि वैकल्पिक निर्वाचन प्रहरी माग गरिएको हुँदा आवश्यक जनशक्ति उपलब्ध गराइएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए।
उनका अनुसार तनहुँमा छनोट भएका निर्वाचन प्रहरीमध्ये हालसम्म ४२ जना अनुपस्थित देखिएका छन्। आजसम्म पनि उपस्थित नभएमा बाँकी वैकल्पिक १२९ जनामध्येबाट आवश्यक व्यवस्थापन गरिनेछ।
गत पुस २५ देखि माघ ३ गतेसम्म निर्वाचन प्रहरीका लागि आवेदन आह्वान गरिएको थियो। मागअनुसार आवेदन नपरेपछि माघ १० र ११ गते पुनः आवेदन खुला गरिएकोमा पुरुष ४३६ र महिला २१७ गरी जम्मा ६५३ जनाले आवेदन दिएका थिए। सोही आधारमा आवश्यक सङ्ख्या पूरा भएपछि अन्य जिल्लामा समेत सहयोग गर्न सकिएको प्रहरीले जनाएको छ।
यसैबीच, तनहुँका ३०९ मतदान केन्द्रमध्ये आठवटा मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखिएको छ। ती केन्द्रहरूमा विशेष सुरक्षा व्यवस्था लागू गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
जिल्ला सुरक्षा समितिले निर्माण गरेको निर्वाचन केन्द्रित एकीकृत सुरक्षा योजनाका आधारमा अति संवेदनशील मतदान केन्द्र निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिए।
उनले भने, “निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउनु प्रहरी प्रशासनको मुख्य दायित्व हो।”
तनहुँमा १० स्थानीय तह रहेका छन् भने जिल्लामा दुई लाख ५४ हजार ३९७ मतदाता कायम रहेका छन्।