
एजेन्सी– संयुक्त राज्य अमेरिकाले इजरायल र साउदी अरबलाई ठूलो परिमाणमा हतियार बिक्री गर्ने निर्णय स्वीकृत गरेको छ। ट्रम्प प्रशासनले इजरायलका लागि ६ अर्ब ६७ करोड अमेरिकी डलर र साउदी अरबका लागि ९ अर्ब अमेरिकी डलर बराबरको हतियार सम्झौता अनुमोदन गरेको हो।

सम्झौताअनुसार अमेरिकाले साउदी अरबलाई ७३० थान पैट्रियट मिसाइल तथा सम्बन्धित उपकरण उपलब्ध गराउनेछ, जसले क्षेत्रीय हवाई तथा मिसाइल प्रतिरक्षा क्षमता थप सुदृढ बनाउने बताइएको छ। यस्तै, इजरायलले ३० वटा ‘एपाच’ हेलिकप्टर र ३ हजार २५० थान हल्का ट्याक्टिकल सवारीसाधन खरिद गर्नेछ। एपाच हेलिकप्टर तथा उपकरणको लागत ३ अर्ब ८० करोड अमेरिकी डलर र हल्का ट्याक्टिकल सवारीसाधनको लागत १ अर्ब ९८ करोड अमेरिकी डलर रहेको छ।
अमेरिकी प्रशासनले उक्त हतियार बिक्रीले क्षेत्रीय सैन्य सन्तुलनमा नकारात्मक असर नपर्ने दाबी गर्दै दुबै देशलाई आफ्ना सीमा तथा जनसङ्ख्या केन्द्रको सुरक्षा सुनिश्चित गर्न सहयोग पुग्ने जनाएको छ। यद्यपि, केही अमेरिकी नेताहरूले भने सम्झौता हतारमा अघि बढाइएको आरोप लगाएका छन्।
यो निर्णय मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव र सम्भावित सैन्य गतिविधिको पृष्ठभूमिमा आएको बताइएको छ।